काठमाडौँमा उवर (Uber) को परीक्षण सेवा सुरु, चालक दर्ताका लागि पनि आवेदन खुला

जीविको २०८३ जेठ ८ गते १२:५५

विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको राइड सेवा प्रदायक कम्पनी उवर (Uber) ले काठमाडौँ उपत्यकामा आफ्नो सेवा परीक्षणका रूपमा सुरु गरेको छ। यात्रुले अब उवर एपमार्फत काठमाडौँ उपत्यकाभित्र मोटरसाइकल तथा ट्याक्सी/कार सेवा बुक गर्न सक्ने भएका छन्। उवर ले बुधबारदेखि काठमाडौँ उपत्यकामा “टेस्ट लन्च” सुरु गरेको हो।

कम्पनीले नेपालमा सेवा सञ्चालनका लागि स्थानीय राइड–हेलिङ सेवा प्रदायक ‘ट्याक्सीमान्डु’सँग रणनीतिक साझेदारी गरेको बताइएको छ।

हाल सेवा परीक्षण चरणमा रहेकाले सबै स्थान, सबै समय वा सबै प्रकारका सवारी साधन तत्काल उपलब्ध नहुन सक्छन्। तर प्रयोगकर्ताले उवर एप डाउनलोड गरेर आफ्नो मोबाइल नम्बरमार्फत खाता खोली उपलब्ध सवारी खोज्न सक्नेछन्।

उवरको औपचारिक सुरुआत २०२६ जुन १ मा गर्ने तयारी छ।  करिब १ हजार चालक उवर एप प्लेटफर्ममा आबद्ध भइसकेको छन्। तर सरकारी अधिकारीहरूले उवर को नाममा नेपालमा विदेशी लगानी वा कम्पनी दर्तासम्बन्धी औपचारिक आवेदन नआएको पनि बताएका छन्।

यससँगै काठमाडौँको राइड–शेयरिङ बजारमा Pathao, inDrive, Yango लगायतका प्लेटफर्मसँग उवरको प्रतिस्पर्धा बढ्ने देखिएको छ। उवर को प्रवेशले यात्रुलाई थप विकल्प दिने अपेक्षा गरिएको छ। विशेषगरी विदेशमा उवर प्रयोग गरिरहेका पर्यटक तथा नेपाली प्रयोगकर्ताका लागि एउटै एपबाट काठमाडौँमा पनि राइड बुक गर्न सहज हुने देखिन्छ।

चालकले Uber मा कसरी दर्ता गर्ने?

उवरमा चालक पार्टनरका रूपमा जोडिन चाहने मोटरसाइकल, ट्याक्सी वा कार चालकले उवर ड्राईभर एप डाउनलोड गरेर दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन्। ट्याक्सीमान्डु’को वेबसाइटमा उवर नेटवर्कमा जोडिन चाहने चालकका लागि नाम, WhatsApp नम्बर, सवारी नम्बर र अन्य विवरण पठाउने व्यवस्था गरिएको छ। दर्तापछि बिलबुकका आवश्यक पृष्ठ, सवारी स्वामित्व पृष्ठ र सवारी नम्बर देखिने पृष्ठ WhatsApp मार्फत पठाउनुपर्ने उल्लेख गरिएको छ। चालक सहयोगका लागि +977 9700004408 नम्बर पनि उल्लेख छ।

UberNepal.co नामको चालक दर्ता पेजमा पनि “Technology Testing Phase – Kathmandu” भनेर उल्लेख गरिएको छ। उक्त पेजमार्फत चालकले आफ्नो पूरा नाम, WhatsApp नम्बर, सवारी नम्बर र सवारी प्रकार — बाइक वा ट्याक्सी — भरेर WhatsApp मार्फत activation request पठाउन सक्ने व्यवस्था देखिन्छ।

तर चालकहरूले आफ्नो नागरिकता, सवारी कागजात, लाइसेन्स वा बिलबुक पठाउँदा विशेष सावधानी अपनाउन आवश्यक छ। सेवा अझै परीक्षण चरणमा रहेको र सरकारी दर्ता/लगानी प्रक्रियाबारे थप स्पष्टता आउन बाँकी रहेको रिपोर्ट आएका कारण आधिकारिक एप, पुष्टि भएको साझेदार र विश्वसनीय सम्पर्क माध्यमबाट मात्र प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ।

यात्रुले कसरी सेवा लिन सक्छन्?

यात्रुले Uber App डाउनलोड गरेर आफ्नो मोबाइल नम्बरबाट खाता बनाउन सक्छन्। त्यसपछि एपमा गन्तव्य राखेर उपलब्ध सवारी हेर्न र राइड बुक गर्न सकिन्छ। हाल सेवा काठमाडौँ उपत्यकाभित्र परीक्षणका रूपमा उपलब्ध भएकाले सबै क्षेत्रमा सेवा उपलब्ध नहुन सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *