१०० जनाका लागि चार निःशुल्क सीपमूलक तालिम ४० वर्ष सम्मले  आवेदन दिन पाउने

जीविको २०८३ साउन २७ गते ६:३६

१०० जनाका लागि चार निःशुल्क सीपमूलक तालिम, कक्षा ८ उत्तीर्णले आवेदन दिन पाउने

काठमाडौं। बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकले १०० जनाका लागि चार विधामा निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ।

 

सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार केश श्रृङ्गार तथा सौन्दर्य, सिलाइ कटाइ, प्लम्बिङ र विद्युत् जडानसम्बन्धी आधारभूत तालिमका लागि आवेदन माग गरेको हो।

जीविकोले तालिम आयोजकसँग गरेको सम्पर्कमा चारवटा तालिममा गरी कुल १०० जनालाई सहभागी गराइने जानकारी प्राप्त भएको छ। तालिममा सहभागी प्रशिक्षार्थीबाट कुनै शुल्क लिइने छैन।

कुन-कुन तालिम सञ्चालन हुँदैछन्?

चारवटा विषयमा तीनमहिने सीपमूलक तालिम सञ्चालन हुँदैछ:

  • केश श्रृङ्गार तथा सौन्दर्य बेसिक
  • सिलाइ कटाइ बेसिक
  • प्लम्बिङ बेसिक
  • विद्युत् जडान बेसिक

प्रत्येक तालिमको अवधि तीन महिना अर्थात् ३९० कार्यघण्टा हुनेछ। कार्यालयका अनुसार दैनिक औसत चारदेखि छ घण्टासम्म तालिम सञ्चालन गरिनेछ।

कसले आवेदन दिन सक्छ?

तालिमका लागि उम्मेदवारले कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्छ। त्यस्तै, आवेदन दिने व्यक्तिको उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

सहभागी छनोट गर्दा गरिब, विपन्न, दलित, महिला, पिछडिएको वर्ग वा समुदाय, अपाङ्गता भएका व्यक्ति, जनआन्दोलनमा घाइते, शहीद परिवार तथा एकल महिलालाई प्राथमिकता दिइनेछ।

आवेदन कसरी दिने?

इच्छुक उम्मेदवारले तोकिएको दरखास्त फाराम भरेर २०८३ भदौ ३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

आवेदन फाराम तीन तरिकाबाट प्राप्त गर्न सकिन्छ। सामाजिक विकास कार्यालय, धुलिखेलमा उपस्थित भएर लिन सकिन्छ, कार्यालयको आधिकारिक वेबसाइट www.sdokavre.bagamati.gov.np बाट डाउनलोड गर्न सकिन्छ वा सम्बन्धित तालिम सञ्चालन हुने नगरपालिका वा वडा कार्यालयबाट प्राप्त गर्न सकिन्छ।

तालिमका लागि आवेदन शुल्क लाग्दैन।

आवेदनसँग के-के कागजात बुझाउने?

आवेदन फारामसँग निम्न कागजात बुझाउनुपर्नेछ:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि — १ प्रति
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि — १ प्रति
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो — ४ प्रति

छनोट कसरी हुन्छ?

तालिममा सहभागी हुने उम्मेदवारको छनोट अन्तर्वार्तामार्फत गरिनेछ। अन्तर्वार्तामा जाँदा उम्मेदवारले आवेदनमा पेश गरेका कागजातका सक्कल प्रमाणपत्रसमेत साथमा लैजानुपर्नेछ।

तालिमअनुसार अन्तर्वार्ता फरक मिति र स्थानमा हुनेछ।

केश श्रृङ्गार तथा सौन्दर्य बेसिक:
२०८३ भदौ ५ गते बिहान १० बजेदेखि सामाजिक विकास कार्यालय, धुलिखेलमा।

सिलाइ कटाइ बेसिक:
२०८३ भदौ ४ गते बिहान १० बजेदेखि सामाजिक विकास कार्यालय, धुलिखेलमा।

प्लम्बिङ बेसिक:
२०८३ भदौ ५ गते बिहान ११ बजेदेखि बनेपा नगरपालिका वडा नं. २ मा।

विद्युत् जडान बेसिक:
२०८३ भदौ ५ गते बिहान ११ बजेदेखि धुलिखेल नगरपालिका, धुलिखेलमा।

छनोट भएका उम्मेदवारलाई तालिम सुरु हुने मिति नतिजा प्रकाशनकै दिन जानकारी गराइने सूचनामा उल्लेख छ।

आधिकारिक जानकारीका लागि कहाँ सम्पर्क गर्ने?

तालिमबारे थप जानकारीका लागि सूचनामा विषयअनुसार निम्न सम्पर्क नम्बर दिइएको छ:

  • केश श्रृङ्गार तथा सौन्दर्य: अनुपा घिमिरे — 9845077366
  • सिलाइ कटाइ: सम्बन्धित प्रशिक्षक/सामाजिक विकास कार्यालय — 9864848369
  • प्लम्बिङ: प्रशिक्षक नवराज पौडेल — 9845147440
  • विद्युत् जडान: प्रशिक्षक शम्भु आचार्य — 9841008997

आवेदन फाराम तथा थप आधिकारिक जानकारीका लागि सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक वा कार्यालयको वेबसाइटमा समेत सम्पर्क गर्न सकिन्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित