स्टार्टअप उद्यम कर्जाका लागि ९६६ उद्यम छनोट, बैंकमा ३ दिनभित्र सम्पर्क गर्न आग्रह

जीविको २०८३ असार १७ गते १५:३३

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ९६६ उद्यम/परियोजना प्रस्तावकलाई कर्जाका लागि सिफारिस गरेको छ ।

प्रतिष्ठानका अनुसार प्रारम्भिक सूचीमा परेका प्रस्तावकहरूको प्रस्तुतीकरण, मूल्यांकन समितिको औसत अंक र राष्ट्रिय वाणिज्य बैंकबाट भएको क्रेडिट अप्राइजलका आधारमा कर्जाका लागि अन्तिम छनोट गरिएको हो । कर्जा प्राप्तिका लागि सिफारिस भएका प्रस्तावकहरूको विवरण राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पठाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार योग्य प्रस्तावकको सूचीमा परेका १ हजार २८६ परियोजना प्रस्तावकलाई प्रस्तुतीकरणका लागि बोलाइएको थियो । तोकिएको मिति २०८३ जेठ ३१ देखि असार ५ गतेसम्म विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रस्तुतीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । तीमध्ये १ हजार १४६ प्रस्तावकले प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा सहभागी प्रस्तावकहरूको परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण, प्रश्नोत्तरलगायत विवरणलाई आधार मानेर मूल्यांकन समितिले मूल्यांकन गरेको प्रतिष्ठानले जनाएको छ । त्यसपछि बैंकको क्रेडिट अप्राइजलसमेत जोडेर कुल अंक निकालिएको र कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको सूचनामा उल्लेख छ ।

बैंक शाखामा कहिलेसम्म सम्पर्क गर्ने ?

प्रतिष्ठानका अनुसार कर्जाका लागि सिफारिस गरिएका परियोजनाहरूको विवरण राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ । सम्बन्धित प्रस्तावकलाई पायक पर्ने बैंक शाखा कार्यालय तोकी मिति २०८३ असार १७ गतेभित्र प्रतिष्ठानको वेबसाइटमार्फत सूचना प्रकाशित गरिनेछ ।

सूचना प्रकाशित भएपछि प्रस्तावकले तोकिएको बैंक शाखा कार्यालयमा ३ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ ।

आवश्यक कागजात के–के चाहिन्छ ?

छनोट भएका प्रस्तावकले बैंकमा सम्पर्क गर्दा निम्न कागजात लैजानुपर्नेछः

  • व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र
  • PAN/VAT दर्ताको सक्कल प्रमाणपत्र
  • उद्यमीको नागरिकताको सक्कल प्रमाणपत्र
  • आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाणपत्र
  • आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति
  • व्यवसायको छाप
  • परियोजना लिज वा भाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि
  • व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र, भएमा सोसमेत

असारपछि सिफारिस रकम निष्क्रिय हुने

प्रतिष्ठानले यो कार्यक्रम वार्षिक सालबसाली कार्यक्रम भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः निष्क्रिय हुने जनाएको छ । त्यसैले छनोट भएका प्रस्तावकले तोकिएको समयभित्र बैंक शाखामा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

अन्य सहुलियत कर्जा लिएको भए के हुन्छ ?

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ अनुसार अन्य कुनै निकायबाट सहुलियतपूर्ण कर्जा लिएका प्रस्तावकलाई उक्त कर्जा चुक्ता नगरेसम्म यस कार्यविधिअन्तर्गतको कर्जा उपलब्ध नगराइने सूचनामा उल्लेख छ ।

साथै, बैंकले कार्यविधिअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र कर्जा प्रवाह गर्नेछ । कर्जा प्राप्त गरेपछि तोकिएको समयभित्र साँवा र ब्याज भुक्तानी नगरेमा कार्यविधिअनुसार कर्जा असुली प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ ।

छनोट भएका उद्यमीहरूको सूची हेर्नुहोस् – https://iedi.gov.np/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *