नेपाल प्रहरीमा ३३४ जनाका लागि नयाँ भर्ना खुला, सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्म आवेदन दिन सकिने

जीविको २०८३ असोज १५ गते १३:४९

काठमाडौं। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगी गरी कुल ३३४ पदमा नयाँ भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गतको भर्ना छनौट शाखाले २०८३ असोज २ गते सार्वजनिक गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरिएको हो।

कुन पदमा कति माग?

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (जनपद) मा २११ जना माग गरेको छ। त्यस्तै प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेमा ८३ जना, हजाममा १५ जना र कुचीकारमा २५ जना माग गरिएको छ। यी सबै गरी कुल ३३४ पदमा भर्ना खुलाइएको हो।

यी पदहरूमा खुलासँगै अमर/अशक्त प्रहरी परिवार तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रलगायत समावेशी समूहका लागि पनि पद छुट्याइएको छ।

आवेदन कहिलेदेखि कहिलेसम्म?

दुवै प्रकारका पदमा २०८३ असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ।

प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दिनुपर्नेछ। प्रहरी कार्यालय सहयोगी पदका उम्मेदवारले भने तोकिएको प्रहरी कार्यालयमा स्वयं उपस्थित भएर आवेदन बुझाउनुपर्नेछ।

असईमा आवेदन दिन के योग्यता चाहिन्छ?

प्रहरी सहायक निरीक्षक पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रमाणपत्र तह (+२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

साधारण उम्मेदवारको हकमा आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट २ इन्च र तौल ५० केजी तथा महिला उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्नेछ। आँखाको दृष्टि माइनस २ वा प्लस २ भन्दा बढी कमजोर हुनु नहुनेलगायत अन्य स्वास्थ्य तथा कानुनी योग्यता पनि तोकिएका छन्।

कार्यालय सहयोगीका लागि साधारण लेखपढ भए पुग्ने

प्रहरी कार्यालय सहयोगी पदका लागि साधारण लेखपढ गर्न जान्ने न्यूनतम शैक्षिक योग्यता तोकिएको छ।

यस पदमा आवेदन दिने उम्मेदवार आवेदनको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। पुरुषको न्यूनतम उचाइ ५ फिट र तौल ५० केजी तथा महिलाको न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्ने व्यवस्था छ।

कार्यालय सहयोगीअन्तर्गत भान्छेले प्रहरी मेसमा खाना पकाउने तथा भान्सा सरसफाइ गर्ने, हजामले प्रहरी कर्मचारीको कपाल काट्ने र कुचीकारले कार्यालय, शौचालय, स्नानगृहलगायत परिसर सरसफाइ गर्ने काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदन शुल्क कति?

प्रहरी सहायक निरीक्षकका लागि आवेदन शुल्क ५०० रुपैयाँ तोकिएको छ। एकभन्दा बढी समावेशी समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूहका लागि १०० रुपैयाँ अतिरिक्त तिर्नुपर्नेछ।

प्रहरी कार्यालय सहयोगीका लागि आवेदन शुल्क २०० रुपैयाँ रहेको छ भने थप प्रत्येक समावेशी समूहका लागि ४० रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ।

असईको आवेदन कसरी दिने?

असई पदमा आवेदन दिन नेपाल प्रहरीको अनलाइन करियर पोर्टलमा दर्ता गरी Username र Password बनाएर आवश्यक व्यक्तिगत तथा शैक्षिक विवरण भर्नुपर्नेछ। आवश्यक कागजात स्क्यान गरी अपलोड गरेर Profile शतप्रतिशत पूरा भएपछि आवेदन Submit गर्न सकिनेछ।

आवेदन शुल्क ConnectIPS, eSewa, Khalti वा IME Pay बाट अनलाइन तिर्न सकिने व्यवस्था गरिएको छ। बैंकबाट पनि तोकिएको प्रक्रियाअनुसार शुल्क बुझाउन सकिनेछ।

नेपाल प्रहरीको अनलाइन आवेदन पोर्टल:
https://careers.nepalpolice.gov.np

भर्नासम्बन्धी आधिकारिक सूचना तथा अन्य विवरण नेपाल प्रहरीको Career/Vacancy पृष्ठमा पनि हेर्न सकिन्छ:
https://www.nepalpolice.gov.np/career/vacancy/

आवश्यक कागजात

आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, शैक्षिक योग्यताका प्रमाणपत्र तथा समावेशी समूहमा आवेदन दिने भए सम्बन्धित समूह प्रमाणित गर्ने कागजात आवश्यक पर्नेछ।

अनलाइन आवेदन दिने उम्मेदवारले आवश्यक कागजातको सक्कल प्रति स्क्यान गरी PDF ढाँचामा तथा फोटो, हस्ताक्षर, औँठाछाप र नागरिकताको अगाडि–पछाडिको भाग JPG ढाँचामा अपलोड गर्नुपर्नेछ।

छनौट प्रक्रिया कस्तो हुन्छ?

उम्मेदवारको छनौट प्रक्रियामा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, विशेष स्वास्थ्य परीक्षण, सक्षमता परीक्षण र अन्तर्वार्तालगायत चरण रहनेछन्।

लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने र बहुविकल्पीय प्रश्नमा गलत उत्तर दिएमा २० प्रतिशत अंक कट्टा हुने सूचनामा उल्लेख छ।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको तालिकासम्बन्धी सूचना २०८३ कात्तिक २० गते सम्बन्धित प्रहरी कार्यालय तथा नेपाल प्रहरीको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

दरखास्तसम्बन्धी समस्या वा थप जानकारीका लागि नेपाल प्रहरीको भर्ना छनौट शाखाको ०१–५७१९९२७ नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित