एसईई पछि प्राविधिक शिक्षा पढ्न छात्रवृत्तिको अवसर

जीविको २०८० साउन ५ गते १३:५७

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तथा प्रि डिप्लोमा तह तर्फ वर्गीकृत छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

परिषद्ले प्रि-डिप्लोमा तहको विभिन्न २० विधामा १ हजार ८ सय ३६ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । जसमा कृषि, हस्पिटालिटी, इन्जिनियरिङ विधाका प्रि-डिप्लोमा इन प्लान्ट साइन्स, प्रि- डिप्लोमा इन लाइफस्टक, प्रि- डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्रि-डिप्लोमा इन होटल म्यानेजमेन्ट जस्ता २० विषयहरू समावेश छन् ।

साधारण तथा वर्गीकृत दुबै तहमा ५०-५० प्रतिशत छात्रवृति प्रदान गरिने सिटिइभिटीले जानकारी दिएको छ । एस.एल.सी उत्तीर्ण गरेका वा एसईईमा न्यूनतम ई ग्रेडमा उत्तीर्ण भएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै परिषद्ले डिप्लोमा तह (३ वर्षे) शैक्षिक कार्यक्रमका लागि ३ हजार ६ सय ७४ जनाको लागि छात्रवृत्तिको आवेदन माग गरेको छ ।

जसअन्तर्गत प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा इन जिओमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन योग एण्ड नेचुरापेथी जस्ता विभिन्न ३३  विषयहरू समावेश छन् ।

डिप्लोमा तह छात्रवृत्ति अन्तर्गत स्वस्थ क्षेत्र तर्फ आवेदन दिनेहरूले एसएलसी परीक्षामा ४५ प्रतिशत अङ्क प्राप्त गरेको वा प्रि-डिप्लोमा तहमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ भने एसईई दिएका विद्यार्थीहरूको हकमा न्यूनतम २.० जिपिए अङ्क प्राप्त गरेको हुनुपर्नेछ ।

त्यस्तै स्वास्थ बाहेकका अन्य विषयहरूमा आवेदन दिनेले प्रि-डिप्लोमा तहमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको वा एसईई परीक्षा दिएको भए न्यूनतम १.६ जिपिए अङ्क ल्याई उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रि-डिप्लोमा तहमा आवेदन दिन चाहनेहरूका लागि ५ सय रुपैयाँ प्रवेश परीक्षा शुल्क लाग्नेछ । आवेदन आउँदो साउन १२ गतेसम्म दिन सकिनेछ भने परीक्षा साउन २० गते सञ्चालन हुनेछ ।

वेभ ब्राउजरमा www.ctevt.org.np  वा www.ctevtexam.org.np  टाइप गरी Enter गरेर Classified Online Form मा Click गरेपछि आफूले अध्ययन गर्न चाहेको एउटा स्तर प्रि-डिप्लोमा वा डिप्लोमा  छानी New User मा Click गरेर आवेदन दिन सकिनेछ ।

प्रवेश परीक्षाको नतिजा र एसईई वा एसएलसीको नतिजालाई आधार मानेर नतिजा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिने सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले बताए ।

“कुल विद्यार्थीबाट १० प्रतिशत विद्यार्थीलाई हामीले छात्रवृत्ति प्रदान गर्छौँ, जेहेन्ददार र योग्य विद्यार्थीले छात्रवृति पाउनेछन्,” प्रमोदभक्तले भने ।

छात्रवृतिको लागि आवेदन दिँदा नेपाली नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, सरकारी वा सामुदायिक विद्यालय हो भनी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित विद्यालयले प्रमाणित गरेको पत्रको सक्कलबाट Scan कपी, समावेशीको हकमा सम्बन्धित पालिका वा जिल्ला प्रशासन कार्यलयबाट प्रमाणित गरिएको प्रमाणपत्रको स्क्यान कपी हालसालै खिचिएको पासपोर्ट साइज (35x45mm ) को १ प्रति रङ्गीन फोटो आवेदनसँगै पेस गर्नुपर्नेछ ।

हेर्नुहोस् गोरखापत्रमा प्रकाशित सूचना : LINK

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *