वैदेशिक रोजगार बोर्डमा १० स्वयंसेवक कर्मचारी माग, मासिक २५ हजार रुपैयाँ
काठमाडौं। वैदेशिक रोजगार बोर्डको सचिवालयले १० जना स्वयंसेवक कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ। सचिवालयले २०८३ भदौ ३ गते प्रकाशित गरेको सूचनाअनुसार वैदेशिक रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यले यी पदमा आवेदन दिन सक्नेछन्।
बोर्डको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार कार्यालय सञ्चालनमा सहयोग पुर्याउन स्वयंसेवक कर्मचारी परिचालन गर्न लागिएको हो। छनोट हुने कर्मचारीलाई २०८४ असार मसान्तसम्म परिचालन गरिने सूचनामा उल्लेख छ।
छनोट भएका स्वयंसेवक कर्मचारीले मासिक २५ हजार रुपैयाँ सेवा/सुविधा पाउनेछन्।
कसले आवेदन दिन सक्छ?
सूचनाअनुसार आवेदन दिन इच्छुक व्यक्तिले निम्न न्यूनतम योग्यता पूरा गरेको हुनुपर्नेछः
- वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग भएका, रोजगारीमा रहेका वा वैदेशिक रोजगारबाट फर्किएका श्रमिक तथा उनीहरूका परिवारका सदस्य हुनुपर्ने।
- श्रमिकको परिवारका सदस्यको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने।
- महिला आवेदकको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने।
- वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको हकमा ४५ वर्ष नकटेको हुनुपर्ने।
- कम्तीमा माध्यमिक तह अर्थात् कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने।
आवेदनसँग के–के कागजात बुझाउनुपर्छ?
आवेदकले आफ्नो अवस्थाअनुसार आवश्यक प्रमाणसहित आवेदन दिनुपर्नेछ। बोर्डले मागेका मुख्य कागजात यस्ता छन्:
- आवेदकले हस्ताक्षर गरेको आवेदन।
- नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानीको प्रतिलिपि।
- न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।
- वैदेशिक रोजगारीका क्रममा अंगभंग वा बिरामी भएका श्रमिक तथा परिवारका सदस्यको हकमा त्यसबापत वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति प्रदान गरिएको कागजात।
- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको परिवारका सदस्यले मृत्यु पुष्टि गर्ने कागजात पेश गर्नुपर्नेछ। उदाहरणका लागि विदेशस्थित अस्पतालको मृत्यु प्रमाणपत्र, वैदेशिक रोजगार बोर्डबाट मृत्युबापत क्षतिपूर्ति प्राप्त गरेको अभिलेख वा नेपालमा जारी भएको मृत्युदर्ता प्रमाणपत्र।
- परिवारको सदस्य वा सम्बन्धित श्रमिक वैदेशिक रोजगारीमा रहेको वा फर्किएको पुष्टि हुने कागजात। उदाहरणका लागि अध्यागमनको छाप भएको राहदानीको प्रतिलिपि, श्रम स्वीकृति लगायतका प्रमाण।
- श्रमिकसँगको नाता खुल्ने सरकारी कागजात। उदाहरणका लागि विवाह दर्ता, जन्मदर्ता, नागरिकता, नाता प्रमाणित वा अन्य सरकारी प्रमाणपत्र।
आवेदनसँग पेश गरिएका कागजातका प्रतिलिपिमा आवेदक आफैँले ‘सक्कल बमोजिम नक्कल ठीक छ’ भनी प्रमाणित गर्नुपर्नेछ।
छनोट कसरी हुन्छ?
स्वयंसेवक कर्मचारी छनोटका लागि बोर्डले तीन चरणको प्रक्रिया तोकेको छ:
Shortlist, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता।
विस्तृत छनोट प्रक्रिया, मापदण्ड तथा कार्यविवरण (TOR) वैदेशिक रोजगार बोर्डको वेबसाइटमा उपलब्ध गराइने सूचनामा उल्लेख छ।
कति तलब/सुविधा पाइन्छ?
छनोट भएका स्वयंसेवक कर्मचारीलाई मासिक २५ हजार रुपैयाँ सेवा/सुविधा प्रदान गरिनेछ।
स्वयंसेवकलाई बोर्डको आवश्यकताअनुसार काममा परिचालन गरिनेछ र हालको सूचनाअनुसार सेवा अवधि २०८४ असार मसान्तसम्म रहनेछ।
आवेदन शुल्क कति लाग्छ?
यो पदका लागि आवेदन दस्तुर निःशुल्क रहेको छ।
आवेदन फाराम कहाँ पाइन्छ?
आवेदनको ढाँचा र कार्यविवरण (TOR) वैदेशिक रोजगार बोर्डको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।
वेबसाइट: www.feb.gov.np
कसरी आवेदन दिने?
आवेदकले दुई तरिकाबाट आवेदन पेश गर्न सक्छन्।
१. कार्यालयमै पुगेर
आवेदन तथा आवश्यक कागजात वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यालय, बबरमहल, काठमाडौंमा बुझाउन सकिन्छ।
थप जानकारीका लागि:
वैदेशिक रोजगार बोर्डको सचिवालय
प्रशासन, योजना तथा अनुगमन शाखा
कोठा नं. १५
बबरमहल, काठमाडौं
२. इमेलमार्फत
इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आवेदन [email protected] मा इमेल गर्न सक्छन्।
इमेलबाट आवेदन पठाउँदा Subject मा “Volunteer Staff” उल्लेख गर्न बोर्डले अनुरोध गरेको छ।
थप जानकारी कहाँबाट लिने?
थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा सम्पर्क गर्न सकिन्छ।
फोन: ०१–५३२०३११
श्रमाधान कल सेन्टर: ११४१
वेबसाइट: www.feb.gov.np
सूचना इमेल: [email protected]
आवेदन पठाउने इमेल: [email protected]

