यी साताका ५ अवसरहरु, कतै आवेदन दिन छुट्नु त भएको छैन ?
अवसर १ : सेनामा रोजगारी
नेपाली सेनाले विभिन्न सेवा तथा पदका लागि ४ हजार २२५ जना नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशित गरेको छ। जंगी अड्डाले सैनिक पदमा नयाँ भर्ना लिन दरखास्त आह्वान गर्दै सूचना सार्वजनिक गरेको हो।
सार्वजनिक विज्ञापनअनुसार नेपाली सेनाले देशका विभिन्न पृतना, गण तथा बाहिनीहरूमा पदपूर्तिका लागि आवेदन मागेको छ। यसअन्तर्गत सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी लगायतका पदमा भर्ना खुलाइएको छ।
विज्ञापनमा उल्लेख भएअनुसार उपत्यका पृतना, नारायणहिटी का लागि ३०० जना, श्री राजदल गण, ललितपुर का लागि १२५ जना, श्री मेहरगण, धुलीखेल का लागि १०० जना र पूर्वी पृतना हेडक्वार्टर, इटहरी का लागि २५० जना माग गरिएको छ। यस्तै, अन्य गण तथा इकाइहरूमा पनि फरक–फरक संख्यामा नयाँ भर्ना लिन लागिएको छ।
सबैभन्दा धेरै माग भने श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर, निमारे–सुर्खेत का लागि गरिएको छ। उक्त हेडक्वार्टरका लागि मात्रै ४०० जना कर्मचारी मागिएको विज्ञापनमा उल्लेख छ।
कुन पदमा कति माग?
सेनाले खुला प्रतिष्पर्धामार्फत सैन्य पदका लागि ४,०५८ जना र विभिन्न ट्रेडका फलोअर्स (सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी र माले/सयस/नालवन्दी) पदका लागि १६७ जना गरी कुल ४,२२५ जना माग गरेको छ।
प्रमुख भर्ना केन्द्रहरू र सिट संख्या:
उत्तर पश्चिम पृतना हेडक्वार्टर, सुर्खेत: ४०० जना
·उपत्यका पृतना हेडक्वार्टर, नारायणहिटी: ३०० जना· पूर्वी पृतना हेडक्वार्टर, इटहरी: २५० जना· मध्य पृतना हेडक्वार्टर, बर्दिबास: १५० जना· राजदल गण, ललितपुर: १२५ जना· श्री मेहर गण, धुलिखेल: १०० जना
योग्यता र मापदण्ड
सैनिक पदका लागि: कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने। नयाँ ग्रेडिङ प्रणाली अनुसार २.० जीपीए (GPA) प्राप्त गरेको वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ।
फलोअर्स पदका लागि: साधारण लेखपढ गर्न जान्ने उमेर: सैन्य पदका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोअर्सका लागि २६ वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन प्रक्रिया र दस्तुर
इच्छुक उम्मेदवारले नेपाली सेनाको आधिकारिक वेबसाइट nepalarmy.mil.np मार्फत अनलाइन दरखास्त फारम भर्न सक्नेछन्।
दरखास्त दिने मिति: २०८३ वैशाख १८ देखि २०८३ जेठ १६ गतेसम्म। (दोब्बर दस्तुर तिरी २०८३ जेठ २३ गतेसम्म भर्न सकिनेछ)।
दस्तुर: सैन्य पदका लागि १५० रुपैयाँ र फलोअर्सका लागि १०० रुपैयाँ तोकिएको छ। समावेशी समूहका लागि थप २० प्रतिशत दस्तुर लाग्नेछ।
तपाईँले आफ्नो पायक पर्ने भर्ना केन्द्र छनौट गरी अनलाइन फारमको प्रिन्ट आउटसहित तोकिएको स्थानमा उपस्थित हुनुपर्ने विभागले जनाएको छ।
हेर्नुहोस् सूचना
अवसर २ : महानगरको कर्जा
काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका युवाहरूलाई स्वरोजगार बनाउने र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ सँग महत्वपूर्ण साझेदारी गरेको छ। महानगरपालिका र कोषबीच भएको यो सम्झौताले पूँजीको अभावमा खुम्चिएर बसेका क्षमतावान् युवाहरूका लागि सहुलियतपूर्ण ऋणको बाटो खोलेको हो। विशेषगरी सीप भएर पनि लगानी जुटाउन नसकेका र चर्को व्याजदरका कारण व्यवसाय सुरु गर्न डराएका उद्यमीहरूलाई लक्षित गर्दै दुवै निकायले संयुक्त रूपमा ४ करोड रुपैयाँको कोष स्थापना गरेका छन्।
यस कार्यक्रमको सबैभन्दा सबल पक्ष ऋणीले पाउने भारी व्याज अनुदान हो। सुरुमा ८ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिए पनि तोकिएको समयमै सावाँ र व्याज भुक्तानी गर्ने असल ऋणीलाई ६० प्रतिशत व्याज अनुदान दिइने व्यवस्था गरिएको छ। यसरी सरकारले दिने अनुदानपछि ऋणीले वास्तविक रूपमा मात्र ३.२ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ, जुन बजारको तुलनामा निकै सस्तो र सुलभ हो। यो ऋण व्यक्तिगत रूपमा ५ लाख रुपैयाँसम्म र समूहमा काम गर्न चाहनेहरूका लागि अधिकतम ५० लाख रुपैयाँसम्म उपलब्ध गराइनेछ। यो कर्जा सुविधा विशेषगरी आर्थिक रूपमा विपन्न, महिला, दलित, आदिवासी जनजाति र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूका लागि केन्द्रित गरिएको छ। सूचना प्रविधि, फोहोर प्रशोधन, कृषि, हस्तकलादेखि लिएर प्लम्बिङ र इलेक्ट्रोनिक्स जस्ता विविध क्षेत्रमा व्यवसाय गर्न चाहनेहरूले बैंक तथा सहकारीमार्फत यो रकम प्राप्त गर्न सक्नेछन्। महानगरको ‘एक वडा एक नमूना’ कार्यक्रम र विभिन्न सीपमूलक तालिम लिएका व्यक्तिहरूलाई उद्यमशीलतासँग जोड्न यसले पुलको काम गर्ने विश्वास लिइएको छ।
अवसर ३ : कृषि सामाग्री कम्पनी लिमिटेडमा रोजगारी
कृषि सामग्री कम्पनी लिमिटेडले प्रशासन र प्राविधिकतर्फका विभिन्न २७ वटा विज्ञापन नम्बर अन्तर्गत कुल ४८ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यसमा अधिकृत प्रथम श्रेणीदेखि सहायक द्वितीय श्रेणीसम्मका विभिन्न पदहरू समावेश छन्। पद संख्याको बाँडफाँट अनुसार अधिकृत स्तरमा प्रबन्धकदेखि सहायक प्रबन्धकसम्म १५ जना, सहायक प्रथम श्रेणी (वरिष्ठ सहायक) तर्फ २२ जना र सहायक द्वितीय श्रेणीतर्फ ११ जना कर्मचारी माग गरिएको छ।
यस विज्ञापनमा प्रशासन सेवातर्फ सबैभन्दा बढी पदहरू सुरक्षित गरिएको छ भने लेखा, कृषि, र इन्जिनियरिङ (प्लान्ट अपरेटर/कम्प्युटर) तर्फ पनि उल्लेख्य संख्यामा दरखास्त मागिएको छ। कुल दरखास्त मध्ये खुल्ला तर्फ २१ सिट, महिलाका लागि ६ सिट, आदिवासी जनजातिका लागि ४ सिट, मधेसीका लागि ३ सिट र दलितका लागि १ सिट छुट्याइएको छ भने आन्तरिक प्रतियोगितातर्फ १३ सिट निर्धारण गरिएको छ। इच्छुक उम्मेदवारहरूले २०८३ साल वैशाख ३१ गतेभित्र आफ्नो शैक्षिक योग्यता र नागरिकताको प्रतिलिपिसहित कुलेश्वरस्थित प्रधान कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।
हेर्नुहोस् सूचना
सूचना लिङ्क
690696770_122140437399114003_5809497447102350818_n
अवसर ४ : निःशुल्क सीपमूलक तालिम सिक्ने अवसर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी, सुनसरीले विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
केन्द्रले कुक, इलेक्ट्रिसियन (विद्युत जडान एडभान्स), वेटर/वेट्रेस र सेक्युरिटी गार्डसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। प्रत्येक तालिममा २० जना सहभागी गराइनेछ। तालिम अवधि विषयअनुसार २७ कार्य दिनदेखि ३३ कार्य दिनसम्म रहनेछ।
केन्द्रले २०८३ वैशाख २५ गते प्रकाशित सूचनामार्फत इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सूचनाअनुसार आवेदकले १५ दिनभित्र अर्थात् २०८३ जेठ ८ गतेसम्म तोकिएको स्थानमा आवेदन फाराम बुझाउनुपर्नेछ। म्याद नाघी आएका तथा रित नपुगेका दरखास्तमाथि कुनै कारबाही नहुने केन्द्रले जनाएको छ।
कुक तालिम व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी, सुनसरीमा सञ्चालन हुनेछ। विद्युत जडान एडभान्स तालिम सुन्दरहरैंचा नगरपालिका–७, गोठगाउँ, मोरङमा सञ्चालन हुनेछ भने वेटर/वेट्रेस तालिम सुन्दरहरैंचा नगरपालिका–१२, विराटचोक, मोरङमा सञ्चालन हुनेछ। सेक्युरिटी गार्ड तालिम मैवाखोला गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने सूचनामा उल्लेख छ।
तालिमका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ। विद्युत जडान एडभान्स तालिमका लागि भने न्यूनतम ८ कक्षा उत्तीर्ण भई बेसिक विद्युत जडान तालिम लिएको हुनुपर्नेछ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, ३ प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र तोकिएका अन्य कागजात बुझाउनुपर्नेछ। आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रशिक्षार्थीको छनोट अन्तर्वार्तामार्फत गरिनेछ। विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, एकल महिला तथा पिछडिएको क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ। थप जानकारीका लागि कार्यालय समयमा ०२५-५८०९६१ मा सम्पर्क गर्न सकिनेछ।
अवसर ५ : चीन दुतावासको पायोनियर प्रोग्राम
चिनियाँ दूतावासले नेपालका प्रतिभाशाली युवाहरूलाई सशक्त बनाउन ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम’ (CNYP) को सुरुवात गरेको छ । यो कार्यक्रममार्फत युवाहरूलाई नेतृत्व तालिम, चिनियाँ कूटनीतिज्ञहरूसँगको भेटघाट र चीन भ्रमणको अवसर प्रदान गरिनेछ ।
१. कार्यक्रमका मुख्य उद्देश्यहरू:
नेतृत्व विकास: विशेष कार्यशाला र तालिममार्फत सहभागीहरूको नेतृत्व क्षमता अभिवृद्धि गरिनेछ ।
सामाजिक प्रगति: नवीन सोच र नीतिहरूलाई प्रयोग गरी नेपालको दिगो आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
सामुदायिक संलग्नता: स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्न समुदायमा आधारित परियोजनाहरू कार्यान्वयन गर्न सहयोग गरिनेछ ।
२. को-को सहभागी हुन पाउँछन्?
उमेर: २२ देखि ३४ वर्षका नेपाली युवाहरू ।
क्षेत्र: व्यावसायिक क्षेत्र, राजनीति, समाजशास्त्र, र संस्कृति लगायत विभिन्न विधामा सक्रिय युवा पेशेवर र अभियन्ताहरू ।
प्रतिबद्धता: नेपालको आर्थिक वृद्धि र सामाजिक विकासमा योगदान दिन चाहने इच्छुक व्यक्तिहरू ।
३. सहभागीले पाउने सुविधाहरू:
चीन भ्रमण: छनोट भएका सहभागीहरूले चीनको विकासका अभ्यासबारे प्रत्यक्ष अनुभव लिन चीन भ्रमणको अवसर पाउनेछन् ।
नेटवर्किङ: चिनियाँ कूटनीतिज्ञ, विद्वान र उद्यमीहरूसँग नियमित संवाद र भेटघाटको मौका मिल्नेछ ।
एलमुनाई नेटवर्क: कार्यक्रम सफल रूपमा सम्पन्न गरेपछि सहभागीहरू एक शक्तिशाली सञ्जालमा जोडिनेछन्, जहाँ निरन्तर सहयोग र अवसरहरू उपलब्ध हुनेछन् ।
४. आवेदन प्रक्रिया र छनोट:
आवेदन दिने अन्तिम मिति: मे १७, २०२६ ।
आवेदन दिने तरिका: इच्छुक उम्मेदवारले मे १७, २०२६ भित्र आवेदन दिनुपर्नेछ। आवेदन अंग्रेजीमा भरेर [email protected] मा पठाउनुपर्नेछ।
छनोट: कुल आवेदनहरूमध्ये उत्कृष्ट १० देखि २० जनालाई मात्र यस एक वर्षे कार्यक्रमका लागि छनोट गरिनेछ
छनोट प्रक्रियाबाट उत्कृष्ट १०–२० जना युवालाई कार्यक्रममा सहभागी गराइनेछ, जसको अवधि एक वर्ष हुनेछ।
थप जानकारी: https://tinywebs.site/oSPiPL
