५ नगरपालिकामा ‘म्युनिसिपल इनोभेसन फेलोशिप’ खुल्यो, मासिक ६२ हजार रुपैयाँ सुविधा

जीविको २०८३ असार २४ गते १०:०९

काठमाडौं । यूडीएएन परियोजनाअन्तर्गत कैलाली र कञ्चनपुरका पाँच स्थानीय तहमा काम गर्ने गरी ‘म्युनिसिपल इनोभेसन फेलोशिप’का लागि आवेदन आह्वान गरिएको छ। युवा, डिजिटल प्रविधि, स्थानीय शासन, उद्यमशीलता र नवप्रवर्तनमा रुचि भएका नेपाली युवाले यो फेलोशिपका लागि आवेदन दिन सक्नेछन्।

सूचनाअनुसार यो फेलोशिपको अवधि ८ महिना रहनेछ। हालको चरणमा पाँच जना फेलो छनोट गरिनेछ, जसअनुसार प्रत्येक नगरपालिकामा एक–एक जना फेलो खटाइनेछ। आवेदन दिने अन्तिम मिति २१ जुलाई २०२६ तोकिएको छ।

यो फेलोशिप यूडीएएन अर्थात् Unleashing Digital Acceleration and Ambition of Nepali Youth परियोजनाअन्तर्गत सञ्चालन हुन लागेको हो। परियोजना Youth Innovation Lab को नेतृत्वमा Heifer Project Nepal, NAAMII र Women In Animation सँगको सहकार्यमा तथा युरोपेली संघको सहयोगमा कार्यान्वयन भइरहेको छ। परियोजनाको उद्देश्य नेपाली युवालाई डिजिटल अर्थतन्त्रसँग जोड्ने, सीप विकास गर्ने, रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्ने र स्थानीय तहमा डिजिटल नवप्रवर्तनलाई संस्थागत बनाउने रहेको छ।

कहाँ–कहाँ फेलो खटाइनेछ ?

छनोट भएका फेलोहरू कञ्चनपुर र कैलालीका पाँच स्थानीय तहमा खटाइनेछन्। कञ्चनपुरमा पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका कार्यक्षेत्र तोकिएको छ। त्यस्तै, कैलालीमा टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका कार्यक्षेत्र तोकिएको छ।

फेलोको मुख्य काम के हुनेछ ?

फेलोहरूले सम्बन्धित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, नगरपालिका कर्मचारी, युवा समूह, सहकारी, विद्यालय, उद्यमी, नागरिक संस्था तथा समुदायसँग मिलेर डिजिटल साक्षरता, एआई सचेतना, साइबर सुरक्षा, डिजिटल अधिकार, मिडिया तथा सूचना साक्षरता, डाटा सुरक्षा र प्रविधिको जिम्मेवार प्रयोगसम्बन्धी गतिविधि सञ्चालन गर्नेछन्।

त्यस्तै, स्थानीय तहमा कृषि, पशुपालन, सार्वजनिक सेवा प्रवाह, डाटा व्यवस्थापन, डिजिटल शासन, युवा रोजगारी र उद्यम विकाससँग सम्बन्धित चुनौती पहिचान गरी समाधानका लागि युवालाई नवप्रवर्तनात्मक सोच, ह्याकाथन, बुटक्याम्प तथा अन्य गतिविधिसँग जोड्ने काम पनि फेलोले गर्नेछन्।

फेलोहरूले सहकारी, कृषक समूह, उत्पादक समूह र स्थानीय उद्यमीहरूको नक्सांकन गरी उनीहरूलाई डिजिटल रेकर्ड, बजार सूचना, डिजिटल वित्तीय साक्षरता, एग्री–टेक र उद्यमशीलता सम्बन्धी आधारभूत सहयोग तथा अभिमुखीकरणमा पनि सघाउनेछन्।

कसले आवेदन दिन सक्छन् ?

आवेदकसँग सूचना प्रविधि, कम्प्युटर साइन्स, डाटा साइन्स, कृषि, पशुपालन, वातावरण विज्ञान, विकास अध्ययन, व्यवसाय विकास, सार्वजनिक नीति, स्थानीय शासन, सामाजिक कार्य वा डिजिटल सिकाइ, नवप्रवर्तन, उद्यमशीलता, सामुदायिक विकास वा स्थानीय शासनसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदकसँग डिजिटल उपकरण, कम्प्युटर एप्लिकेसन, एमएस अफिस वा गुगल वर्कस्पेस, इन्टरनेटमा आधारित सिकाइ प्लेटफर्म तथा डिजिटल सञ्चार उपकरणको आधारभूत ज्ञान हुनुपर्नेछ। तालिम सहजीकरण, डिजिटल साक्षरता, युवा परिचालन, सामुदायिक संलग्नता, उद्यमशीलता, ह्याकाथन, बुटक्याम्प, स्टार्टअप, सहकारी वा स्थानीय शासनमा रुचि वा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

नेपाली भाषामा राम्रो सञ्चार, सहजीकरण र दस्तावेजीकरण गर्न सक्ने क्षमता आवश्यक छ। अंग्रेजी भाषाको कार्यगत ज्ञान आवश्यक हुने र स्थानीय भाषाको ज्ञानलाई थप लाभका रूपमा लिइनेछ।

महिला र सीमान्तकृत समुदायलाई विशेष प्रोत्साहन

सूचनाअनुसार महिला, सीमान्तकृत समुदायका युवा, आदिवासी जनजाति, दलित समुदाय, अपांगता भएका व्यक्ति तथा ग्रामीण वा दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई आवेदन दिन विशेष प्रोत्साहन गरिएको छ। सम्बन्धित परियोजना नगरपालिका आसपासका स्थानीय उम्मेदवार वा फेलोशिप अवधिभर सोही स्थानीय तहमा बस्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख छ।

एआई, कोडिङ, एनिमेसन, एग्री–टेक, सहकारी डिजिटलाइजेसन, डिजिटल वित्तीय साक्षरता, उद्यमशीलता सहयोग, युवा कार्य, सहकारी वा नगरपालिका डिजिटल शासनसँग सम्बन्धित अनुभव भएका उम्मेदवारलाई थप लाभ हुने सूचनामा उल्लेख छ।

मासिक सुविधा कति ?

छनोट भएका प्रत्येक फेलोलाई मासिक ६२ हजार रुपैयाँ सुविधा उपलब्ध गराइनेछ। यो रकममा पारिश्रमिक र यातायात सुविधा समावेश हुने तथा लागू हुने कर कट्टी हुने उल्लेख छ। साथै, दुर्घटना बीमा सुविधा पनि उपलब्ध गराइनेछ।

यसका साथै फेलोहरूले एआई, डिजिटल अधिकार, साइबर सुरक्षा, इनोभेसन हब व्यवस्थापन र यूडीएएन कार्यान्वयन पद्धतिसम्बन्धी पाँच दिने आवासीय तालिम पाउनेछन्। फेलोशिप अवधिमा प्राविधिक मार्गदर्शन, कोचिङ, नगरपालिका शासन, सहकारी, युवा नवप्रवर्तन, एग्री–टेक, डिजिटल समावेशीकरण र उद्यमशीलता इकोसिस्टमबारे व्यावहारिक अनुभव पनि प्राप्त हुनेछ।

फेलोशिप सन्तोषजनक रूपमा पूरा गरेपछि आवश्यक प्रतिवेदन तथा कार्यसम्पादनका आधारमा प्रमाणपत्र वा फेलोशिप पूरा गरेको पत्र प्रदान गरिनेछ।

आवेदनका लागि आवश्यक कागजात

आवेदन दिन इच्छुक व्यक्तिले अद्यावधिक CV, फेलोशिपप्रतिको रुचि स्पष्ट पार्ने छोटो प्रेरणा-पत्र, शैक्षिक प्रमाणपत्र वा ट्रान्सक्रिप्टको प्रतिलिपि, नागरिकता प्रमाणपत्र वा वैध परिचयपत्र, उपलब्ध भएमा सम्बन्धित अनुभव प्रमाणपत्र र एक सिफारिस पत्र पेश गर्नुपर्नेछ। सिफारिस पत्र सम्भव भएसम्म शैक्षिक क्षेत्रबाट हुनु राम्रो मानिएको छ।

कसरी आवेदन दिने ?

इच्छुक र योग्य उम्मेदवारले https://heiferprojectnepal.org/vacancy/terms-of-reference-for-municipal-innovation-fellowship/  ‘Apply Now’ लिंकमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन २१ जुलाई २०२६ भित्र पेश गरिसक्नुपर्नेछ। डिजिटल सीप, स्थानीय शासन, युवा सहभागिता, उद्यमशीलता र समुदायमा आधारित नवप्रवर्तनमा रुचि भएका युवाका लागि यो फेलोशिप स्थानीय तहसँग प्रत्यक्ष काम गर्दै सिक्ने र योगदान गर्ने अवसरका रूपमा देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *