अवसर : भारतीय दूतावासले खुलायो नेपाली विद्यार्थीका लागि छात्रवृत्ति
नेपालस्थित भारतीय दूतावासले नेपाली विद्यार्थीको लागि छात्रवृत्ति आव्हान गरेको छ । दूतावासले २०२२/२०२३ का लागि महात्मा गान्धी साथै स्वर्ण जयन्ती छात्रवृत्तिको माग गरेको हो । आवेदन आगामी पुष २ गतेसम्म https://www.goischolarship.com.np/ मार्फत बुझाउन सकिने छ ।
महात्मा गान्धी छात्रवृत्तिको हकमा आवेदकले नेपालको मान्यताप्राप्त शैक्षिक संस्थामा ११ कक्षा पढिरहेको हुनुपर्ने छ भने कक्षा १० मा कम्तिमा ६० प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै आवेदकका बुबाआमा नेपाली नागरिक भएको हुनुपर्ने छ भने परिवारको वार्षिक आय २ लाख भन्दा कम रहेको हुनुपर्ने छ ।
स्वर्ण जयन्ती छात्रवृत्ति हकमा आवेदक स्नातक प्रथम वर्षमा अध्ययनरत क्षात्र हुनुपर्ने छ । साथै आवेदकले +२ तहमा कम्तिमा ७० प्रतिशत अंक ल्याई उत्तीर्ण गरेको विद्यार्थी हुनुपर्ने छ।
स्वर्ण जयन्ती छात्रवृत्ति पनि महात्मा गान्धी छात्रवृत्ति झैँ बुवाआमा नेपाली नागरिक भएको हुनुपर्ने छ भने परिवारको बार्षिक आय २ लाख भन्दा कम रहेको हुनुपर्ने दूतावासको सूचनामा उल्लेख छ ।
महात्मा गान्धी छात्रवृत्तिमा विद्यार्थीले मासिक २ हजार रूपैयाँ पाउने छन् भने स्वर्ण जयन्ती छात्रवृत्ति चिकित्सा क्षेत्र एमबीबीएस् साथै विडिएसमा मासिक ४ हजार, इन्जिनियरिङका विषयहरूमा ३ हजार र अन्य विषय पढ्नेहरूका लागि २ हजार छात्रवृत्ति प्रदान गरिने छ । आवेदन दिनका लागि प्रधानअध्यापकको प्रमाणीकरण र लब्धाङ्क पत्र आवश्यक रहेको दूतावासको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना