हाम्रो प्रतिनिधित्व संसदमा तब हुन्छ, जब हामी भोट गर्छौं : शिक्षाविद् केदारभक्त माथेमा फोटो : पुष्कल श्रेष्ठ/जीविको

जीविको २०७९ मंसिर १ गते १६:२७

भोट हाल्नै पर्छ । हामी प्रजातान्त्रिक मुलुकमा छौं अनि हाम्रो देश सञ्चालन गर्नका लागि हामीले चुनेको व्यक्ति संसदसम्म पठाउँछौँ । त्यस्तो मान्छेले हाम्रो विचार बोकेको, हाम्रा दुःख पीडा बोकेको हुनुपर्छ । यदि हामीले चुनावमा भाग लिएनौँ भने हाम्रो विचार नबोकेको मान्छे संसदसम्म पुग्न सक्छ । त्यसैले त आफ्नो विचार नीति निर्माण गर्ने तहसम्म पुर्‍याउनका निम्ति मतदान गर्नै पर्छ । निर्वाचन भनेको ५ वर्षमा आउने जनताको एउटा ठूलो अधिकार अभ्यास गर्ने माध्यम हो । हो, त्यहि कुरालाई विचार पुर्‍याएर पनि सक्षम व्यक्तिलाई मतदान गरि संसदसम्म पुर्‍याउनुपर्छ अनि देशले एउटा ट्रयाक पकड्छ । देशले कोल्टे फेरे पछि ‘म डाँडा पारि विदेश जान्छु’ भनिराख्न पर्दैन, देशमा नै अवसरका बाटोहरू खुलेर जान्छन् । 

देश जति रमाईलो विदेशमा हुँदैन । साथीभाइ, सम्मान इज्जत पनि विदेशमा हुँदैनन् तर पनि हज्जारौँ नेपालीहरू विदेशिरहनुभएको छ त्यसको कारण यहाँ अवसर पाउनुभएन । जुन किसिमको सरकार खोज्नुभएको हो त्यसअनुसार पाउनु भएन, जुन किसिमको नीति नियमहरू खोज्नुभएको थियो त्यसअनुरूपको नीति नियम उहाँहरूले नेपालमा भेट्नुभएन त्यसैले विदेशिनुभयो । त्यसकारण अबको समयमा त्यस किसिमको सरकार ल्याउनु पर्‍यो जसले गर्दा नेपालमै संवृद्दि देखियोस्, अवसरहरु सिर्जना गर्न सकियोस् । त्यसैले, त्यस किसिमको देश बनाउन सक्ने नेतृत्वलाई सरकारसम्म पुर्‍याउका लागि पनि मतदान गर्न जरूरी छ । 

शिक्षाकै कुरा गरौं, शिक्षा नीति तयार पार्ने अनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने भनेको संसद हो, सरकार हो । संसदमा नीति नियम बनाउने मानिसहरूलाई हामी चुन्दै छौँ त्यसकारण अबको निर्वाचनमा प्रतिनिधि छान्दा उनीहरूको शिक्षा प्रतिको धारणा कस्तो छ , विचार र दृष्टिकोण कस्तो छ त्यो अनुसारको प्रतिनिधि हामीले छान्नुपर्छ । 

हामीले छानेकै मान्छेहरू बसेर यस किसिमका नीति निर्माण बनाउने हो । शैक्षिक प्रणाली कस्तो बनाउने ? केन्द्रीकृत शिक्षा विकासमा मात्र जोड दिने भन्दा स्थानीय स्तरसम्म शैक्षिक स्तर सुधार गर्न सक्ने व्यक्तिलाई आगामी चुनावमा प्रतिनिधि छनोट गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

हेर्नुहोस्, शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले निर्वाचनको पूर्वसन्ध्यामा युवालाई गरेको भिडियो अपिल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *