वैदेशिक रोजगारीमा जानुपूर्व स्वघोषणा पत्र अनिवार्य  फोटो : वैदेशिक रोजगार विभाग

जीविको २०७८ चैत २७ गते १५:४९

सरकारले  वैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य रुपमा स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था लागू गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो।  

तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रूपमा भर्नुपर्ने विभागमा महानिर्देशक शेषनारायण पौडेलले बताए ।

 वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै  स्वघोषणा पत्र भर्नुपर्ने छ। उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ। विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका-२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो। व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ।

 रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचय पत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्‍त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारदाता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृति पत्र पेस गर्नुपर्ने विभागले जनाएको छ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *