ललितपुर महानगरद्वारा उद्यम विकास सम्बन्धी नि:शुल्क तालिमको आवेदन आह्वान
ललितपुर महानगरपालिकाले नगरबासीहरूलाई स्वरोजगार बनाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न विधामा उद्यम विकास तालिम सञ्चालन गर्ने भएको छ। महानगरको लघु, घरेलु तथा साना उद्योग शाखाले एक सूचना जारी गर्दै इच्छुक नगरबासीहरूबाट आवेदन माग गरेको हो।
महानगरपालिकाले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI), त्रिपुरेश्वरसँगको सहकार्यमा तीन प्रकारका विशेष तालिमहरू सञ्चालन गर्न लागेको हो।
सञ्चालन हुने तालिमहरू:
१. उद्यमशीलता विकास तालिम: ७ दिन (योग्यता: SLC वा सो सरह) २. उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम (TOT): १२ दिन (योग्यता: स्नातक उत्तीर्ण) ३. स्टार्टअप तालिम: १० दिन (योग्यता: +२ उत्तीर्ण)
प्रत्येक विधामा ४०–४० जना सहभागी छनोट गरिने महानगरले जनाएको छ।
आवेदन प्रक्रिया र समयसीमा:
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् २०८३ वैशाख १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन फारम सम्बन्धित वडा कार्यालयहरू, महानगरको उद्योग शाखा वा महानगरको आधिकारिक वेबसाइट lmc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
भौतिक रूपमा उपस्थित भई दरखास्त बुझाउन नसक्नेहरूका लागि आवश्यक कागजातहरू स्क्यान गरेर [email protected] मा इमेल गर्ने व्यवस्था समेत मिलाइएको छ।
आवश्यक कागजातहरू:
-
नागरिकताको फोटोकपी र २ प्रति पासपोर्ट साइज फोटो
-
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
-
ललितपुर महानगरपालिकाको स्थायी बसोबासको प्रमाण
-
वडा कार्यालयको सिफारिस पत्र
-
लिइसकेको कुनै व्यवसायिक सीप तालिम भए सोको प्रमाणपत्र
-
व्यवसाय गरिरहेको भए प्यान (PAN) वा दर्ता प्रमाणपत्र
सम्पर्क र छनोट:
दरखास्त बुझाएका उम्मेदवारहरूले २०८३ वैशाख १५ गते सम्पर्क गर्नुपर्नेछ। सोही दिन तालिम सञ्चालन हुने मिति र थप प्रक्रियाबारे जानकारी दिइनेछ। तालिम औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।
थप जानकारीका लागि महानगरका शाखा प्रमुख चन्द्रलाल डंगोल (९८४१-८६४१५०) वा सरिता अधिकारी (९८४१-९२४४५५) लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
