“पासपोर्ट बोकेर विदेश पुगेँ, अब जनमत लिएर संसद् पस्छु”

जीविको २०७९ कार्तिक ३० गते २१:४१

देशमा रोजगारी नपाएपछि एक दशक अगाडि दुबईको एयरपोर्टमा ट्रली गुडाउने काम गर्नका लागि काभ्रेका प्रकाश लामा (३४)  विदेशिएका थिए । त्यससमय भर्खरै १२ कक्षा उत्तीर्ण गरेका उनलाई स्नातक पढ्ने ठूलो रहर थियो तर विडम्बना उनको घरको आर्थिक अवस्थाले दिएन । पढाई पूरा नभएपछि वैदेशिक रोजगारीलाई रोजेका प्रकाशलाई त्यहाँ बस्दा देशको परिवेश र आफ्नो क्षेत्रको विकासको चासो खुब रहन्थ्यो । घरमुनि मोटरबाटो बन्यो बनेन ? प्लस टु पढ्न बनेपा धुलीखेल धाउनु पर्न छाड्यो कि छाडेन भन्ने उनलाई लागिरहन्थ्यो। 

प्रकाश ट्रली ब्वाइ बनेर दुबईको एयरपोर्टमा ४ वर्ष काम गरे । एयरपोर्ट त्यस्तो ठाउँ  थियो जहाँ उनीजस्तै नियति खेप्नु परेर विदेशिएका नेपालीसँग उनको दैनिक भेट हुन्थ्यो । उनलाई लाग्थ्यो, “देशमै केही गर्न खोज्दा खोज्दै अनि विद्यालय तह नसकिँदै सबै मेरो जस्तै विवशताले गर्दा विदेशिएका होलान् ।” 

४ वर्षसम्म उनले दिनहुँ एयरपोर्टमा कामको लागि आएका नेपाली भेटे । वैदेशिक रोजगारीमा आउने सबैको समस्या साझा नै थियो – देशभित्र काम नै नपाउने, काम पाए पनि जीविको नै नचल्ने ।

रोजगारीका लागि दुबई पुगेका अन्य नेपाली युवाहरूलाई उनले सोध्ने गर्थे ‘किन विदेश आएको ?’  सबैको एउटै जवाफ हुन्थ्यो ‘ देशमै अवसर  पाउने भए त  किन आउनु पर्थ्यो र विदेश ?’

विदेशमा बस्दा उनले महसुस गरेको अर्को महत्वपूर्ण कुरा हो,  नेपालमा राजनीतिक दल र सरकारले संधै युवालाई झुक्याई रहे, उनीहरुका लागि न्यूनतम काम पनि गरेनन् । तसर्थ, राजनीतिप्रति नै विदेशिएका युवालाई आक्रोश र वितृष्णा छ । 

त्यसपछि खै के भयो उनलाई दुबई बस्नै मन लागेन । अब देशमै फर्कन्छु, अवसर खोज्छु अनि पसिना बगाउँछु भन्ने  लाग्यो । 

प्रत्येक दिन हजारौं नेपाली कामको लागि विदेश पुगिरहँदा उनी भने फेरी श्रमिक बनेर दुबई फर्किन्न भन्ने सोची नेपाल तीर लागे । 

प्रकाशले दुबई छँदै सोचेका थिए, “अब राजनीति गर्छु अनि आफूले सक्दो प्रयास गरेर बाध्यताबश विदेशीएका युवाका क्षेत्रमा केहि काम गर्छु” 

मतदातालाई आफ्नो एजेण्डा बुझाउँदै प्रकाश लामा

उनी नेपालमा फर्किपछि राजनीतिमा लागे । युवालाई विदेशको दुःख सम्झाउन थाले । चार बर्षको वैदेशिक रोजगारीको यात्रा टुंग्याउँदै सन् २०१६ मा स्वदेश फर्किएका प्रकाश मंसिर चार गते हुन गइरहेको प्रतिनिधिसभा चुनावमा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) बाट काभ्रे क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् ।

युवालाई देशभित्रै  रोजगारी र अवसर सृजना गर्न, उत्पीडित जाति तथा वर्गको अधिकार दिलाउन, नि: शुल्क स्वास्थ्य, शिक्षा तथा रोजगारीको ग्यारेन्टी गर्न, सडक, पुल, पुलेसा, मठमन्दिर, गुम्बालगायत विभिन्न धार्मिक सांस्कृतिक सम्पदाहरू निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने र यस कार्यमा विशेषगरी युवालाई नै परिचालन गर्ने उद्देश्यले उनी चुनावी मैदानमा होमिएका छन् । देश भित्रै रोजगारीको अवसर सृजना गरेर सकेसम्म वैदेशिक रोजगारीलाई रोक्ने लक्ष्य प्रकाशले लिएका छन् ।

उनी भन्छन्, “पासपोर्ट बोकेर विदेश पुगेँ, अब जनमत लिएर संसद् पस्छु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *