गण्डकी प्रदेशमा सीप तालिमका प्रशिक्षकको रोस्टर खुला, विभिन्न क्षेत्रका दक्ष व्यक्तिले सूचीकृत हुन सक्ने
गण्डकी प्रदेश सरकारअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विभिन्न व्यावसायिक तथा सीपमूलक तालिमका लागि प्रशिक्षकको रोस्टर (Roster) तयार गर्न आवेदन आह्वान गरेको छ।
केन्द्रले २०८३ भदौ १८ गते पहिलोपटक सूचना प्रकाशित गर्दै विभिन्न प्राविधिक, व्यावसायिक तथा सेवा क्षेत्रको योग्यता र अनुभव भएका नेपाली नागरिकलाई प्रशिक्षक सूचीमा सूचीकृत हुन आग्रह गरेको हो।
केन्द्रको चालु आर्थिक वर्षको स्वीकृत तालिम कार्यक्रमअन्तर्गत विद्युत जडान, प्लम्बिङ, ब्युटिपार्लर, कपाल काट्ने, इलेक्ट्रोनिक्स, होम एप्लायन्स मर्मत, मोटरसाइकल मर्मत, कटाइ–सिलाइ, कम्प्युटर सफ्टवेयर/हार्डवेयर, सुरक्षा गार्ड, मन्टेश्वरी, कुक, अटोमोबाइल, जुत्ता–चप्पल, बाजावादन, मिनी टिलर (हाते ट्रयाक्टर), वारिङ मर्मत लगायतका क्षेत्रमा प्रशिक्षक आवश्यक पर्ने उल्लेख छ।
त्यसैगरी कृषि, निर्माण, पर्यटन, होटल व्यवसाय तथा अन्य सेवा क्षेत्र मा सीप र अनुभव भएका व्यक्तिले पनि प्रशिक्षकको रोस्टरमा सूचीकृत हुन सक्ने केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार छोटो तथा लामो अवधिका व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालनका क्रममा प्रशिक्षकका रूपमा काम गर्न चाहने र आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई ‘छोटो तथा लामो अवधिको व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ अनुसार प्रशिक्षक सूचीमा समावेश गरिनेछ।
रोस्टरमा सूचीकृत हुन आवश्यक कागजात
इच्छुक व्यक्तिले प्रशिक्षक सूचीमा सूचीकृत हुनका लागि मुख्य रूपमा निम्न कागजात तयार गर्नुपर्नेछ:
- नेपाली नागरिकताको प्रमाणपत्रको १ प्रति प्रतिलिपि
- शैक्षिक योग्यताका प्रमाणपत्रको १/१ प्रति प्रतिलिपि
- सीप परीक्षण उत्तीर्ण गरेको प्रमाणपत्रको १/१ प्रति प्रतिलिपि
- PAN (स्थायी लेखा नम्बर)
- सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव प्रमाणपत्रको प्रतिलिपि
तर परम्परागत ज्ञान, सीप तथा प्रविधिको हस्तान्तरणसम्बन्धी तालिमका प्रशिक्षकका लागि सीप परीक्षण प्रमाणपत्र अनिवार्य नहुने सूचनामा उल्लेख छ।
कहाँ सम्पर्क गर्ने?
रोस्टरमा सूचीकृत हुन इच्छुकले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा मा सम्पर्क गर्न सक्नेछन्।
फोन: ०६१–४५०५११
इमेल: [email protected]
वेबसाइट: www.vsdtc.gandaki.gov.np

