मास्टर्स पढ्दै, पानीपुरी बेच्दै

प्रतिक ढकाल २०८२ चैत ९ गते १६:२६

सहरको भिडभाडमा, जहाँ अधिकांश युवाहरूको सपना विदेशसँग जोडिएको हुन्छ, त्यहीँ ललितपुर एकान्तकुनाको एउटा पानीपुरी–चटपटेको पसलले फरक कथा सुनाइरहेको छ।

मास्टर्स अध्ययनरत दुई साथी, जसले सजिलै विदेश जाने बाटो रोज्न सक्थे, आज कलेज पढ्दै पानीपुरी र चटपटे बेचिरहेका छन्।

पुल्चोककी सब्रिना र सुजनको भेट ब्याचलर पढ्दै गर्दा कलेजमा भएको थियो। पढाइकै क्रममा उनीहरूलाई घर–परिवारबाट विदेश जाने सल्लाह पनि आयो। तर, आफ्नै परिवारसँगै बसेर नेपालमै सानो व्यवसाय सुरु गर्ने निधो उनीहरूले गरे। उनीहरूले आफ्नो व्यवसायको नाम राखेका छन्– “स्पाइसेस”

सब्रिना भन्छिन्, “मलाई विदेश जान मन थिएन, यहीँ केही गर्नु थियो। नेपालमा जागिर त्यति आकर्षक पनि लागेन, त्यसैले केही थालौँ भनेर पकेट मनी निकालेर व्यवसाय सुरु गर्यौँ।”

परम्परागत स्वादमा आधुनिकतामा बसेर खानेदेखि टेक–अवे र घरमै डेलिभरीसम्मको सुविधा दिँदै उनीहरूले पानीपुरी–चटपटेलाई केवल ‘सडक खाना’ मात्र होइन, एउटा व्यवस्थित व्यवसायका रूपमा उभ्याएका छन्। विशेषगरी समय नभएका तर स्वाद खोज्ने ग्राहकलाई लक्षित गर्दै सुरु गरिएको यो मोडल अहिले उनीहरूको पहिचान बनिसकेको छ।

सुरुका दिनमा ग्राहकले “मिठो छ” भनेपछि मात्र ढुक्क हुने उनीहरू, आज दैनिक चार सय प्लेटभन्दा बढी पानीपुरी–चटपटे बेचिरहेका छन्। सुजन भन्छन्, “व्यवसाय सुरुवात गर्दा जम्मा ५० हजार लगानी गर्यौँ, अहिले ७ जनालाई त रोजगारी नै दिएका छौँ।”

सुजन र सब्रिनालाई व्यवसाय सुरुवात गर्न सोचेजति सहज थिएन। हातमा डिग्रीको सर्टिफिकेट र मनमा भविष्यको चिन्ता बोकेर व्यवसाय थाल्दा धेरैका नजरमा उनीहरू “पढेलेखेर अल्मलिएका युवा” थिए। कतिले त “यत्रो पढेर पनि आखिर चटपटे नै बेच्ने?” भन्दै प्रश्न पनि गरे।तर, उनीहरूका लागि त्यो केवल चटपटेको पसल थिएन, त्यो त परम्परागत सोच र वैदेशिक रोजगारीको मोहमाथि एउटा मीठो विद्रोह थियो। उनीहरूले ग्ल्यामरको खोजीमा परदेशमा श्रम बेच्नुभन्दा आफ्नै पसिनामा स्वाद मिसाउनुलाई गौरवको विषय ठाने।

आज ‘स्पाइसेस’ एउटा सानो तिनो ब्रान्ड बनेको छ। सरसफाइमा विशेष ध्यान, प्याकेजिङमा आधुनिकता र स्वादमा मौलिकपन नै उनीहरूको सफलताको सूत्र बन्यो। बिहान कलेजमा किताबका पाना पल्टाउने यी हातहरू दिउँसो ग्राहकलाई आत्मीयताका साथ पानीपुरी पस्कँदै गरेको भेटिन्छन्। ५० हजारको सानो लगानीबाट सुरु भएको यो यात्राले आज ७ वटा परिवारको भान्सामा खुसी थपेको छ।

सब्रिनाका अनुसार, “काम सानो वा ठुलो हुँदैन, केवल हाम्रो हेर्ने दृष्टिकोण फरक हो।” अहिले उनीहरू आफ्नो व्यवसायलाई थप विस्तार गर्ने र अन्य युवाहरूलाई पनि उद्यमशीलतामा जोड्ने योजनामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *