‘नेपालमै बनेको, नव उद्यमी हाटबजार’ सपन्न
ललितपुर, चाकुपाटमा ‘नेपालमै बनेको, नव उद्यमी हाटबजार सपन्न भएको छ । चाकुपाटमा रहेको पासायार्डको कार्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा २५ भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राखिएका स्टलहरुमा हातबाट बुनिएका विभिन्न कपडाहरु, हस्तकला तथा चित्रकलाका सामग्रीहरुका साथै बिभिन्न फुडस्टलहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रम अवधिमा बालमैत्री कथा बाचन पनि गरिएको थियो। कार्यक्रममको दौरान ३ सय भन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको आयोजकले जानकारी दियो ।
कार्यक्रम पासायार्ड नेपाल र अन्तरप्रेरणा नेपालको संयुक्त आयोजनामा सञ्चालन भएको थियो । अन्तरप्रेरणाले यस्तो प्रकारको हाट बजार नियमित रुपमा गर्दै आइरहेकोमा पहिलो पटक पासायार्डसँग सहकार्यमा गरेको हो ।
हालै मात्र गहनाहरु बनाउने र अनलाइन मार्फत बिक्री गर्न सुरु गरेकी श्रीप्ती ज्वेल्सकी सुश्रीना मानन्धरले हाटबजारमा स्टल राख्न पाएकोमा खुशी व्यक्त गरिन् । “अपेक्षित रुपमा कमाइ त हुन सकेन तर हाटबजारमा आउनेहरुले मेरो उत्पादनहरु अवलोकन गर्नु भयो । कस्टमरसँग एक प्रकारको सम्बन्ध जोडीन पाएकोमा म खुशी छु ।” सुश्रीनाले बताइन् ।
आयोजक पासायार्ड नेपालका संस्थापक प्रदिप परियारका अनुसार आफ्नो उत्पादन भएता पनि त्यसलाई बेच्ने तथा प्रदर्शनी गर्ने उचित ठाउँ नपाएका उद्यमीहरुलाई यस कार्यक्रमले उपयुक्त अवसर दिएको विश्वास व्यक्त गरे ।
प्रदिप भन्छन्, “यस किसिमको कार्यक्रमले नव उद्यम प्रवर्द्धनलाई टेवा दिने हुँदा आगामी दिनमा पनि पासायार्ड नेपाल साथै अन्तरप्रेरणा नेपालले यस किसिमको कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै लैजाने छ ।”
पासायार्ड युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने हेतुले स्थापना गरिएको संस्था हो । यसले सन् २०१३ देखि उद्यमशीलतालाई प्रवर्द्धन गर्नको लागि आवश्यक श्रोत साधन उपलब्ध गराउँदै आएकोछ । त्यस्तै, अन्तरप्रेरणा उद्यमी उत्पादनको बृहत उद्देश्यले संचालनमा आएको संस्था हो । विगत ७ वर्षदेखि नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादनमा मद्दत पुर्याउने उद्देश्यका साथ अन्तरप्रेरणाले विभिन्न परियोजनाहरु गर्दै आइरहेको छ । यसले नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरुलाई नयाँ वा संचालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकताअनुरुप विभिन्न किसिमले सघाइरहेको छ ।