सीटीईभीटी सुदूरपश्चिममा २१ निःशुल्क छात्रवृत्ति सिट खाली, असार १९ सम्म आवेदन दिन पाइने
धनगढी। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० सुदूरपश्चिम प्रदेश कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहका विभिन्न कार्यक्रममा रिक्त रहेका वर्गीकृत ९निःशुल्क० छात्रवृत्ति कोटामा आवेदन दिने म्याद थप गरेको छ।
प्रदेश कार्यालय धनगढी, कैलालीले प्रकाशित गरेको सूचनाअनुसार शैक्षिक वर्ष २०८३/०८४ का लागि सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न शिक्षालय तथा कलेजहरूमा रिक्त रहेका छात्रवृत्ति सिटमा २०८३ असार १९ गतेसम्म आवेदन दिन सकिनेछ।
सीटीईभीटीले यसअघि २०८३ जेठ २० गतेको सूचनाअनुसार भर्ना सिफारिस गरिएको नतिजा सूची प्रकाशित गरेको थियो। सो सूचीमा मुख्य उम्मेदवारबाहेक पास लिस्टमा रहेका सम्बन्धित कार्यक्रमका इच्छुक परीक्षार्थीलाई रिक्त कोटामा आवेदन दिन आह्वान गरिएको हो।
प्रदेश कार्यालयका अनुसार यसअघि प्रकाशित सूचनामा केही कार्यक्रममा आवेदन संख्या न्यून परेको, कोटा फरक परेको र सामान्य चिकित्सा कार्यक्रममा पुनः कोटा रिक्त रहेको जानकारी प्राप्त भएकाले आवेदन माग गर्ने म्याद थप गरिएको हो। कार्यालयले रीत नपुगेका र समयमै दर्ता नभएका आवेदनमाथि कुनै कारबाही नहुने जनाएको छ।
कुन कार्यक्रममा कति सिट खाली?
सूचनाअनुसार सिभिल इन्जिनियरिङ, ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा र फार्मेसी गरी जम्मा २१ वटा निःशुल्क छात्रवृत्ति सिट रिक्त छन्।
| कार्यक्रम | रिक्त सिट |
|---|---|
| सिभिल इन्जिनियरिङ | ३ |
| ल्याब टेक्नोलोजी | ३ |
| सामान्य चिकित्सा | ७ |
| फार्मेसी | ८ |
| जम्मा | २१ |
सिभिल इन्जिनियरिङमा ३ सिट
सिभिल इन्जिनियरिङतर्फ सेती प्राविधिक शिक्षालय, दिपायल डोटीमा खुल्ला र पिछडिएको कोटामा १/१ सिट खाली छ। फारवेस्ट टेक्निकल कलेज, कैलालीमा खुल्लातर्फ १ सिट रिक्त छ।
ल्याब टेक्नोलोजीमा ३ सिट
ल्याब टेक्नोलोजीतर्फ शैलेश्वरी फारवेस्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, धनगढी कैलालीमा खस आर्य कोटामा १ सिट रिक्त छ। महाकाली बहुप्राविधिक शिक्षालय, कञ्चनपुरमा खुल्ला र महिला कोटामा १/१ सिट गरी २ सिट खाली छन्।
सामान्य चिकित्सामा ७ सिट
सामान्य चिकित्सातर्फ मंगलसेन बहुप्राविधिक शिक्षालय, अछाममा दलित कोटामा १ सिट रिक्त छ। भागेश्वर एकेडेमी फर हेल्थ साइन्समा खुल्ला र मधेसी कोटामा १/१ सिट छ।
त्यस्तै, फारवेस्ट स्कूल अफ मेडिसिनमा खुल्लातर्फ १ सिट, खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साइन्समा महिलातर्फ १ सिट, महाकाली बहुप्राविधिक शिक्षालय, कञ्चनपुरमा खुल्लातर्फ १ सिट र नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस प्रा.लि.मा खुल्लातर्फ १ सिट रिक्त छ।
फार्मेसीमा ८ सिट
फार्मेसीतर्फ मंगलसेन बहुप्राविधिक शिक्षालय, अछाममा पिछडिएको र खुल्ला कोटामा १/१ सिट खाली छ। शैलेश्वरी फारवेस्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, धनगढी कैलालीमा आदिवासी जनजाति कोटामा १ सिट रिक्त छ।
नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस प्रा.लि.मा खुल्लातर्फ १ सिट, भिमदत्त बहुप्राविधिक शिक्षालय, पाटन बैतडीमा खुल्लातर्फ ३ सिट र महाकाली बहुप्राविधिक शिक्षालय, कञ्चनपुरमा महिलातर्फ १ सिट रिक्त रहेको सूचनामा उल्लेख छ।
आवेदनसँग पेश गर्नुपर्ने कागजात
आवेदन फारामसँगै निम्न कागजात पेश गर्नुपर्नेछः
- प्रवेशपत्र ९Entrance Card० को प्रतिलिपि
- नागरिकता वा जन्मदर्ताको प्रतिलिपि
- एसईई शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- सरकारी विद्यालय खुलेको कागजात
- लक्षित वर्गमा पर्ने भए सो खुल्ने कागजातहरू
थप जानकारीका लागि सीटीईभीटी सुदूरपश्चिम प्रदेश कार्यालयमा सम्पर्क गर्न सकिनेछ। सूचनामा कार्यालयको सम्पर्क नम्बर ०९१–४१२१६८, इमेल [email protected] र वेबसाइट www.ctevtsppo.org.np उल्लेख गरिएको छ।
