साढे ६ लाख बढीले लिए १० महिनामा श्रम स्वीकृति
चालु आर्थिक वर्षको १० महिनामा मात्र वैदेशिक रोजगारीमा जानका लागि साढे ६ लाख बढीले श्रम स्वीकृति लिएका छन् । कोरोना महामारीको अन्त्यसँगै यसरी वैदेशिक रोजगारीका लागि भनेर यसरी विदेशिने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
यस आर्थिक वर्षमा अझै २ महिनाको तत्थ्याङ्क आउन बाँकी छ । वैदेशिक रोजगारीका लागि जाने नेपालीको मासिक आँकडालाई हेर्दा यस वर्ष हालसम्मकै ठूलो सङ्ख्या वैदेशिक रोजगारीमा जाने देखिन्छ ।
यस वर्ष श्रम स्वीकृति लिएका ६ लाख ५६ हजार ९ सय ४३ जनामध्ये ५ लाख ९७ हजार ६ सय ७४ जना पुरुष र ५९ हजार २ सय ६९ महिला रहेका छन् ।
गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ३९, कात्तिकमा ७८ हजार ३ सय ७०, मङ्सिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४, माघमा ६४ हजार २ सय ८४ जना र फागुनमा ६१ हजार ८ सय ४५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।
त्यस्तै चैत्रमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ४ सय ७८ जना छ भने बैशाखमा यो सङ्ख्या ५४ हजार ४ सय ५७ रहेको छ ।
यसरी श्रम स्वीकृति लिएर विदेशिनेमा पछिल्लो समय मलेसियाको आँकडा माथि छ ।वैदेशिक रोजगार विभागको तत्थ्याङ्क अनुसार अघिल्लो महिना अर्थात् बैशाखमा सबैभन्दा बढी मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ ।
वैशाखमा मलेसियाका लागि १४ हजार ६ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन्। मलेशिया पछि वैदेशिक रोजगारीमा जानेहरूको दोस्रो रोजाइमा कतार छ । बैशाखमा कतारका लागि भनेर १० हजार २ सय ३० जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि क्रमशः दुबईका लागि ९ हजार ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरबका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ८ हजार ६ सय ८१ रहेको छ।