काठमाडौं महानगरपालिकाले रिसर्च फेलोसिप सञ्चालन गर्दै, यसरी दिनुहोस् आवेदन
काठमाडौं महानगरपालिकाले ६ महिनाका लागि १० जना अनुसन्धानकर्मीको आवेदन खुलाएको छ । महानगरले शहरी योजना आयोगको समन्वयमा गर्न लागेको महानगर रिसर्च फेलोसिपको २०७९ अनुसन्धान शोधवृत्ति कार्यक्रम (Metropolitan Research Fellowship Program 2023 ) को तेश्रो संस्करणको लागि अनुसन्धानकर्मीको माग गरेको हो ।
महानगरपालिकाको चौतर्फी विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धान (Policy Research) मार्फत महानगरपालिकालाई तथ्यमा आधारित नीति निर्माण (Evidence-Based Policy) गर्न एवम् कार्यमूलक अनुसन्धान (Action-Oriented Research) मार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाले बताएको छ ।
आवेदन फागुन २४ गतेसम्म दिन सकिने छ ।
आवेदन फारामसँगै यी विषयमा अनुसन्धान प्रस्ताव (Research Proposal) पेस गर्नुपर्ने हुन्छ :
- इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहित्य
- शहरी योजना, शहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार
- जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन
- शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान, स्वास्थ्य, जीवनस्तर, स्थानीय आर्थिक विकास
- शहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास, शहरी अनौपचारिक क्षेत्र, गरिबी, अनधिकृत बसोबास
- वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन
- कानून, शासन, सूचना तथा सञ्चार, नवीन सोच
सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी २ वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् । सेवा सुविधा र अन्य सर्तहरू महानगरले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीका लागि महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा गएर बुझ्न सकिन्छ भने [email protected] इमेल गरेर वा ०१४१०२३०१ मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना