अवसर: महिलाका लागि निःशुल्क सीपमुलक तालिम
‘सीप सिकौँ र रोजगार भइ आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ प्लान इन्टरनेशनलले नेपालले राइट फर चिल्ड्रेन भन्ने संस्थाको सहयोगमा पोखरा आसपास क्षेत्रमा रहेका १८ देखि २४ वर्षका किशोरी तथा महिलालाई लक्षित गर्दै ३ महिने विभिन्न निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । जसमा खरिद तथा बिक्री ज्ञान, स्काभेटर अपरेटर, वेटर, हाउस किपिङ, ह्याण्डीक्राफ्ट, इसिडी मन्टेश्वरी फ्यसिलिटेटर, बिल्डिङ इलेक्ट्रिसियन र रिसेप्सनिस्ट जस्ता सीपमूलक तालिमहरू सञ्चालन हुने छ । यसका साथै अङ्ग्रेजी भाषा, जीवन उपयोगी सीप, कम्प्युटर तालिम र लैङ्गिक संरक्षण तालिम पनि दिने प्रकाशित सूचनामा उल्लेख छ ।
संस्थाले दिने सम्पूर्ण तालिम सिटिइभिटीको पाठ्यक्रम अनुसार हुनेछ भने तालिम पश्चात रोजगारीको लागि पनि संस्थाले सहयोग गर्ने राइट फर चिल्ड्रेनको सामाजिक परिचालक अधिकृत पार्वती अधिकारीले बताइन् ।
खरिद तथा बिक्री ज्ञान, वेटर, रिसेप्सनिस्ट तालिमका लागि सहभागिले १० कक्षा पास गरेको हुनुपर्ने छ भने इसिडी मन्टेश्वरी फ्यासिलिटेटरका लागि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यस्तै बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, स्काभेटर अपरेटरका लागि सामान्य लेखपढ गर्न जान्ने हुनुपर्ने छ ।
तालिममा सहभागी हुन चाहनेले right4children.org मा गएर अनलाइन फारम भर्न सक्नेछन् । फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने छ ।
तालिममा दलित जनजाति समूहका महिला, आर्थिक सामाजिक रूपमा पिछडिएका र बिचमै पढाइ छाडेका महिला, घरेलु हिंसामा परेका महिला, एकल महिला, सुधार गृहबाट फर्किएका भूमिहीन वा द्वन्द्व पीडित महिला, विगतमा निःशुल्क तालिमको सुविधा नपाएका र अपांगता भएका महिलाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ । तालिम अवधिभर यातायात र खाजाको व्यवस्था गरिने छ भने तालिम सम्बन्धी सम्पूर्ण सामाग्री निःशुल्क उपलब्ध गराइने र बाल हेरचाहको पनि व्यवस्था गरिने अधिकृत पार्वतीले बताइन् ।
हेर्नुहोस् सूचना:
थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने छ भने ०६१४६५१७७, ९८०२८५८०४९ मा पनि सम्पर्क गर्न सकिने छ ।