रियालिटी शो ‘शार्क ट्याङ्क’ नेपालमा पनि सञ्चालन हुँदै, यसरी दिन सकिन्छ आवेदन फोटो : हिमालयन टेलिभिजन

जीविको २०७९ असार ९ गते १५:४६

उद्यम र व्यवसायलाई प्रवर्दन गर्ने सोचका साथ विश्वका विभिन्न देशमा चलिरहेको टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ नेपालमा पनि सञ्चालन हुने भएको छ । नेपालमा  पहिलो पटक उद्यमीहरूको रियालिटी शो शार्क ट्याङ्क हिमालय टेलिभिजनले फ्रेन्चाइज लिएर प्रसारण गर्ने भएको हो ।   

कार्यक्रमको नियम अनुसार कार्यक्रममा नविनतम् उद्यमीले आफूले गरिरहेको उद्यम र भविष्यको योजना सहित प्रस्तुती दिनुपर्नेछ । उद्यमीले पेश गरेको व्यवसायिक योजना लाई लगानीकर्ता (शार्क )ले मन पराएमा तत्काल उक्त व्यवसायीलाई लगानी गर्ने सम्झौता हुन्छ । उद्यममा लगानीकर्ताले लगानी गरे बापत कम्पनीको निश्चित प्रतिशत सेयर (हिस्सा) माग गर्छन् ।  कार्यक्रममा शार्कको रुपमा नेपालमा व्यवसायिक रुपमा सफलता हासिल गरेका उद्यमीहरू शार्क ( निर्णायक ) हुनेछन् ।  

कार्यक्रमको नियम अनुसार उद्यमीले आफ्नो व्यवसायको बारेमा ३ मिनेट भित्र बताइसक्नु पर्नेछ । आफ्नो व्यवसायको प्रस्तुती दिँदा व्यवसायीले व्यवसायको कुल मल्याङ्कन, लक्षित बजार र शार्कलाई दिन चाहेको सेयर प्रतिशत कति हो त्यो खुलाउनु पर्ने हुन्छ । त्यसपछि शार्क र उद्यमीबीच क्यामराकै अगाडि प्रश्न उत्तरमा व्यवसायको सम्झौता हुन्छ ।    

आवेदन दिनको लागि हिमालयन टेलिभिजनको वेबसाइट www.himalayatv.com मा गएर फाराम डाउलोड गरि भर्न सकिन्छ । आवेदन फाराम भर्दा उद्यमीले आफ्नो व्यवसाय सम्बन्धी आधारभुत विवरण खुलाउनुपर्ने  कार्यक्रम सञ्चालक समितिले बताएको छ । शार्क ट्याङ्कमा आवेदन दिने उद्यमीले आफ्नो व्यवसाय  नेपालको आधिकारिक निकायमा दर्ता  गराइ काम गरिरहेको हुनुपर्नेछ । यसरी आवेदन दिने आवेदक नेपाली नागरिक हुनुपर्नेछ ।  

प्राप्त आवेदनहरूबाट छनोट गरिएका व्यवसायहरूलाई पहिलो चरणको अन्तर्वार्ताका लागि बोलाइ व्यवसायलाई छोटो सूचीमा राखिनेछ र व्यवसाय मालिकहरूले लगानीकर्ताहरूको अगाडि बिचार प्रस्तुत गर्नुपर्ने हुन्छ। व्यवसायहरूले आफूले खोजेको लगानीको विरुद्ध कम्पनीमा हक प्रस्ताव गर्न आवश्यक हुने कार्यक्रमको नियम रहेको छ ।  शार्कहरूले जबाफी प्रस्तावहरू गर्न सक्छन् र दुबै पक्षको सम्झौता नभएसम्म वार्ता जारी रहन सक्छ ।   

 एक पटक सम्झौतामा सहमत भएपछि, तिनीहरूले व्यापारमा शार्कहरूको संलग्नताको बारेमा बैठकहरू गर्नेछन्। संलग्नता पूर्णतया दुईपक्ष बीचको सहमतिमा आधारित हुनेछ। कार्यक्रम समाप्त भएपछि शार्कहरू कसरी संलग्न हुनेछन् भन्नेसँग कार्यक्रमको कुनै सरोकार हुने छैन ।  

नेपालमा प्रत्येक वर्ष थुप्रै नयाँ उद्यमका सोचहरू पलाउँछन् । तर सरकारी निगरानी र उचित मार्गदर्शनको अभावमा सुरुवात गरिएका ती उद्यमहरू दीर्घकालसम्म टिक्न सक्दैनन् । नव प्रवर्तनका लागि सरकारले पनि उचित सहुलियतको व्यवस्था गर्न नसक्दा उद्यम गर्न चाहनेहरूले आफ्नो उद्यमलाई थप विस्तार गर्न सकिरहेका  छैनन् । यसरी नयाँ सोच भएका नव प्रवर्तन ‘स्टार्ट अप’ हरूलाई अगाडि बढ्न   शार्क ट्याङ्क नेपाल जस्तो रियालिटी शोले भूमिका खेल्ने अनुमान लगाउन सकिन्छ ।  

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *