पोखरा विश्वविद्यालयमा स्नातक पढ्न १४ सय विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति
काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८३ का लागि स्नातक तहमा १ हजार ३८१ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने भएको छ। विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन र मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका विभिन्न स्नातक कार्यक्रमका लागि छात्रवृत्ति आवेदन खुला गरेको हो।
पोखरा विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनाअनुसार स्नातक तह छात्रवृत्ति कार्यक्रम २०८३ का लागि सूचना २०८३ जेठ २६ गते अर्थात् ९ जुन २०२६ मा प्रकाशित गरिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ असार १४ गते अर्थात् २८ जुन २०२६ सम्म रहेको छ।
विश्वविद्यालयले व्यवस्थापन संकायमा सबैभन्दा धेरै ७७७ छात्रवृत्ति कोटा छुट्याएको छ। यस्तै, विज्ञान तथा प्रविधि संकायअन्तर्गत कुल ५५८ कोटा र मानविकी तथा सामाजिक शास्त्र संकायमा ४६ कोटा निर्धारण गरिएको छ।
विज्ञान तथा प्रविधितर्फ इन्जिनियरिङ र आर्किटेक्चर समूहमा ४७४ कोटा छुट्याइएको छ। यसअन्तर्गत कम्प्युटर इन्जिनियरिङमा १०७, सिभिल इन्जिनियरिङमा १८३, आर्किटेक्चरमा ३९, सफ्टवेयर इन्जिनियरिङमा २९, बीई–आईटीमा ५३, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङमा २९, मेकानिकल इन्जिनियरिङमा ९ लगायतका कोटा छन्। विज्ञान तथा प्रविधिकै अर्को समूहमा बीसीएतर्फ ६५, बीएस्सी इन्भाइरोन्मेन्टल म्यानेजमेन्टतर्फ १० र ब्याचलर अफ आर्टिफिसियल इन्टेलिजेन्स एन्ड डेटा साइन्सतर्फ ९ कोटा छन्।
व्यवस्थापन संकायअन्तर्गत बीबीएमा ४१९, बीबीए फाइनान्समा १०४, बीसीएसआईटीमा ९४, बीएचसीएममा ४०, बीएचएममा ११५ र बीबीए ट्राभल एन्ड टुरिजममा ५ छात्रवृत्ति कोटा छुट्याइएको छ। मानविकी तथा सामाजिक शास्त्रतर्फ बीडेभएस, बीईडी, बीईसीएस र बीएएलएलबी कार्यक्रमका लागि छात्रवृत्ति कोटा तोकिएको छ।
छात्रवृत्ति कोटामध्ये स्थानीय छात्रवृत्ति तथा शिक्षक/कर्मचारीका सन्तानका लागि छुट्याइएका कोटा बाहेक ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत आरक्षित समूहबाट छनोट गरिनेछ। आरक्षित समूहमा अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, जनआन्दोलनका घाइते, जेन्जी आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्ति, दुर्गम क्षेत्र, दलित, आदिवासी जनजाति र मधेसी समुदायका उम्मेदवार समावेश हुनेछन्। खुला र आरक्षित दुवै कोटामा महिलाका लागि ५०/५० प्रतिशत अनुपात कायम गरिनेछ।
छात्रवृत्तिका लागि नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन पोखरा विश्वविद्यालयको छात्रवृत्ति पोर्टलमार्फत भर्नुपर्नेछ। आवेदन शुल्क संकायअनुसार फरक–फरक छ। व्यवस्थापन संकायका लागि १ हजार ६०० रुपैयाँ, विज्ञान तथा प्रविधि समूह ‘क’ का लागि १ हजार ८०० रुपैयाँ, विज्ञान तथा प्रविधि समूह ‘ख’ का लागि १ हजार ७०० रुपैयाँ र मानविकी तथा सामाजिक शास्त्र संकायका लागि १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ। आवेदन शुल्क भुक्तानी गर्दा पोर्टल वा सूचनामा उल्लेखित आधिकारिक माध्यम प्रयोग गर्नुपर्नेछ।
छात्रवृत्ति प्रवेश परीक्षा लिखित तथा वस्तुगत प्रणालीमा हुनेछ। परीक्षा अवधि ३ घण्टाको हुनेछ। विज्ञान तथा प्रविधि समूह ‘क’ को परीक्षा २०८३ असार २० गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ भने समूह ‘ख’ को परीक्षा सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ। व्यवस्थापन संकायको परीक्षा २०८३ असार २१ गते बिहान ८ बजेदेखि ११ बजेसम्म र मानविकी तथा सामाजिक शास्त्र संकायका समूहहरूको परीक्षा सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। परीक्षा केन्द्र पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन परिसर, कास्की तोकिएको छ।
छनोट प्रक्रिया पोखरा विश्वविद्यालय छात्रवृत्ति नियमावली, २०६५ अनुसार हुनेछ। नियमअनुसार कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका, योग्यताक्रम सूचीमा परेका र अनलाइन आवेदन पूरा गरेका विद्यार्थी विश्वविद्यालयको निःशुल्क छात्रवृत्ति कोटाका लागि योग्य मानिनेछन्। पहिलो सूचीबाट सिट रिक्त रहेमा दोस्रो सूची प्रकाशित गरिनेछ। दोस्रो सूचीपछि पनि सिट बाँकी रहेमा तोकिएको प्रक्रियाअनुसार तेस्रो सूचीमार्फत छात्रवृत्ति प्रदान गरिनेछ।
विद्यार्थीहरूले आवेदन दिनुअघि आफ्नो संकाय, विषय, न्यूनतम शैक्षिक योग्यता, आवश्यक कागजात र शुल्कबारे आधिकारिक सूचना ध्यानपूर्वक हेर्न विश्वविद्यालयले आग्रह गरेको छ। आवेदन स्वीकृत भएका विद्यार्थीहरूले प्रवेशपत्र अनलाइनबाट डाउनलोड गर्न सक्नेछन्, जसबारे थप सूचना विश्वविद्यालयले पछि प्रकाशित गर्नेछ।
हेर्नुहोस् सूचना
