काम गरेर सिकेको सीपको प्रमाणपत्र लिन अवसर, देशभर सीप परीक्षणका लागि आवेदन खुला
काम गरेर सिकेको सीपको प्रमाणपत्र लिन अवसर, देशभर सीप परीक्षणका लागि आवेदन खुला
काठमाडौं। कुनै पेशामा काम गरेर सीप हासिल गर्नुभएको छ तर त्यसको औपचारिक प्रमाणपत्र छैन भने राष्ट्रिय सीप परीक्षणमा सहभागी भएर आफ्नो सीप प्रमाणित गर्ने अवसर खुलेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board–NSTB) ले पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षणका लागि आवेदन आह्वान गरेको हो। समितिले साउन २१ गते सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानमा तोकिएका केन्द्रमार्फत आवेदन लिन सुरु गरेको छ।
यो पनि हेर्नुहोस् – यो साताका अवसर
यो निःशुल्क तालिम वा नयाँ सीप सिकाउने कार्यक्रम भने होइन। पहिले नै कुनै पेशामा काम गरेर वा तालिमसँगै कामको अनुभव हासिल गरेका व्यक्तिको वास्तविक सीप परीक्षण गरी राष्ट्रिय व्यावसायिक सीप मापदण्डअनुसार प्रमाणित गर्ने प्रक्रिया हो।
सूचनाअनुसार व्यावसायिक अनुभव भएका, रोजगारी वा स्वरोजगारमा संलग्न तथा वैदेशिक रोजगारीबाट फर्किएका अनुभवी नेपाली नागरिकले आफ्नो योग्यता पुगेको पेशा र तहमा आवेदन दिन सक्नेछन्।
कुन–कुन पेशामा सीप परीक्षण हुँदैछ?
सीप परीक्षणका लागि देशका विभिन्न केन्द्रमा फरक–फरक पेशा तोकिएका छन्। तीमध्ये बिल्डिङ इलेक्ट्रिसियन, इन्डस्ट्रियल इलेक्ट्रिसियन, रेफ्रिजरेसन एन्ड एसी मेकानिक, मोटरसाइकल सर्भिस मेकानिक, लाइट भेहिकल मेकानिक, कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन, टेलर, प्लम्बर, वेल्डर, ब्रिक लेयर मेसन, बार्बर, बारिस्ता, बेकर, वेटर, कुक, हाउसकिपिङ क्लिनर, फ्रन्ट अफिस असिस्टेन्ट, मोबाइल फोन रिपेयर टेक्निसियन, कृषि तथा पशुपालनसम्बन्धी विभिन्न पेशा लगायत छन्।
सबै केन्द्रमा सबै पेशाको परीक्षा भने सञ्चालन हुँदैन। आवेदन दिनुअघि आफूले आवेदन दिन चाहेको पेशा र तह कुन केन्द्रमा उपलब्ध छ भन्ने कुरा सूचना हेरेर यकिन गर्नुपर्नेछ।
तह १ का लागि कस्तो योग्यता चाहिन्छ?
तह १ को सीप परीक्षणका लागि सम्बन्धित पेशाको ज्ञान र सीपसँगै कम्तीमा एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
सम्बन्धित पेशाको तालिम लिएको अवस्थामा तालिमसँगै कम्तीमा ६ महिनाको कार्य अनुभव भएकाले पनि तह १ मा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
तह २ का लागि के चाहिन्छ?
तह २ का लागि सम्बन्धित पेशाको ज्ञान र सीपसँगै कम्तीमा तीन वर्षको कार्य अनुभव आवश्यक छ।
अर्को विकल्पका रूपमा सम्बन्धित पेशामा तह १ को सीप परीक्षण उत्तीर्ण गरी थप एक वर्षको कार्य अनुभव भएकाले पनि तह २ का लागि आवेदन दिन सक्नेछन्।
आवेदकको १६ वर्ष उमेर पूरा भएपछि हासिल गरेको कार्य अनुभव मात्र गणना हुने सूचनामा उल्लेख छ।
शुल्क कति लाग्छ?
