सुमन निरौला: जसले कोरोनाको समयमा आफ्नो कला निखारे

प्रतिक ढकाल २०७८ माघ १३ गते २०:०२

विगत केही महिनायता देशभर कोभिडबाट सङ्क्रमितको हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । सरकारले भौतिक उपस्थितिलाई नियन्त्रण गर्न विभिन्न आदेशहरु जारी गरिरहेको छ । विगतका लकडाउनमा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लाखौं कामदारले रोजगारी गुमाए । केहीले भने कोभिडको समयलाई सदुपयोग गरेर अवसरका ढोका खोले । इलामको सन्दकपुर गाउँपालिकाका सुमन निरौलाले पनि तिनैमध्ये एक हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा सहरका मानिस कोठामा बाँधिए, गाँउले मानिस करेसा र घरमै सीमित भए । कोरोना भाइरसको प्रभाव २०७७ चैतसम्म नेपालमा पनि महामारीको प्रभाव पर्यो र चैत ११ गतेबाट देशमा निषेधाज्ञा जारी भयो ।  महामारीका कारण ठूलो जनधनको क्षति भयो धेरैको परिवारसँग बिछोड भयो । निराशा बोकेर आएको कोरोना महामारी इलामको सन्दकपुर गाउँपालिकाका सुमन निरौलालाई भने कोरोना अवसर बन्यो ।  महामारीको समयमा निषेधाज्ञालाई घरमै बसेर सदुपयोग गरेका उनले त्यही समयको सदुपयोग गरेका कारण रचनात्मक हुन प्रेरणा  बनेको छ।

इलामको महेन्द्र रत्न बहुमुखी क्यापम्समा अध्ययन गरिरहेका सुमन पनि महामारीले क्याम्पस बन्द भएपछि गाँउ नै गए । बिहान बेलुका थाला भकारो घाँस स्याउला त गर्थे तर दिन भने कटाउनै मुस्किल । यसबीच उनलाई केही नयाँ काम थालनी गर्ने सोच पलायो फलस्वरुप आफ्नोसानैदेखिको रहर अर्थात् चित्रकार बन्ने धोको पुरा गर्न उनले कम्मर कसे । तर निषेधाज्ञाका कारण चित्र कोर्न चाहिने सबै सामाग्री किन्न मिलेन । घरमै भएका केही सामाग्री प्रयोग गरेर उनले चित्र कोर्न थाले । सिक्ने क्रममा कहिले कलमले त कहिले कोइलाको साहयताले पनि चित्र कोरे ।

चित्रकला सुरुवात गर्दाको सुरुवाती दिनहरू सम्झदैँ सुमन भन्छन्, “निषेधाज्ञा नभएको भए म सायदै चित्रकार बन्ने थिएँ, मलाई कोरोनाले जन्माएको चित्रकार भन्दा हुन्छ ” सुरुवातमा केही चित्र कोरे परिवारलाई मन पर्‍यो । पारिवारिक ऊर्जाले उनलाई खुबै हौस्यायो । केही चित्र कोरेपछि उनले आफ्ना चित्रहरू सामाजिक सञ्जालमा पनि राख्न थाले । 

 कोरोनाको समयमा चित्रकला सिकेका सुमनलाई चित्र कोर्ने इच्छाले छाडेको छैन । स्थानीय एक विद्यालयमा अध्यापन गराउँदै आएका सुमन अहिले पनि फुर्सद निस्कने बित्तिकै पेन्सिल र कापी लिएर चित्र कोर्न बसिहाल्छन् । विद्यालयमा शिक्षक रहेका उनलाई विद्यार्थीले पनि खुब रुचाउँछन् ।

“चित्र देखाएर नै पढाउने गरेको छु, विद्यार्थीले पनि  एउटा तस्वीरले हजार शब्द बुझ्ने गर्छन् ” –  उनी भन्छन् ।

 सुमन आफू मात्र चित्र कोर्दैनन् उनीसँग चित्रकला सिक्न आउनेलाई पनि खुलेर सिकाउँछन् । उनले नै चित्रकला सिकाएका इलाम सन्दकपुरकै निशान निरौला पनि राम्रो चित्र बनाउने भइसके । काठमाडौंमा अध्ययन गरिरहेका उनी पढाई बाहेक केही समय निकालेर चित्र कोर्छन् । चित्र कोरेरै उनले आफूलाई चित्र कोर्न चाहिने सामाग्री जुटाउँछन् । चित्रकला सिक्न उनीसँग आउन चाहे अरुलाई पनि सिकाउने सुमन बताउँछन् । उनी भन्छन्, “नेपालमा चित्रकलाको महत्व बुझ्ने जमात कम छ, कोही यसको महत्व बुझेर सिक्न आउँछ भने म सिकाउँछु”

 सुमनको चित्रकला मन पराएर चित्र बनाइदिन अनुरोध गर्ने मानिसहरूको समूह पनि ठूलै छ । एउटा चित्र बनाएको १५ सयदेखि २५ सयसम्म लिएर उनी चित्र पनि बनाइदिन्छन् । यसरी चित्र बनाएर गरेको आम्दानीबाट चित्र कोर्न चाहिने सामाग्रीहरू र आफ्ना सामान्य आवश्यकता टर्ने गर्छ । उनी भन्छन्, “चित्र बनाएर ठूलो आम्दानी नभए पनि आफ्नो केही पहिचान बनेको छ र रहर पनि पुरा भएको छ।”

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *