राससमा १०३ जना स्थानीय समाचारदाता र फोटो पत्रकारका लागि अवसर

जीविको २०८३ असार २६ गते ७:२५

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक वर्ष २०८३/८४ का लागि देशका विभिन्न जिल्ला तथा प्रदेश राजधानीमा स्थानीय समाचारदाता (स्ट्रिङ्गर) र फोटो पत्रकार नियुक्त गर्न आवेदन आह्वान गरेको छ।

राससले असार २६ गते सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो। आवेदन २०८३ असार मसान्तभित्र पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

कुन स्थानमा कति जनाको माग?

राससले काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लामा प्रत्येक जिल्लाका लागि एक–एक जना स्थानीय समाचारदाता माग गरेको छ।

संघीय राजधानीअन्तर्गत काठमाडौंमा ६ जना स्थानीय समाचारदाता र ४ जना फोटो पत्रकार गरी १० जना माग गरिएको छ। ललितपुरमा २ जना स्थानीय समाचारदाता र एक जना फोटो पत्रकार तथा भक्तपुरमा एक जना स्थानीय समाचारदाता र एक जना फोटो पत्रकार माग गरिएको छ।

त्यस्तै, सातै प्रदेशका राजधानीमा एक–एक जना स्थानीय समाचारदाता र एक–एक जना फोटो पत्रकार नियुक्त गरिनेछ। यसअनुसार विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा गरी १४ जना माग गरिएको हो।

सूचनामा उल्लेखित विवरणअनुसार राससले स्थानीय समाचारदाता र फोटो पत्रकार गरी कुल १०३ जनाका लागि आवेदन खुलाएको छ।

आवश्यक शैक्षिक योग्यता र अनुभव

आवेदकले निम्नमध्ये कुनै एक योग्यता पूरा गरेको हुनुपर्नेछः

  • प्रवीणता प्रमाणपत्र तह वा कक्षा १२ उत्तीर्ण गरी पत्रकारितामा कम्तीमा तीन वर्ष काम गरेको। पत्रकारिता विषय अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ।
  • एसएलसी वा एसईई उत्तीर्ण गरी पत्रकारितामा कम्तीमा पाँच वर्ष काम गरेको।
  • स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी पत्रकारितामा कम्तीमा एक वर्षको अनुभव हासिल गरेको।

आवेदक प्रचलित कानुनअनुसार कुनै फौजदारी वा अन्य अपराधमा सजाय नपाएको हुनुपर्नेछ।

समावेशी समूह र मल्टिमिडिया सीपलाई प्राथमिकता

रासस स्थानीय समाचारदाता (स्ट्रिङ्गर) सम्बन्धी निर्देशिका–२०८० अनुसार नियुक्ति प्रक्रिया सञ्चालन गरिने सूचनामा उल्लेख छ।

समाचारदाता नियुक्त गर्दा समावेशी सिद्धान्तअनुसार महिला, मधेसी, दलित, अल्पसङ्ख्यक, जनजाति तथा पिछडिएको क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। मल्टिमिडियासम्बन्धी ज्ञान तथा सीप भएका व्यक्तिलाई पनि प्राथमिकता दिइने राससले जनाएको छ।

आवेदनसँगै पेस गर्नुपर्ने कागजात

आवेदकले आफू कुन जिल्ला वा प्रदेश राजधानीका लागि समाचारदाता वा फोटो पत्रकार बन्न चाहेको हो, सो विवरण स्पष्ट रूपमा खुलाइएको निवेदन पेस गर्नुपर्नेछ।

निवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, तालिम तथा पत्रकारिताको अनुभव पुष्टि गर्ने प्रमाणपत्रका प्रतिलिपि र व्यक्तिगत विवरण संलग्न गर्नुपर्नेछ।

नियुक्ति र पारिश्रमिकको व्यवस्था

निर्देशिकाअनुसार आवश्यक योग्यता पुगेका व्यक्तिलाई जिम्मेवारी र कार्यक्षेत्रका आधारमा जिल्ला, उपत्यका वा स्थानीय समाचारदाताका रूपमा नियुक्त गरिनेछ।

नियुक्त भएका स्थानीय समाचारदाता र फोटो पत्रकारको पारिश्रमिक राससको सम्बन्धित पारिश्रमिक समितिले निर्धारण गरेअनुसार हुनेछ।

सेवा अवधि एक वर्ष

नियुक्त व्यक्तिको सेवा अवधि बढीमा एक वर्षको हुनेछ। आर्थिक वर्षको जुनसुकै समयमा नियुक्त भए पनि सेवा अवधि असार मसान्तमा समाप्त भएको मानिने सूचनामा उल्लेख छ।

तोकिएअनुसार आवश्यक समाचार नपठाएमा, कानुनअनुसार फौजदारी वा अन्य अपराधमा सजाय पाएमा, नेपालको हितविपरीत कार्य गरेको प्रमाणित भएमा वा राससका ऐन, नियमावली, विनियमावली, निर्देशिका र कार्यविधिविपरीत काम गरेमा नियुक्ति अन्त्य गर्न सकिनेछ।

आवेदन राष्ट्रिय समाचार समिति, केन्द्रीय कार्यालय, भद्रकाली प्लाजा, काठमाडौंमा पेस गर्न सकिनेछ। थप जानकारीका लागि राससको फोन नम्बर ०१–५३२१७२४ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *