१ हजार नेपालीलाई एआई र डेटा साइन्सको निःशुल्क फेलोशिपमा आवेदन खुला

जीविको २०८३ साउन ६ गते ८:४८

काठमाडौं। डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको क्षेत्रमा सीप विकास गर्न चाहने नेपालीका लागि ‘डेटा फेलोशिप २०२६’ को आवेदन खुला भएको छ।

कोड फर नेपालले सञ्चालन गर्ने यस कार्यक्रममार्फत कम्तीमा एक हजार नेपालीलाई डेटा साइन्स, डेटा एनालिटिक्स, प्रोग्रामिङ र एआईसँग सम्बन्धित सीप सिकाउने लक्ष्य राखिएको छ। फेलोशिपको आधिकारिक वेबसाइटमा भने सीट संख्या सीमित रहेको उल्लेख छ।

फेलोशिपमा छनोट हुने आवेदकले अनलाइन लर्निङ प्लेटफर्म DataCamp को प्रिमियम सदस्यता निःशुल्क प्राप्त गर्नेछन्। यसको सामान्य शुल्क वार्षिक ३३० अमेरिकी डलर अर्थात् विनिमय दरअनुसार करिब ४४ हजार रुपैयाँ वा सोभन्दा बढी पर्न सक्छ।

यो नियमित कक्षाकोठामा सञ्चालन हुने तालिम मात्र नभई अनलाइन माध्यमबाट आफ्नै समयअनुसार अध्ययन गर्न सकिने सीप विकास कार्यक्रम हो। आवेदन फारामअनुसार छनोट भएका सहभागीले ८ सयभन्दा बढी अनलाइन कोर्स, अभ्यास सामग्री, वास्तविक समस्यामा आधारित सिकाइ, Workspace, प्रमाणीकरण र रोजगारीसम्बन्धी सुविधामा पहुँच पाउन सक्छन्।

फेलोशिपमा के–के सुविधा पाइन्छ?

फेलोशिपमा छनोट भएका सहभागीले DataCamp का डेटा साइन्स, डेटा एनालिटिक्स, पाइथन, एसक्यूएल, डेटा इन्जिनियरिङ, मेसिन लर्निङ र एआईलगायत विषयका प्रिमियम कोर्स अध्ययन गर्न पाउनेछन्।

कार्यक्रममा निम्न अवसर समावेश छन्:

  • DataCamp का प्रिमियम कोर्स अध्ययन गर्ने र प्रमाणपत्र प्राप्त गर्ने
  • उद्योग तथा शैक्षिक क्षेत्रका विज्ञबाट अनलाइन तथा प्रत्यक्ष सिकाइ सहयोग प्राप्त गर्ने
  • Slack मार्फत अनलाइन मेन्टरसिप र सामुदायिक सिकाइमा सहभागी हुने
  • खुला स्रोत अर्थात् ‘ओपन सोर्स’ परियोजनामा संलग्न हुने
  • डेटा विश्लेषण, ब्लग वा डेटा भिजुअलाइजेसन तयार गर्ने
  • कार्यक्रम पूरा गरेपछि कोड फर नेपालबाट डिजिटल प्रमाणपत्र प्राप्त गर्ने
  • भविष्यमा डेटा परियोजना, इन्टर्नसिप र रोजगारीका अवसरसँग जोडिने
  • कोड फर नेपालको डेटा तथा प्रविधि समुदायमा सहभागी हुने अवसर प्राप्त गर्ने।

DataCamp को प्रमाणपत्र प्राप्त गरेपछि सहभागीले तयार गरेको डेटा भिजुअलाइजेसन वा ब्लग कोड फर नेपालको वेबसाइटमा प्रकाशनका लागि छनोट भएमा प्रत्येक सामग्रीबापत पाँच हजार रुपैयाँ प्रोत्साहन रकम पाउन सक्ने व्यवस्था पनि छ।

कार्यक्रम कसरी सञ्चालन हुन्छ?

फेलोशिपलाई मुख्यतः चार चरणमा विभाजन गरिएको छ।

पहिलो चरण: DataCamp कोर्स

छनोट भएका फेलोले DataCamp मा पहुँच प्राप्त गरेको मितिदेखि तोकिएको कोर्स पूरा गर्नुपर्नेछ। आधिकारिक विवरणअनुसार प्रत्येक सहभागीले आफूलाई दिइएको कोर्स तीन महिनाभित्र पूरा गर्नुपर्ने हुन्छ।

आवेदन फाराममा DataCamp छात्रवृत्तिको पहुँच ६ देखि १२ महिनासम्म रहन सक्ने उल्लेख गरिएको छ। तर दुई महिना वा सोभन्दा लामो समयसम्म खाता प्रयोग नगरेमा छात्रवृत्ति रद्द गर्न सकिने जानकारी पनि दिइएको छ।

दोस्रो चरण: व्यावहारिक काम

सहभागीले आफूले सिकेको सीप प्रयोग गरेर ब्लग, डेटा भिजुअलाइजेसन वा प्रकाशन गर्न मिल्ने अन्य सामग्री तयार गरी बुझाउनुपर्नेछ।

तेस्रो चरण: सफ्ट स्किल तालिम

फेलोहरूलाई सञ्चार, प्रस्तुतीकरण, सहकार्य, व्यावसायिक तयारीलगायत सफ्ट स्किलसम्बन्धी तालिम प्रदान गरिनेछ।

चौथो चरण: थप सहयोग

कार्यक्रम पूरा गरेका सहभागीले संस्थाका परियोजनामा संलग्न हुने, इन्टर्नसिप तथा रोजगारीका अवसरबारे जानकारी पाउने र आवश्यकताअनुसार सिफारिस तथा अन्य सहयोग प्राप्त गर्ने अवसर पाउन सक्छन्।

कार्यक्रमले सहभागीलाई Data Analyst Associate, Data Engineer Associate र Data Scientist Associate जस्ता व्यावसायिक प्रमाणीकरणको तयारी गर्न पनि सहयोग गर्ने जनाएको छ।

कसले आवेदन दिन सक्छ?

फेलोशिपका लागि नेपालभित्र वा विदेशमा रहेका नेपालीले आवेदन दिन सक्छन्।

आवेदकले निम्न न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्छ:

  • नेपाली नागरिक वा नेपाली समुदायसँग सम्बन्धित व्यक्ति हुनुपर्ने
  • कम्तीमा माध्यमिक तह अर्थात् हाईस्कुल वा सोभन्दा माथिको शिक्षा पूरा गरेको हुनुपर्ने
  • डेटा, प्रविधि वा एआई सिक्न गम्भीर रुचि भएको हुनुपर्ने
  • तोकिएको समयभित्र कोर्स र कार्यक्रमका सबै चरण पूरा गर्न प्रतिबद्ध हुनुपर्ने।

नेपाली महिला, युवा तथा विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीलाई आवेदन दिन विशेष प्रोत्साहन गरिएको छ। विशेषगरी मधेश र कर्णाली प्रदेशका आवेदकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

सूचना प्रविधि वा कम्प्युटर विषय अध्ययन गरेको व्यक्ति मात्र हुनुपर्ने अनिवार्य व्यवस्था छैन। डेटा र डिजिटल सीप सिक्न इच्छुक अन्य शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिका नेपालीले पनि आवेदन दिन सक्छन्।

आवेदन कहिलेसम्म दिन सकिन्छ?

फेलोशिपका लागि आवेदन सन् २०२६ जुलाई ५ देखि खुला भएको हो। आवेदन दिने अन्तिम मिति सन् २०२६ अगस्ट ३० तोकिएको छ।

आवेदन ‘रोलिङ’ आधारमा लिइने र सीट सीमित रहेकाले इच्छुक व्यक्तिले अन्तिम मिति नकुरी सकेसम्म छिटो आवेदन दिनु उपयुक्त हुन्छ।

कसरी दिने आवेदन?

आवेदन दिन इच्छुक व्यक्तिले कोड फर नेपालको आधिकारिक फेलोशिप वेबसाइटमा प्रवेश गर्नुपर्छ।

आधिकारिक विवरण तथा आवेदन पृष्ठ:
https://codefornepal.org/fellowship2026/

वेबसाइटमा रहेको ‘Apply Now’ बटनमा क्लिक गरेपछि अनलाइन आवेदन फाराम खुल्नेछ। एउटा आवेदकले एउटा मात्र आवेदन फाराम भर्नुपर्नेछ।

फाराममा मुख्य रूपमा निम्न विवरण मागिएको छ:

  • इमेल ठेगाना
  • पूरा नाम र मोबाइल नम्बर
  • हाल बसोबास गर्ने सहर र देश
  • राष्ट्रिय परिचयपत्रअनुसारको प्रदेश
  • शैक्षिक संस्था र अध्ययनको अवस्था
  • हालको रोजगारी वा व्यावसायिक अवस्था
  • LinkedIn प्रोफाइलको लिंक
  • LinkedIn नभए Google Drive मा राखिएको बायोडाटा वा रिजुमेको लिंक
  • फेलोशिपका लागि आफू किन उपयुक्त रहेको भन्ने बढीमा २५० शब्दको उत्तर
  • व्यक्तिगत तथा व्यावसायिक लक्ष्य
  • नियमित अध्ययनका लागि दिन सकिने साप्ताहिक समय
  • आवश्यक परे ब्लग वा डेटा भिजुअलाइजेसन प्रकाशन गर्ने प्रतिबद्धता।

आवेदन फाराममा व्यक्तिगत विवरण र प्रश्नहरूको उत्तर इमानदार रूपमा दिन आग्रह गरिएको छ। विशेषगरी प्रेरणा, लक्ष्य र व्यक्तिगत अनुभवसम्बन्धी उत्तर लेख्दा एआई उपकरण प्रयोग नगर्न आवेदन फाराममै स्पष्ट निर्देशन दिइएको छ।

छनोट प्रक्रिया कस्तो हुन्छ?

प्राप्त आवेदनको समीक्षा गरेपछि प्रारम्भिक सूचीमा परेका आवेदकलाई छोटो अभिमुखीकरण कार्यक्रममा बोलाइनेछ। अभिमुखीकरणपछि छनोट भएका फेलोले प्रमाणपत्र प्राप्त गर्न कोर्स, व्यावहारिक काम, सफ्ट स्किल तालिम र कार्यक्रमका अन्य सबै चरण पूरा गर्नुपर्नेछ।

यसअघि सञ्चालन भएका डेटा फेलोशिपका सहभागीहरूले पाइथन, एसक्यूएल, डेटा विश्लेषण, डेटा इन्जिनियरिङ तथा एआई र मेसिन लर्निङसम्बन्धी सीप विकास गर्नुका साथै विभिन्न कम्पनीमा रोजगारी र इन्टर्नसिप प्राप्त गरेको कोड फर नेपालका पुराना कार्यक्रम विवरणमा उल्लेख छ।

प्रतिक्रिया

2 thoughts on “१ हजार नेपालीलाई एआई र डेटा साइन्सको निःशुल्क फेलोशिपमा आवेदन खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *