गोकर्णेश्वर नगरपालिकाले खुलायो विभिन्न विधामा छात्रवृति

जीविको २०८३ जेठ २१ गते ९:३५

काठमाडौं, २३ जेठ । गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका रैथाने तथा स्थायी बसोबास भएका विद्यार्थीहरूलाई लक्षित गर्दै उच्च शिक्षाका लागि विभिन्न विधामा आकर्षक छात्रवृत्तिको घोषणा गरेको छ। नगर कार्यपालिकाको कार्यालय, जोरपाटीले सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ को एसईई (SEE) परीक्षा उत्तीर्ण विद्यार्थीहरूका लागि प्राविधिक, इन्जिनियरिङ र नर्सिङ विषयमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको हो।

नगर प्रमुख दीपक कुमार रिसालद्वारा स्वीकृत तथा प्रमाणित गरिएका तीन छुट्टाछुट्टै सूचनाहरू अनुसार नगरपालिकाले ‘जेन जी छात्रवृत्ति कार्यक्रम’ र ‘गोकर्णेश्वर नगर छोरी नर्सिङ कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरूलाई पठनपाठनको व्यवस्था मिलाएको छ।

१. इन्जिनियरिङतर्फ पूर्ण निःशुल्क छात्रवृत्ति (४ वटा विधा)

शंखरापुर बहुप्राविधिक शिक्षालय, साँखुसँगको सम्झौता बमोजिम गोकर्णेश्वर नगरपालिकाले जेन जी छात्रवृत्ति कार्यक्रम अन्तर्गत निम्न डिप्लोमा (Diploma) कोर्सहरूमा पूर्ण निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ। एसईईमा न्यूनतम १.६ जीपीए (GPA) ल्याएका विद्यार्थीहरूले यसमा आवेदन दिन सक्नेछन्।

  • डिप्लोमा इन सिभिल इन्जिनियरिङ: ३ वर्ष (स्वीकृत कोटा: ४८ जना)
  • डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ: ३ वर्ष (स्वीकृत कोटा: ४८ जना)
  • डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ: ३ वर्ष (स्वीकृत कोटा: ४८ जना)
  • डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ: ३ वर्ष (स्वीकृत कोटा: ४८ जना)

यसका लागि सूचना प्रकाशित भएको मिति (२०८३/०२/०८) ले १५ दिनभित्र अर्थात् २०८३ जेठ २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने म्याद तोकिएको छ।

२. स्वास्थ्य तथा चिकित्सा (Medical) तर्फ ५० प्रतिशत छात्रवृत्ति

नगरपालिकाले चिकित्सा र प्राविधिक स्वास्थ्य क्षेत्रमा रुचि भएका विद्यार्थीहरूका लागि ५०% छात्रवृत्ति उपलब्ध गराउने भएको छ। यस अन्तर्गत विद्यार्थीले निम्न विषयहरू अध्ययन गर्न पाउनेछन्: १. ल्याब टेक्निसियन (Lab Technician) २. हेल्थ असिस्टेन्ट (HA) ३. फिजियोथेरापी असिस्टेन्ट (Physiotherapy Assistant) ४. डेन्टल हाइजिनिस्ट (Dental Hygienist) ५. डिप्लोमा इन फार्मेसी (Pharmacy) ६. रेडियोग्राफर (Radiographer) ७. अप्थाल्मिक असिस्टेन्ट (Ophthalmic Assistant)

३. ‘नगर छोरी नर्सिङ कार्यक्रम’ अन्तर्गत शतप्रतिशत छात्रवृत्ति

महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा नगरको जनशक्ति बलियो बनाउने उद्देश्यका साथ नगरपालिकाले ‘गोकर्णेश्वर नगर छोरी नर्सिङ कार्यक्रम’ ल्याएको छ। यस अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने नगरबासीका छोरीहरूलाई PCL नर्सिङ विषय अध्ययनका लागि पूर्ण (१००%) छात्रवृत्ति प्रदान गरिने सूचनामा उल्लेख छ।

आवेदनका लागि आवश्यक कागजातहरू:

छात्रवृत्ति प्राप्त गर्न इच्छुक योग्य विद्यार्थीहरूले गोकर्णेश्वर नगरपालिकाको कार्यालयमा गई आवेदन पेश गर्नुपर्नेछ। आवेदनका साथमा देहायका कागजातहरू अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ:

  • गोकर्णेश्वर नगरपालिकाको स्थायी बसोबास खुल्ने कागजात (सिफारिस)।
  • अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • विद्यार्थीको जन्मदर्ता प्रमाणपत्रको  प्रतिलिपि।
  • शैक्षिक प्रमाणपत्र (एसईईको मार्कसिट/चारित्रिक प्रमाणपत्र) को  प्रतिलिपि।
  • अभिभावकको मतदाता परिचयपत्रको  प्रतिलिपि।
  • अध्ययन गर्ने/भर्ना भएको अध्ययन संस्थानको कागज (नर्सिङ र मेडिकल विधाका लागि)।

नगरपालिकाले आफ्ना नागरिकको समृद्ध र प्राविधिक शिक्षामा पहुँच पुर्‍याउन यो कदम चालेको र लक्षित विद्यार्थीहरूलाई समयमै आवेदन दिएर अवसरको लाभ लिन समेत अनुरोध गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *