विदेशमा हुने नेपालीलाई निर्वाचन आयोगको अपिल (भिडियो) फोटो : पुष्कल श्रेष्ठ/जीविको

जीविको २०७९ कार्तिक २७ गते ११:५७

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रोजगारी, अध्ययन लगायत विभिन्न कारणले विदेशिएका नेपालीहरूलाई यसपटकको निर्वाचनमा सहभागी गराउन नपाएको तर आगामी चुनावमा सहभागी गराउन निर्वाचन आयोगले आफ्नो तहबाट निरन्तर पहल गरिरहने बताएका छन् । आफूले भोट हाल्न नपाए पनि नेपालमा भएका परिवारका सदस्य, आफन्त अनि साथिभाइलाई मतदान गर्न पठाएर समृद्ध मुलुक निर्माणको पहल गर्न र निर्वाचन सफल बनाउन प्रमुख निर्वाचन आयुक्तले अपिल गरेका छन् ।

जीविकोसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्तले भनेका छन्:

निर्वाचन सम्बन्धी अहिलेको हाम्रो कानुनले विदेशमा बस्ने नेपाली नागरिकहरू त्यसमा पनि निश्चित समयका लागि विदेशमा रोजगारीका लागि जाने र केही पैसा कमाएर यही देशमा जीविकोपार्जन गर्नेहरूका निम्ति पनि यो अधिकार दिन नसकेको प्रति हामी साँच्चीकै दुःखी छौँ । सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश आइसकेपछि निर्वाचन आयोगले निर्वाचन कानुनमा संसोधन गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाइसकेको छ । मलाई खुसी पनि लागेको छ, विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकार दिनुपर्छ भन्ने विषयहरूलाई थुप्रै पार्टीहरूले आफ्नो घोषणापत्रमा उल्लेख गरिसकेका छन् । यो आयोगको प्रतिबद्धता र अहिले विदेशमा रहेका नेपालीहरूको मनोभावनासँग जोडिएको विषय छ यसको लागि आयोग स्वागत गर्दछ । यो निर्वाचनमा तपाईं आफैँ आउन सक्नुभएन तर तपाईंको मन यही देशभित्र छ तपाईंको विचार यही देशभित्र छ र तपाईंको समृद्दिका चाहना पनि यही देशभित्र छ । त्यसकारण साँच्चिकै यो देशलाई समृद्दि दिने, शान्ति दिने, स्थिरता दिने र तपाईंले जस्तो तपाईँका सन्तानले आफ्नो युवा उर्जा, पौरख र पसिनालाई परदेशमा पोख्नुपर्ने स्थितिको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने कुराको प्रत्याभूति गर्नका निम्ति त्यस्ता उम्मेदवारलाई अनि त्यस्ता राजनीतिक दललाई छान्न प्रेरित गर्दिनुहोस्, आफ्ना सन्देशहरू प्रवाह गर्दिनुहोस् । नेपालमा रहेका आफ्ना साथीभाइ, इष्टमित्र अनि घर परिवार आफन्त सबैलाई यो निर्वाचनमा सरिक हुनको निम्ति एउटा वातावरण बनाइदिनुहोस् । सम्भव भएसम्म आगामी निर्वाचनमा हामीले त्यो अधिकार तपाईँहरूलाई पनि दिने वातावरण बनाउनेछौं । यो मुलकको समृद्दिको मार्गचित्र मङ्सिर ४ मा हुँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले कोर्ने छ म तपाईंहरूसँग हार्दिकतापूर्वक अनुरोध गर्दछु – समृद्ध मुलुक निर्माणको पहल गर्न र निर्वाचन सफल बनाउन आ-आफ्नो स्थानबाट जिम्मेवारी निभाऔं ।

हेर्नुहोस्, विदेशमा हुने नेपालीलाई निर्वाचन आयोगको अपिल

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *