‘प्रोजेक्ट अवसर’ मार्फत ६० भन्दा बढी विद्यार्थीले निःशुल्क व्याचलर पढ्न पाउने, आवेदन ३२ असारसम्म

जीविको २०८३ असार २५ गते १७:१७

६० भन्दा बढी विद्यार्थीका लागि ‘प्रोजेक्ट अवसर’  छात्रवृत्ति खुल्यो, ३२ असारसम्म आवेदन दिन पाइने

काठमाडौं । स्नातक तह अध्ययन गर्न चाहने तर आर्थिक अभावका कारण उच्च शिक्षा अघि बढाउन कठिनाइ भोगिरहेका विद्यार्थीका लागि “Project Awasar” छात्रवृत्ति तथा फेलोसिप कार्यक्रम खुलेको छ।

Creating Opportunities र Vatsalya Sadan को संयुक्त पहलमा सञ्चालन हुन लागेको यो कार्यक्रममार्फत ६० भन्दा बढी योग्य विद्यार्थीलाई छात्रवृत्ति अवसर प्रदान गरिने जनाइएको छ। आयोजकका अनुसार यो नेपालकै पहिलो आवश्यकता र कार्यसम्पादनमा आधारित स्नातक तह छात्रवृत्ति तथा फेलोसिप कार्यक्रम हो।

‘प्रोजेक्ट अवसर’ ले पढाइमा राम्रो सम्भावना भएका, मेहनती र प्रतिभाशाली तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने उद्देश्य राखेको छ। छात्रवृत्ति विद्यार्थीको पारिवारिक आम्दानी मात्र नभई शैक्षिक क्षमता, नेतृत्व सम्भावना, सामाजिक संलग्नता र वास्तविक आर्थिक आवश्यकताका आधारमा प्रदान गरिनेछ।

छनोट भएका विद्यार्थी “Awasar Fellows” का रूपमा कार्यक्रममा सहभागी हुनेछन्। उनीहरूले स्नातक तह अध्ययनका लागि छात्रवृत्ति सहयोगसँगै पेशागत व्यक्तिहरूबाट मार्गदर्शन, नेतृत्व तथा सीप विकास, इन्टर्नसिप र रोजगारीसम्बन्धी अवसर, युवा नेतृत्वकर्तासँग सम्पर्क विस्तार, सामुदायिक संलग्नता कार्यक्रम र आजीवन पूर्वविद्यार्थी सञ्जालमा जोडिने अवसर पाउनेछन्।

छनोट कसरी हुन्छ ?

‘प्रोजेक्ट अवसर’ ” ले विद्यार्थी छनोटका लागि “PIN Selection Framework” प्रयोग गर्नेछ। यसमा तीन मुख्य आधार समावेश छन्।

पहिलो आधार हो—“Performance” अर्थात् विद्यार्थीको शैक्षिक तयारी र क्षमता। यसको मूल्याङ्कन “Project Awasar Entrance Examination” मार्फत गरिनेछ।

दोस्रो आधार हो—“Impact” अर्थात् विद्यार्थीको नेतृत्व क्षमता, समुदायमा संलग्नता, अतिरिक्त क्रियाकलाप, उपलब्धि र भविष्यमा समाजमा सकारात्मक योगदान गर्न सक्ने सम्भावना।

तेस्रो आधार हो—“Need” अर्थात् विद्यार्थीको आर्थिक आवश्यकता। यसका लागि वडा वा स्थानीय तहबाट जारी कागजात, परिवारको आय र पेशासम्बन्धी विवरण तथा अन्तर्वार्तामार्फत विद्यार्थीको आर्थिक अवस्था प्रमाणित गरिनेछ।

महिला र सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहन गरिएको छ।

आवेदन र छनोट तालिका

‘प्रोजेक्ट अवसर’  का लागि आवेदन १८ असार २०८३ देखि खुलेको छ। आवेदन दिने अन्तिम मिति ३२ असार २०८३ तोकिएको छ।

प्रवेश परीक्षा ३ साउन २०८३ मा हुनेछ। प्रवेश परीक्षाको नतिजा ५ साउन २०८३ मा प्रकाशित हुनेछ। प्रवेश परीक्षामा सफल भएका विद्यार्थीलाई ७ देखि ९ साउन २०८३ सम्म प्यानल अन्तर्वार्ताका लागि बोलाइनेछ। अन्तिम छात्रवृत्ति नतिजा १४ साउन २०८३ मा प्रकाशित गरिनेछ।

प्रवेश परीक्षा बिहान ९ बजेदेखि ११ बजेसम्म हुनेछ। प्यानल अन्तर्वार्ता बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तालिका छ।

आवेदनका लागि आवश्यक कागजात

आवेदन दिन चाहने विद्यार्थीले SEE को ग्रेडसिट र प्रमाणपत्र, कक्षा १२ वा सो सरहको ट्रान्सक्रिप्ट र प्रमाणपत्र तयार राख्नुपर्नेछ।

त्यस्तै नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, अद्यावधिक CV वा बायोडाटा, व्यक्तिगत परिचय विवरण र एक पृष्ठको प्रेरणा पत्र आवश्यक पर्नेछ।

आर्थिक अवस्था प्रमाणित गर्न वडा वा नगरपालिकाको सिफारिस पत्र, आर्थिक आवश्यकता प्रमाणित गर्ने कागजात, परिवारको आम्दानी र पेशासम्बन्धी विवरण तथा आवश्यक भए कठिनाइ विवरण पनि पेश गर्नुपर्नेछ।

विद्यार्थीसँग उपलब्ध भए प्रमाणपत्र, पुरस्कार, परियोजना, सामुदायिक सेवा, अतिरिक्त क्रियाकलाप, नेतृत्व अनुभव, सञ्चारमाध्यममा प्रकाशित काम वा सामाजिक प्रभावसम्बन्धी अभिलेख पनि पोर्टफोलियोका रूपमा समावेश गर्न सकिनेछ।

यसैगरी विद्यालय वा कलेजका शिक्षक, प्रधानाध्यापक, प्रिन्सिपल, मेन्टर, समुदायका अगुवा वा प्रतिष्ठित संस्थामध्ये कुनै एकबाट सिफारिस पत्र आवश्यक पर्नेछ।

प्रेरणा पत्रमा विद्यार्थीले “Project Awasar” मा किन आवेदन दिएको, आफ्नो शैक्षिक र पेशागत लक्ष्य के हो, आर्थिक सहयोग किन आवश्यक छ र भविष्यमा आफ्नो समुदाय तथा नेपालका लागि कसरी योगदान गर्ने भन्ने कुरा स्पष्ट रूपमा लेख्नुपर्नेछ।

यदि विद्यार्थीले यसअघि कुनै छात्रवृत्ति, अनुदान वा आर्थिक सहयोग पाएको छ भने त्यसको विवरण पनि उपलब्ध गराउनुपर्नेछ।

कसरी आवेदन दिने ?

इच्छुक विद्यार्थीले “Project Awasar” को आधिकारिक आवेदन प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन सुरु गर्न “Apply Now” वा “Start Your Application” मा गएर फारम भर्नुपर्नेछ।

आवेदन दिनुअघि सबै आवश्यक शैक्षिक, व्यक्तिगत, आर्थिक र सिफारिससम्बन्धी कागजात तयार राख्न आयोजकले आग्रह गरेको छ। आवेदन निःशुल्क रहेको आयोजकको सूचनामा उल्लेख छ।

आवेदन दिने अन्तिम मिति ३२ असार २०८३ हो। छात्रवृत्ति, प्रवेश परीक्षा, अन्तर्वार्ता र अन्तिम नतिजासम्बन्धी थप जानकारी “Project Awasar” को वेबसाइट तथा आधिकारिक सूचनाबाट लिन सकिनेछ।

आयोजकका अनुसार आवेदनमा उपलब्ध गराइएका व्यक्तिगत विवरणहरू आवेदन प्रक्रिया र प्रमाणिकरणका लागि मात्र प्रयोग गरिनेछ। ती विवरणहरू सुरक्षित र गोप्य राखिने तथा कानुनले आवश्यक गरेको अवस्थामा बाहेक अन्य प्रयोजनका लागि प्रयोग वा सार्वजनिक नगरिने जनाइएको छ।

अन्तर्वार्तामा के–के लैजानुपर्छ ?

प्रवेश परीक्षा पास गरी अन्तर्वार्ताका लागि छनोट भएका विद्यार्थीले अन्तर्वार्तामा प्रवेश पत्र, वडा प्रमाणपत्र, सिफारिस पत्र, पोर्टफोलियो, CV, आर्थिक आवश्यकता प्रमाणित गर्ने कागजात र अतिरिक्त क्रियाकलापसम्बन्धी प्रमाणपत्र लैजानुपर्नेछ।

अन्तर्वार्तामा विद्यार्थीको आर्थिक आवश्यकता, नेतृत्व सम्भावना, समुदायमा संलग्नता, व्यक्तिगत लक्ष्य, अतिरिक्त गतिविधि र भविष्यमा सकारात्मक प्रभाव पार्न सक्ने क्षमताको मूल्याङ्कन गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित