इटहरी व्यावसायिक प्रशिक्षण केन्द्रले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी, सुनसरीले विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
केन्द्रले प्रथम पटक २०८३ वैशाख १५ गते सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सूचनाअनुसार इच्छुक व्यक्तिले १५ दिनभित्र अर्थात् २०८३ वैशाख २९ गतेसम्म तोकिएको स्थानमा आवेदन फाराम भर्नुपर्नेछ। म्याद नाघी आएका तथा रित नपुगेका दरखास्तमाथि कारबाही नहुने केन्द्रले जनाएको छ।
तालिमका विषयमा बार टेन्डर, कम्प्युटर अपरेटर बेसिक, एडभान्स कटाइ सिलाइ, एडभान्स ब्यूटिसियन, बेकर र वारिष्टा रहेका छन्। प्रत्येक तालिममा २० जना सहभागी गराइनेछ। तालिम अवधि विषयअनुसार २७ कार्य दिनदेखि ४५ कार्य दिनसम्म रहनेछ।
बार टेन्डर र कम्प्युटर अपरेटर बेसिक तालिमका लागि आवेदन बेलबारी नगरपालिका, रोजगार शाखा, मोरङमा बुझाउनुपर्नेछ भने तालिम बेलबारी नगरपालिकाको क्षेत्रभित्र सञ्चालन हुनेछ। एडभान्स कटाइ सिलाइ, एडभान्स ब्यूटिसियन, बेकर र वारिष्टा तालिमका लागि आवेदन व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी, सुनसरीमा बुझाउनुपर्नेछ र तालिम पनि सोही केन्द्रमा सञ्चालन हुनेछ।
तालिमका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्णदेखि एसईई/एसएलसी उत्तीर्णसम्म तोकिएको छ। एडभान्स कटाइ सिलाइ र एडभान्स ब्यूटिसियनका लागि सम्बन्धित विषयको बेसिक तालिम लिएको प्रमाणपत्र आवश्यक पर्नेछ। उम्मेदवार छनोट अन्तर्वार्तामार्फत गरिने केन्द्रले जनाएको छ।
आवेदन दिन चाहने व्यक्तिले आवेदन फारामसँगै नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि बुझाउनुपर्नेछ। आवेदक १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, एकल महिला तथा पिछडिएको क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ। थप जानकारीका लागि कार्यालय समयमा ०२५-५८०९६१ मा सम्पर्क गर्न सकिनेछ।
