अवसर: दुई सय जनाका लागि नि:शुल्क आईटी सम्बन्धी तालिम

जीविको २०७८ फागुन ५ गते १५:४१

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र कम्प्युटर एसोसिएसन नेपाल, महासंघ (क्यान) को सहकार्यमा उद्योग/व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू र कोभिड महामारीको कारणले रोजगार गुमाएका व्यक्तिहरूलाई निःशुल्क सूचना प्रविधि (आईटी) सम्बन्धी एक महिने तालिम आयोजना हुने भएको छ ।

सीटीईभीटीले दिएको जानकारी अनुसार यो तालिम २ सय जनालाई प्रदान गरिने छ । इथिकल ह्याकिङ (वेबसाइट, एप र सफ्टवेयरमा रहेका सुरक्षा कमजोरीलाई (बग) पत्ता लगाउने काम), सिसिटिभी इन्सटलेसन एण्ड रिपेयरिङ साथै प्रिन्टर सेटअप एण्ड रिपेयरिङ विषयमा तालिम सञ्चालन हुन लागेको हो । इथिकल ह्याकिङमा १०० जना, सिसिटिभीमा ८० जना र प्रिन्टरमा २० जनालाई तालिममा सहभागी गराइने छ । एक महिनासम्म सञ्चालन हुने तालिम दैनिक ४ घण्टा सञ्चालन हुनेछ ।

तालिममा सहभागी हुन चाहनेले https://training.can.org.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०७८ फागुन १८ सम्म रहेको छ ।

हेर्नुहोस् सूचना

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका उप-प्रबन्धक उदिप बरालका अनुसार यस किसिमका कार्यक्रमले युवामा प्रविधिसँगको चासो बढ्दै जाने र स्वदेशमा नै रोजगारीका अवसरहरू थप गर्न मद्दत पुग्ने बताउँछन् ।

उनी भन्छन्, “१ महिने तालिम लिएपछि तालिम लिने युवाले स्वदेशमा वा विदेशमा काम पाउन सक्नेछन् ।”

वैदेशिक रोजगारीमा ठूलो संख्यामा अदक्ष कामदार गइरहेको परिवेशमा यस किसिमको कार्यक्रमले विदेशिन चाहने तथा विदेशबाट फर्किएका युवाहरूलाई नेपालमै रोजगारीका बाटोहरू भेट्टाउन सहज हुने उनको तर्क छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *