एक किशोरको लक्ष्य प्राप्तिको म्यारथन
हरेक मध्यरातमा उनी १० किलोमिटर कुद्ने गर्छन्
मध्यरातको सुनसान सडक, फाट्टफुट्ट गाडी कुदिरहेको छ । एक किशोर पिठ्युँमा झोला बोकेर रफ्तारमा दौडिरहेका छन् । उनी नजिकै एउटा गाडी आउँछ र गति कम गर्दै भित्रबाट कुनै अपरिचित व्यक्तिले सहयोग गर्ने मनसाय सहित किशोरलाई भन्छ, “ आऊ, म तिमीलाई पुर्याइदिन्छु ।”
किशोरले दौडदै उत्तर फर्काउँछन्, “पर्दैन, म यसैगरी जान्छु ।”
“कहाँ काम गर्छौ ?” अपरिचित व्यक्तिले सोध्छन् । उनी भन्छन्, “ म्याकडोनलमा”
अपरिचित व्यक्तिले अचम्मित हुँदै पुनः प्रश्न गर्छन्, “अनि दौडेर किन जाँदै छौ ?”
किशोरले भन्छन्, “म सधैँ दौडदै जान्छु, अरु बेलामा दौडने समय हुँदैन ।”
गाडी र दौडिरहेका किशोरको गति समानरूपमा अगाडि बढिरहेको छ । किशोरले सधैँ दौडेर घर जाने कुरा बताएपछि गाडीभित्रका अपरिचित व्यक्तिले कौतुहलताका साथ पुनः प्रश्न गर्छन्, “किन ?”
किशोर भन्छन्, “आर्मी बन्नका लागि”
किशोरको लगाव र मेहेनत देखेर गाडीभित्रका अपरिचित व्यक्ति चकित पर्दै भन्छन्, “बाफ रे !”
केही दिनअगाडि मात्र ट्विटरमा राखिएको यो भिडियो अहिले सामाजिक सञ्जालमा ब्यापक रुपमा फैलिरहेको छ । गाडीभित्रका अपरिचित व्यक्ति भारतीय फिल्म मेकर बिनोद काप्रीले यि किशोरलाई भारतको नोयडामा मध्यरातको सुनसान सडकमा दौडिरहेको देखेपछि सहयोग गर्ने मनसायले घर पुर्याइदिने बताएपछि र उक्त सहयोगलाई किशोरले इन्कार गरेपछि यो संवाद अगाडि बढेको थियो । किशोर हुन् भारतको उत्तराखण्ड राज्यका १९ वर्षे प्रदिप मेहरा जो नोयडामा म्याकडोनल्स कम्पनीमा फुड डेलिभरीको काम गर्छन् । काम सकेर उनी हरेक दिन यसैगरी दौडदै आफ्नो कोठा पुग्छन् । प्रदिपले भिडियोमा बताएअनुसार उनको कोठा र काम गर्ने ठाउँको दूरी १० किलोमिटर छ । काममा जाँदा र फर्किदा २० किलोमिटर प्रदिप कुद्ने गर्छन् । यो उनको रुटिङ नै हो ।
यो उनको आर्मी बन्ने लक्ष्य प्राप्तिको म्यारथन हो । प्रदिपको दौड सपनाको दौड हो, बाध्यताको दौड पनि हो । आफ्नो १५ घण्टे काम सक्काएर उनलाई बल्लबल्ल १२ बजे फुर्सद मिल्छ । काम सकेर घर जाने समय उनको लागि विशेष रहने गर्छ, उनी यही समय आफ्नो आर्मी बन्ने सपना बुन्छन् , त्यसलाई पुरा गर्न कसरत सँगसँगै गर्छन् । त्यसैले, उनी यो आफ्नो व्यक्तिगत समयमा कुनै सवारी साधन प्रयोग गर्दैनन् ।
परिवारमा आमा, दाजु र प्रदिप छन् । यतिबेला उनको आमा बिरामी भएर अस्पतालमा छिन् । दाइ रातभरि काम गर्छन्, त्यसैले प्रदिपलाई अहिले घरको अनि कामको दुबै जिम्मेवारी उठाउन परेको छ ।
सानै उमेरमा उज्यालो सपना देखेका प्रदिपलाई आफ्नो उद्देश्य पूरा गर्न सहज छैन भन्ने थाहा छ तर असम्भव पनि छैन भनेर उनी भविष्य बनाउन नोयडामा प्रत्येक रात दौडिरहेका छन् ।
हेर्नुहोस् भिडियो: