निःशुल्क आवासीय व्यवस्था सहित अध्ययनका लागि छात्रवृत्ति आव्हान

जीविको २०७९ फागुन १६ गते १२:४७

शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालय अन्तर्गत काठमाडौं बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा सहभागि विद्यालयहरूले विपन्न समुदायका कक्षा ५ देखी आवासीय रुपमा निःशुल्क अध्ययनका लागि छात्रवृत्ति आव्हान गरेको छ ।      

वि.सं. २०६९/०१/०१ गतेदेखि २०७० / १२ / ३० गतेसम्म जन्म भएका कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्रछात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरि लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।     

छात्रवृत्तिका लागि आरक्षण कोटाभित्र लोपोन्मुख -२, दलित ४, मुस्लिम -१, मधेसी- ४, आदिवासी/जनजाति –५, पिछडिएको क्षेत्र -२ र द्वन्द्वपीडित – २ जनाको सिट तोकिएको छ । यस्तै विद्यालयले बुढानीलकण्ठ नगरपालिकाभित्रका १ जना छात्र र १ जना छात्रालाई  छात्रवृत्ति दिनेछ । साझेदारी कार्यक्रम अन्तर्गतका स्कुलहरुमा पनि ७७ जना विद्यार्थीलाई छात्रवृत्ति दिइने छ , जसमा ५ दलित, २ मुस्लिम, ६ मधेसी, ९ जनजाति र २६ छात्रालाई छात्रवृत्ति दिनेछ । 

साझेदारी कार्यक्रमका सहभागी विद्यालयहरू :

  •  शीतलादेवी मा.वि., धनकुटा
  •  नवजीवन माध्यमिक विद्यालय, जुटपानी, सर्लाही
  •  कुलेश्वर आवास माध्यमिक विद्यालय, कुलेश्वर, काठमाडौँ
  •  बालमन्दिर माध्यमिक विद्यालय, लुम्ले, कास्की
  •  जनता मा.वि., पाल्पा
  •  वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय, टीकापुर, कैलाली

आवेदन चैत्र २८ गते बिहान १० बजेसम्म दिन सकिने छ । आवेदन फाराम www.bnks.edu..np  वा www.cehrd.gov.np  बाट डाउनलोड गरेर भरी [email protected]  मा इमेल गर्न सकिने प्रकाशित सुचनामा उल्लेख गरिएको छ । आवेदन दस्तुर १ सय रुपैयाँ लाग्ने छ ।   

आवेदन फारामसँग संलग्न गर्नु पर्ने कागजातहरू :

  • सम्बन्धित वडा कार्यालय वा स्थानीय तहले विपन्नताको आधार खुलाई छात्रवृत्तिका लागि सिफारिस गरेको सिफारिस पत्र ।
  • स्थानीय पञ्जिकाधिकारीले प्रदान गरेको विद्यार्थीको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • सामुदायिक विद्यालयबाट कक्षा ३ उत्तीर्ण गरेको प्रमाणपत्र र कक्षा ४ को अन्तिम प्रमाणपत्र जारी नभएको भए सो व्यहोरा खुल्ने विद्यालयको पत्र ।
  •  विद्यार्थीका बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । यदि बाबुआमा बाहेक अन्य व्यक्ति संरक्षक भए आधिकारिक निकायबाट विद्यार्थी सँगको नाता खुलाइएको प्रमाणपत्र र निजको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 
  •  आरक्षित गरिएको सिटमा आवेदन दिन चाहने व्यक्तिले आफ्नो थर नेपाल सरकारले सार्वजनिक गरेको सूचीमा पर्ने भएमा सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुनेगरि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वा सम्बन्धित आधिकारिक निकायबाट जारी गरिएको सिफारिस पत्र ।
  • पिछडिएको दुर्गम क्षेत्रका हकमा सम्बन्धित वडा कार्यालय वा स्थानीय तहले निज व्यक्ति हालसम्म सोही स्थानमा स्थायी बसोबास रहेको र निजको छोरा वा छोरीले स्थानीय सामुदायिक विद्यालयमा अध्ययन गरेको हो भनी खुलाइदिएको सिफारिस पत्र ।
  • द्वन्द्वपीडितका हकमा बाबु वा आमा द्वन्द्वपीडित भएको प्रमाण खुल्ने गरी जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको प्रमाणपत्र ।
  • पासपोर्ट साइजको २ प्रति फोटो ।

कक्षा ५ को छात्रवृत्तिमा सहभागी हुन कक्षा ३ र ४ को नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत पाठ्यक्रम तोकिएको विद्यालयले बताएको छ । 

थप जानकारीका लागि ०१४३७०२४८ वा ०१४३७१६३७ मा सम्पर्क गर्न सकिने छ । 

सूचना : Link

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *