एभरेष्ट बैंकमा ११४ जनाका लागि रोजगारी खुल्यो

जीविको २०८३ वैशाख २२ गते १४:०५

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले विभिन्न शाखा तथा कार्यालयका लागि ११४ जना कर्मचारी माग गरेको छ। बैंकले काठमाडौं उपत्यकाबाहिर रहेका शाखा तथा कार्यालयहरूमा पदस्थापन गर्ने गरी कस्टमर सर्भिस एसोसिएट्स र म्यानेजमेन्ट ट्रेनी पदमा आवेदन माग गरेको हो।

बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जना कर्मचारी माग गरेको छ। यसका लागि न्यूनतम इन्टरमिडिएट वा १०+२ तहमा कम्तीमा ६० प्रतिशत अंक वा २.८ सीजीपीए ल्याएको हुनुपर्नेछ। स्नातक तह उत्तीर्ण उम्मेदवारका हकमा कम्तीमा ६० प्रतिशत अंक वा ३.० सीजीपीए आवश्यक हुने सूचनामा उल्लेख छ। यस पदका लागि उमेर २०८३ साल वैशाख मसान्तसम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्ष छुट दिइनेछ।

त्यस्तै, म्यानेजमेन्ट ट्रेनी पदमा १५ जना कर्मचारी माग गरिएको छ। यस पदका लागि बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, कम्प्युटर एप्लिकेसन, ह्युमन रिसोर्स वा सो सरहको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा प्रथम श्रेणी वा ३.३० सीजीपीए ल्याएको हुनुपर्नेछ। मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट योग्य चार्टर्ड एकाउन्टेन्टले पनि आवेदन दिन सक्नेछन्। यस पदका लागि उमेर २०८३ साल वैशाख मसान्तसम्म ३० वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्ष छुट दिइनेछ।

कस्टमर सर्भिस एसोसिएट्स पदमा सम्बन्धित प्रदेशमा स्थायी ठेगाना भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ। बैंकका अनुसार छोटो सूचीमा परेका उम्मेदवारलाई मात्रै लिखित परीक्षा र अन्तर्वार्ताका लागि बोलाइनेछ। म्यानेजमेन्ट ट्रेनी पदका उम्मेदवारका लागि लिखित परीक्षा, समूह छलफल र अन्तर्वार्ता हुनेछ।

इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते अर्थात् १९ मे २०२६ भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि merojob.com/everestbank मा लगइन गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *