१५ पालिकामा ३० जनाका लागि रोजगारी खुल्यो, मासिक तलब ३५ हजारसम्म
काठमाडौं। रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहमा काम गर्ने गरी ३० जना कर्मचारीका लागि आवेदन खुला गरिएको छ। युवा नेतृत्वको संस्था ‘हामी दाजुभाइ’ ले युनिसेफ नेपालसँगको साझेदारीमा सञ्चालन हुने परियोजनाका लागि प्रमुख सामुदायिक परिचालक र सहायक सामुदायिक परिचालक पदमा कर्मचारी माग गरेको हो।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार प्रमुख सामुदायिक परिचालक १५ जना र सहायक सामुदायिक परिचालक १५ जना गरी कुल ३० जना आवश्यक छन्। दुवै पदमा प्रत्येक पालिकाका लागि एक–एक जना कर्मचारी नियुक्त गरिनेछ।
प्रमुख सामुदायिक परिचालकको मासिक तलब ३५ हजार रुपैयाँ र सहायक सामुदायिक परिचालकको मासिक तलब ३० हजार रुपैयाँ तोकिएको छ।
आवेदन दिने अन्तिम मिति २०८३ मंसिर ११ गते (२७ नोभेम्बर २०२६, शुक्रबार) रहेको छ।
कुन पदका लागि कति योग्यता र अनुभव चाहिन्छ?
१. प्रमुख सामुदायिक परिचालक (Lead Field Mobilizer)
यस पदमा १५ जना कर्मचारी आवश्यक छन्। प्रत्येक स्थानीय तहमा एक जना खटाइनेछ।
- मासिक तलब: ३५ हजार रुपैयाँ (ग्रस)
- न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण
- अनुभव: कम्तीमा ६ महिनाको कार्यअनुभव
- कामको अवधि: १० महिना (१ डिसेम्बर २०२६ देखि ३० सेप्टेम्बर २०२७ सम्म)
स्नातक तहमा अध्ययनरत उम्मेदवारलाई प्राथमिकता दिइनेछ। विपद्का समयमा समुदायस्तरमा काम गरेको वा स्थानीय तह तथा विभिन्न सरोकारवालासँग समन्वय गरेको अनुभव भएकालाई पनि प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
यस पदमा छनोट हुने कर्मचारीले स्थानीय तहका वडा तथा समुदायमा पुगेर सूचना प्रवाह गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, स्थानीय सरकारसँग समन्वय गर्ने, कार्यक्रमको योजना बनाउने तथा सहायक सामुदायिक परिचालकलाई परिचालन गर्ने जिम्मेवारी पाउनेछन्।
२. सहायक सामुदायिक परिचालक (Assistant Field Mobilizer)
यस पदमा पनि १५ जना कर्मचारी आवश्यक छन्। प्रत्येक स्थानीय तहमा एक जना खटाइनेछ।
- मासिक तलब: ३० हजार रुपैयाँ (ग्रस)
- न्यूनतम शैक्षिक योग्यता: कक्षा ११ उत्तीर्ण
- अनुभव: कम्तीमा ३ महिनाको कार्यअनुभव
- कामको अवधि: ६ महिना (१ डिसेम्बर २०२६ देखि ३१ मे २०२७ सम्म)
यस पदका लागि कक्षा १२ उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। त्यसैगरी विपद्का समयमा समुदायस्तरमा काम गरेको अनुभव भएकालाई पनि प्राथमिकता दिइनेछ।
छनोट भएका कर्मचारीले घरदैलो अभियान सञ्चालन गर्ने, समुदायबाट सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, जनचेतनामूलक सन्देश प्रवाह गर्ने, प्रतिवेदन तयार गर्ने र प्रमुख सामुदायिक परिचालकसँग मिलेर परियोजनाका गतिविधि सञ्चालन गर्नेछन्।
दुवै पदका लागि नेपालीमा टाइप गर्न सक्ने, प्रतिवेदन तयार गर्ने, कम्प्युटर चलाउन जान्ने र समुदायसँग प्रभावकारी रूपमा कुराकानी तथा समन्वय गर्न सक्ने क्षमता आवश्यक छ।
कुन–कुन स्थानीय तहमा रोजगारीको अवसर छ?
संस्थाले रसुवा, नुवाकोट र धादिङका पाँच–पाँच स्थानीय तहमा कर्मचारी परिचालन गर्ने जनाएको छ।
रसुवाका ५ स्थानीय तह: उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिका।
नुवाकोटका ५ स्थानीय तह: विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र लिखु गाउँपालिका।
धादिङका ५ स्थानीय तह: बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिका।
सम्बन्धित पालिकाको स्थायी बासिन्दा हुनुपर्ने
यस रोजगारीका लागि आवेदन दिने व्यक्ति आफूले आवेदन दिएको स्थानीय तहकै स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य सर्त राखिएको छ।
उदाहरणका लागि, विदुर नगरपालिकाका लागि आवेदन दिन चाहने व्यक्ति सोही नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ।
यसका साथै लैङ्गिक न्याय, बाल संरक्षण, युवा सहभागिता, समुदाय परिचालन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्ने रुचि भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।
संस्थाले सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायका उम्मेदवारलाई विशेष प्राथमिकता दिने जनाएको छ।
के काम गर्नुपर्नेछ?
छनोट भएका कर्मचारीहरूले स्थानीय समुदायमा पुगेर स्वास्थ्य, खानेपानी, सरसफाइ, हिंसा तथा दुर्व्यवहारबाट संरक्षण र विपद्का समयमा सही सूचनाको महत्त्वका विषयमा जनचेतना फैलाउनेछन्।
त्यसैगरी स्थानीय तहका कार्यक्रमसँग समन्वय गर्ने, समुदायका समस्या तथा आवश्यकता पहिचान गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, उजुरी संयन्त्रको विकासमा सहयोग गर्ने र कार्यक्रमका उपलब्धि तथा सिकाइको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि हुनेछ।
कसरी आवेदन दिने?
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित संस्थाको इमेल ठेगानामा आवेदन पठाउनुपर्नेछ।
आवेदन पठाउने इमेल: [email protected]
इमेल पठाउँदा Subject मा आफूले आवेदन दिन चाहेको पद उल्लेख गर्नुपर्नेछ। आफूले आवेदन दिने स्थानीय तहसमेत स्पष्ट रूपमा उल्लेख गर्नु उपयुक्त हुनेछ।
आवेदन दिने अन्तिम मिति: २०८३ मंसिर ११ गते, शुक्रबार (२७ नोभेम्बर २०२६)।
थप जानकारीका लागि हामी दाजुभाइ, ज्वागल, ललितपुरमा सम्पर्क गर्न वा ९८५१४०८४११ मा फोन गर्न सकिनेछ।
संस्थाले परियोजनाको अवस्था र कर्मचारीको कार्यसम्पादनका आधारमा कामको अवधि थप हुन सक्ने पनि जनाएको छ।
