युवा वैज्ञानिकलाई नास्टले सहयोग गर्ने, यसरी दिनुहोस् आवेदन
नेपाल विज्ञान तथा प्राविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट) ले युवा वैज्ञानिकहरूलाई अनुसन्धानमा सहयोग गर्नका लागि आवेदन आव्हान गरेको छ । कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्ने युवालाई नास्टले सहयोग गर्न लागेको हो ।
आवेदन पुष ११ गतेसम्म बुझाउन सकिनेछ । अनुसन्धान प्रस्ताव सहित प्रतिष्ठानको आवेदन खुमलटारस्थित कार्यालयमा दर्ता गराउन सकिने छ भने प्रतिष्ठानको इमेल [email protected] वा [email protected] मा हस्ताक्षर सहितको प्रस्ताव पठाउन सकिने नास्टले बताएको छ । प्रस्ताव पेस गर्दा नागरिकताको प्रतिलिपि र अपडेट गरिएको बायोडाटा अनिवार्य पेस गर्नुपर्ने छ । इमेलबाट अनुसन्धान प्रस्ताव पठाउँदा वर्ड र पीडीएफ फाइलमा पठाउनुपर्ने छ ।
सात प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने अनुसन्धान प्रस्तावहरू सोही प्रदेशमा कार्यरत युवा वैज्ञानिक प्रविधिज्ञबाट पेस भएमा त्यस्ता प्रस्तावलाई प्राथमिकता दिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । प्रस्ताव पेस गर्दा व्यक्तिगत वा समूहको लागि बढीमा ५ लाख र संस्थागत अनुसन्धानका लागि १० लाख र बहुविधागत अनुसन्धानका लागि १२ लाखसम्मको बजेट पेस गर्नुपर्ने छ । त्यस्तै माध्यामिक विद्यालयस्तरका विद्यार्थीहरूले अनुसन्धानात्मक एवम् नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बढीमा ५० हजार र स्नातक तहका विद्यार्थीहरूको लागि बढीमा १ लाख र वैज्ञानिक समाज प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धानको लागि १ लाख प्रदान गर्ने नास्टले जनाएको छ । विद्यालयस्तर र क्याम्पस स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवम् नवप्रवर्तन सम्बन्धी कार्यक्रमको लागि अनिवार्य रूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्ने छ भने यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विज्ञान शिक्षकको हुनेछ ।
यस सम्बन्धी थप जानकारीका लागि www.nast.gov.np मा हेर्न सकिन्छ, भने ०१-५५२२६१९ मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना