आशीर्वादको कमाइमा बाँचेका ८२ वर्षीय दम्पती फोटो : सुप्रिम बिष्ट जीविको

बिना सुनार २०७८ चैत २३ गते १६:४५

“काम गर्न के गार्हो मान्नु, यति धेरै पैसा पाइन्छ यसलाई दुःख भनिन्छ र?,” झोलाभरि खुद्रा पैसा देखाउँदै ८२ वर्षीय होमनाथ अधिकारी सुनाउँदै थिए । 

रातो कमिज सुरुवाल, ढाका टोपी र निधारमा लामो चन्दन लगाएका होमनाथ आगाडि पट्टी टिकाको थाली, कलशमा पानी र केही थान धार्मिक पुस्तक लिएर काठमाडौं दक्षिणकाली मन्दिरको गेटैमा बसेका थिए । होमनाथ सँगै साथमा थिइन उनकी श्रीमती पवित्रा (८२) ।  होमनाथ र पवित्रा दक्षिणकाली दर्शन गर्न आएका भक्तजनलाई टिका लगाइदिने काम गर्छन् । टिका लगाएर आएको दक्षिणाले उनीहरूको जीविका चलेको छ ।  विगत १५ वर्षदेखि यी दम्पती यसरी नै दक्षिणकाली मन्दिरमा आएका भक्तजनलाई टिका लगाउने काम गर्छन् ।  

 “गर्जो त टार्नै पर्यो, बलको काम गर्न हातखुट्टा लाग्दैन त्यसैले दक्षिणकालीलाई सहारा बनाएका छौँ,” पवित्रा भन्छिन् ।

 भक्तपुर बागेश्वरीका यी दम्पतीले सकुन्जेल खेती किसानी गरेर परिवार धानेका थिए ।  उमेर ढल्कदै गयो, काम गर्न नसक्ने भए, बुढेसकालको सहारा भएको एउटा छोरा पनि काम गर्न नसक्ने अशक्त भएकोले उस्को जिम्मेवारी पनि उनीहरूले नै धन्न परेको छ । धनसम्पत्तिको नाममा केही नभएको अनि आफू र छोराको जीविका चलाउनको लागि उनीहरूले मन्दिरमा बसेर टिका लगाइदिने पेशा रोजेका हुन् ।  

 बिहान ५ बजे उठेर आफ्नो नित्य कर्म सकेपछि झोलामा अबिर, अक्षता  रङ्ग आदी टिकाको समान लिएर उनीहरु दक्षिणकाली मन्दिर आउने गर्दछन् । सधैँ जसो भक्तजनको भिड लाग्ने दक्षिणकाली मन्दिरमा मंगलबार र शनिबार भने, धेरै मानिसहर आउने गर्दछन् ।  ती दिनमा होमनाथ र पवित्रालाई पनि भ्याइ नभ्याइ हुने गर्दछ । यसरी मन्दिरमा आउने भक्तजनलाई टिका लगाएर र  आशीर्वाद दिलाएबापत् श्रद्धाले दिएको केही पैसाबाट नै उनीहरूको जीवन चलेको छ ।  टिका लगाएर अनि आशीर्वाद दिएर  दैनिक १ हजार देखी १२ सय रुपैयाँ कमाइ हुने गर्दछ  ।  

 “बुढाबुढीले दिएको आशीर्वाद लाग्छ रे, हामी यती चाहियो उति चाहियो भन्दैनौँ, श्रद्धाले जति दिनुहुन्छ त्यति लिन्छौँ,” पवित्रा भन्छिन् । 

 होमनाथ र पवित्राको विवाह भएको ६३ वर्ष बितिसक्यो । वैवाहिक जीवनको ६ दशक लामो यात्रामा उनीहरूबीच कुनै खटपट परेको छैन रे, सँधै सँगै रहने, एक अर्काको दुःख सुखमा साथ उनीहरूको जीवन ८२ वर्षे जीवन कट्दै छ । अहिले पनि होमनाथ र पवित्राको जोडी नव विवाहित जस्तै देखिन्छ । 

“विवाह भएका दिन देखि कहिल्यै छुटेनौँ, अब त डाँडापारीको घाम भइसक्यौँ सँगै अस्ताउन पाए त्यही ठूलो कुरा हुने थियो,” होमनाथ भन्छन् । 

दक्षिणकालीमा आएका भक्तजनलाई हातमा डोरो लगाइदिँदै पवित्रा, फोटो : सुप्रिम बिष्ट जीविको

 यसरी जीवनका उतारचढावमा सँगै यात्रा गरेका पवित्रा र होमनाथले जीवनका सुखका पल काटेका छन भने दुखका दिनहरू पनि । ५ वर्ष पहिले होमनाथ नराम्ररी बिरामी भए, उनलाई प्यारालाइसिस भयो, उनको खात खुट्टा चलेन पवित्राले ९ लाख रुपैयाँ ॠण गरेर श्रीमान् लाई बचाइन्। श्रीमानको उपचार गर्दा लिएको ऋण अझै तिरिसकेको छैन । उनीहरू भाडा लिएर दक्षिणकालीमा बस्छन् मासिक ५ हजार कोठाको भाडा तिर्न पर्छ ।  दक्षिणकालीमा टिका लाउन बस्दा मन्दिर व्यवस्थापन समितिलाई मासिक ५ सय रुपैयाँ तिर्नुपर्छ ।  घरमा अशक्त छोरा छन् उनको लालन पोषण यही ८२ वर्षीय दम्पतीले गर्छ । जे होस् दुःख पीडा, अनि समयसँगै बित्दै गरेको उमेरका बावजुत यी दम्पतीले हाँसेरै जीवन कटाएका छन् । जसो तसो जीवन गुजारेका छन् ।   

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *