अवसर: आईटी पढ्न ४९ जनालाई क्यानको छात्रवृत्ति, यस्तो छ आवेदन प्रकृया

जीविको २०८० भदौ १० गते १३:२४

कम्प्युटर एशोसियसन नेपाल महासङ्घले प्राविधिक शिक्षा तर्फ दिँदै आइरहेको छात्रवृति अन्तर्गत नेशनल आईसीटी स्कलरसिप – २०८० को लागि आवेदन माग गरेको छ । यस छात्रवृत्ति अन्तर्गत सात प्रदेशबाट १/१ जना छात्रा लाई पूर्ण साथै सातै प्रदेशबाट ४२ जनालाई आंशिक गरि ४९ जनालाई छात्रवृति प्रदान गरिने छ । छात्रवृत्ति वितरण गर्दा गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

फिमेल मेरिट आईसीटी छात्रवृत्तिमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच सहकार्यमा सञ्चालन भएको यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिनेछ ।

महासङ्घले  विगत चार वर्ष देखि प्रदान गर्दै यो छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस छात्रवृत्ति  हालसम्म ११० जना विद्यार्थीहरूले प्राप्त गरिसकेको महासङ्घले बताएको छ ।छात्रवृति प्राप्त विद्यार्थीहरूले  लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी (BSc. IT) को अध्ययन गर्न पाउनेछन्।

प्लस टु वा उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org  मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को प्रमाणपत्रको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *