महिलालाई नि:शुल्क तालिम सहित पर्यटक गाडी चालक बन्ने अवसर
काठमाडौँ — महिलालाई पर्यटन यातायात क्षेत्रमा दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यसहित नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) र दिगो पर्यटन परियोजना (STP) को सहकार्यमा हलुका सवारी चालक प्रशिक्षण सञ्चालन हुने भएको छ।
संघले प्रकाशित गरेको सूचनाअनुसार तालिममा ३० जना महिला सहभागी गराइनेछ। तालिमको अवधि एक महिना हुनेछ। तालिमपछि सहभागी महिलालाई पर्यटक यातायात क्षेत्रमा काम गर्ने अवसरसँग जोड्ने लक्ष्य राखिएको छ।
सूचनाअनुसार आवेदन दर्ता शुल्क रु. १,००० तोकिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ जेठ २९ गते रहेको छ। छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने संघले जनाएको छ।
अन्तर्वार्ता २०८३ जेठ २१ गते बिहान ११ बजे NTVA को सचिवालय, लाजिम्पाटमा हुनेछ। अन्तर्वार्तामा सफल हुने उम्मेदवारको नामावली २०८३ असार १ गते संस्थाको सूचना पाटीमा प्रकाशित गरिनेछ। प्रशिक्षण भने २०८३ असार २ गतेदेखि सञ्चालन हुने सूचनामा उल्लेख छ।
तालिममा सहभागी हुन कम्तीमा SLC/SEE उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्रको छायाँप्रति, नेपाली नागरिकताको छायाँप्रति, PAN को छायाँप्रति र पासपोर्ट साइजको ४ प्रति फोटो पेश गर्नुपर्नेछ।
संघका अनुसार तालिम अनुभवी प्रशिक्षकबाट गराइनेछ। आवेदन शुल्कबाहेक अन्य शुल्क नलाग्ने सूचनामा उल्लेख छ। तालिममा पर्यटक यातायात क्षेत्रसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक कक्षा सञ्चालन गरिनेछ र प्रमाणपत्र पनि प्रदान गरिनेछ।
तालिमपछि इजाजतप्राप्त पर्यटक यातायात कम्पनीमा रोजगारीका लागि प्राथमिकता दिइनेछ। साथै, मध्यपूर्वमा भएको द्वन्द्वका कारण अरब मुलुकबाट स्वदेश फर्किएकाहरूलाई छनोटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
इच्छुक महिलाले आवेदनका लागि NTVA मा सम्पर्क गर्न सक्नेछन्। सम्पर्क नम्बर: 01-4592587, 9801019225। इमेल: [email protected]।
हेर्नुहोस् सूचना