तह १ का लागि नियमित शुल्क ५०० रुपैयाँ र सहुलियत शुल्क ४०० रुपैयाँ तोकिएको छ। तह २ का लागि नियमित शुल्क १ हजार २०० रुपैयाँ र सहुलियत शुल्क ७०० रुपैयाँ छ।
महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारले तोकेको सहुलियत समूहमा पर्ने आवेदकले आवश्यक प्रमाणित कागजात पेस गरेमा सहुलियत शुल्कमा आवेदन दिन सक्नेछन्।
भदौ १० सम्म आवेदन
आवेदन फाराम २०८३ भदौ १० गतेभित्र सम्बन्धित तोकिएको केन्द्रमा बुझाइसक्नुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन बुझाउन सकिने व्यवस्था छ।
आवेदन फाराम राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइट www.nstb.org.np बाट डाउनलोड गर्न वा तोकिएका आवेदन संकलन केन्द्रबाट लिन सकिनेछ।
आवेदनसँग हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित तालिम वा कार्य अनुभव पुष्टि गर्ने प्रमाणपत्र वा कागजात पेस गर्नुपर्नेछ।
नेपाल सरकार, सरकारी वा अर्धसरकारी निकाय अथवा नेपाल सरकारमा दर्ता भई VAT/PAN नम्बर प्राप्त निजी रोजगारदाता, उद्योग वा व्यवसायबाट प्राप्त अनुभव प्रमाणपत्र पनि पेस गर्न सकिने सूचनामा उल्लेख छ। प्रमाणपत्रमा कुन पेशामा कति समय काम गरेको हो भन्ने अवधि स्पष्ट खुल्नुपर्नेछ।
विदेशबाट फर्किएकाले के कागजात बुझाउने?
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले विदेशमा सम्बन्धित पेशामा काम गरेको अनुभवपत्र, पासपोर्ट तथा भिसाको प्रतिलिपि पेस गर्नुपर्नेछ। अनुभवपत्र अंग्रेजीबाहेक अन्य भाषामा भए त्यसको अंग्रेजी अनुवाद गरिएको प्रति पनि आवश्यक पर्ने सूचनामा उल्लेख छ।
पहिले सीप परीक्षणमा सहभागी भइसकेका र पुनः परीक्षा दिन चाहनेले पुरानो रजिस्ट्रेसन नम्बर उल्लेख गरी फाराममा ‘पुनःपरीक्षण’ सम्बन्धी विवरण खुलाउनुपर्नेछ।
देशभर कहाँ–कहाँबाट आवेदन दिन सकिन्छ?
NSTB ले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा काठमाडौं क्षेत्रसमेत गरी १९ वटा आवेदन संकलन तथा सीप परीक्षण केन्द्र तोकेको छ।
इटहरी, धनुषा, लहान, जनकपुर, हेटौंडा, बनेपा, पनौती, पोखरा, देउखुरी, तामनगर, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र टीकापुरमा केन्द्र तोकिएका छन्। काठमाडौं क्षेत्रमा बालाजु, साँखु र चन्द्रागिरिका प्राविधिक शिक्षालय तथा राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीबाट पनि विभिन्न पेशाका लागि आवेदन लिन सकिने सूचनामा उल्लेख छ। पोखरामा प्रदेश कार्यालयसँगै पोखरा प्राविधिक शिक्षालय पनि छुट्टै केन्द्रका रूपमा रहेको छ।
पोखरा प्राविधिक शिक्षालयमा होटल तथा हस्पिटालिटी क्षेत्रका सीप परीक्षण
पोखरा प्राविधिक शिक्षालय, फूलबारीले पनि छुट्टै सूचना जारी गर्दै हस्पिटालिटी क्षेत्रका विभिन्न पेशामा आवेदन माग गरेको छ।
त्यहाँ कमी–III तह १, कमी–II तह २, बेकर तह १, वेटर तह १ र २, बारिस्ता तह १, बार टेन्डर तह १, हाउसकिपिङ क्लिनर तह १, फ्रन्ट अफिस असिस्टेन्ट तह १ र नेपाली कुजिन कुक तह १ का लागि आवेदन दिन सकिनेछ।
आवेदन भदौ १० गतेसम्म शिक्षालयमा बुझाउनुपर्नेछ। थप जानकारी पोखरा प्राविधिक शिक्षालयको वेबसाइट www.ptspokhara.edu.np बाट लिन सकिनेछ।
पनौतीमा सवारी मर्मतको सीप परीक्षण
काभ्रेपलाञ्चोकको पनौती प्राविधिक शिक्षालयले पनि सवारी मर्मतसम्बन्धी सीप परीक्षणका लागि आवेदन खोलेको छ।
त्यहाँ लाइट भेहिकल/मोटरसाइकल मेकानिक तह २ र लाइट भेहिकल/मोटरसाइकल सर्भिस मेकानिक तह १ मा आवेदन दिन सकिनेछ। आवेदन भदौ १० गतेसम्म शिक्षालयमै बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
सीप परीक्षणको मिति, समय र स्थानबारे आवेदकलाई पछि जानकारी गराइनेछ। कुनै पेशामा स्वीकृत आवेदन संख्या तीनभन्दा कम भए उक्त पेशाको सीप परीक्षण सञ्चालन नहुन सक्ने पनि राष्ट्रिय सूचनामा उल्लेख गरिएको छ।
