अनलाइन श्रम स्वीकृतिको पासवर्ड बिर्सिनुभयो? अब आफैँ रिसेट गर्न सकिने

जीविको २०८३ जेठ २६ गते १५:३९

काठमाडौँ। वैदेशिक रोजगारीमा जान अनलाइन श्रम स्वीकृति लिन प्रयोग हुने पासवर्ड बिर्सिए अब सेवाग्राही आफैँले रिसेट गर्न सक्ने भएका छन्।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा लगइन गर्न समस्या हुने श्रमिकको सहजताका लागि पासवर्ड परिवर्तन प्रक्रिया सरल बनाएको हो। यसअघि पासवर्ड बिर्सिँदा धेरै सेवाग्राहीलाई अनलाइन श्रम स्वीकृतिका लागि आफ्नो प्रोफाइलमा प्रवेश गर्न समस्या हुने गरेको थियो।

अब सेवाग्राहीले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको वेबसाइटमा गएर पासवर्ड आफैँ रिसेट गर्न सक्नेछन्।

पासवर्ड कसरी रिसेट गर्ने?

सबैभन्दा पहिले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको वेबसाइट
https://feims.dofe.gov.np/Common-Login
मा जानुपर्छ।

त्यसपछि वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि तोकिएको लगइन बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि आफ्नो राहदानी अर्थात् पासपोर्ट नम्बर राखेर अगाडि बढ्नुपर्छ।

पासपोर्ट नम्बर इन्ट्री गरेपछि पासवर्ड राख्ने ठाउँसँगै Forgot Password बटन देखिन्छ। पासवर्ड रिसेट गर्न उक्त बटनमा क्लिक गर्नुपर्छ।

त्यसपछि आफ्नो जन्म मिति, पासपोर्ट जारी भएको मिति र प्रणालीमा देखिएको क्याप्चा राख्नुपर्छ। विवरण मिलेको पुष्टि भएपछि नयाँ पासवर्ड राख्ने विकल्प खुल्छ। नयाँ पासवर्ड सेट गरेपछि सेवाग्राहीले फेरि आफ्नो प्रोफाइलमा लगइन गर्न सक्छन्।

पासपोर्ट विवरण सुरक्षित राख्न विभागको आग्रह

विभागले श्रमिकहरूलाई आफ्नो प्रोफाइल सुरक्षित राख्न पासपोर्टको फोटो वा व्यक्तिगत विवरण अनावश्यक रूपमा अरू व्यक्तिलाई नदिन आग्रह गरेको छ।

अनलाइन श्रम स्वीकृतिका लागि पासपोर्ट नम्बर, जन्म मिति र पासपोर्ट जारी भएको मिति जस्ता विवरण आवश्यक पर्ने भएकाले यस्ता सूचना सुरक्षित राख्नु महत्त्वपूर्ण हुन्छ। गलत व्यक्तिको हातमा यस्ता विवरण पुगेमा प्रोफाइलको दुरुपयोग हुन सक्ने जोखिम रहन्छ।

रोजगारदाता कम्पनीको नाम पनि आफैँ थप्न सकिने

विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुविधाका लागि गन्तव्य मुलुकको रोजगारदाता कम्पनीको नाम सेवाग्राही आफैँले प्रणालीमा थप्न सक्ने व्यवस्था पनि गरेको छ।

तर, कम्पनीको नाम थप्दा वैदेशिक रोजगारीसम्बन्धी आधिकारिक कागजातमा उल्लेख भएको नाम मात्र प्रयोग गर्नुपर्ने विभागले जनाएको छ। गलत वा फरक नाम राख्दा श्रम स्वीकृति प्रक्रियामा समस्या आउन सक्ने भएकाले कागजातमा भएको विवरण जस्ताको त्यस्तै राख्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *