वैदेशिक रोजगारीबाट फर्किएपछि के गर्ने ? यस्तो छ सरकारको योजना (भिडियो संवाद)

जीविको २०७९ फागुन १५ गते १६:४९

खाडी तथा मलेसियामा कार्यरत नेपालीहरूलाई हामीले सोधेका थियौँ, “नेपाल फर्किएपछि के गर्ने योजना छ ?” अधिकांशको उत्तर थियो, “केही समय घर परिवार अनि साथीभाइसँग समय बिताउने अनि उही त हो फेरी परदेशी जीवन..”

“यतै केही आयआर्जनको मेलो गर्ने योजना छैन ?” हाम्रो प्रश्नमा उनीहरूको उत्तर थियो, “बल हुँदासम्म विदेशिनु बाहेक अरु विकल्प के नै होला र ? देशमै काम गर्ने वातावरण बनेको छैन अझै”

यस वर्ष साउनदेखि माघसम्म गरेर ७ महिनामा ४ लाख ८२ हजार ४७५ नेपाली रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ जसमा अवैध रुपमा विदेश जानेहरूको संख्या समावेश छैन । दैनिक २ हजार युवाहरू अहिले देश छोड्न वाध्य छन् । यिनै विषय लिएर हामीले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेसँग कुराकानी गरेका छौं । प्रवक्ता डण्डुराजका अनुसार वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सरकारले देशभित्रै अवसर दिने र सम्मानजनक पुन: एकीकरण गर्ने योजना बनाएको छ । हेर्नुहोस्, प्रवक्ता डण्डुराजसँग गरिएको भिडियो कुराकानी

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जीविकोसँग व्यक्त गरेको संक्षिप्‍त धारणा:

स्वीस सरकार र नेपाल सरकारको बीचमा पुनः एकीकरणको कार्यक्रम (वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पन: एकीकरण परियोजना पहिलो चरण) लागु भएको छ । जसमा पहिलो काम तालिम दिने, मनोसामाजिक परामर्श दिने, अर्धदक्षलाई दक्ष बनाउने किसिमको तालिम दिने र प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याइएको छ ।

प्रारम्भिक चरणका रूपमा यो वर्ष हामीले कार्यक्रमको सुरुवात गरेका छौं, अर्को वर्षभने यस कार्यक्रमलाई व्यापक रूपमा लगेर गइन्छ । यस किसिमको पुनः एकीकरणको कार्यक्रम कोरियन सरकारसँगको सहयोग समन्वयमा पनि हुँदैछ । जसमा इपीएस परीक्षा पास गरेर कोरिया गइ फर्किएका नेपाली कामदारको पुनः एकीकरणको लागि केन्द्रीत हुनेछ ।

विदेशबाट फर्किएका मानिसहरू कतिपयले अहिले पनि उद्यमका कामहरू गरिरहेका छन् । हामीले देख्ने अधिकांश रेस्टुरेन्ट, बार, क्याफेहरू विदेशबाट फर्किएका नेपालीहरूले नै गरिरहनुभएको छ । त्यस्तै कृषिमा पनि धेरै विदेशबाट फर्किएका नेपाली युवाहरू लागि पर्नुभएको छ । त्यसकै लागि हामीले यसपटक देखि अझ व्यापक रूपमा पुनः एकीकरणको कार्यक्रमलाई लैजाने, उहाँहरूलाई सस्तो ब्याजदरको(सहुलियतपूर्ण) कर्जा उपलब्ध गराउनुपरेमा उपलब्ध गराउने गरी कार्यक्रम सुरूवात गर्न लागेका छौँ । 

हाम्रो नेटवर्क पनि त्यही अनुसार छन्, स्थानीय तहहरूमा हाम्रा एमआरसी (आप्रवासी स्रोत केन्द्र) केन्द्रहरू छन् ती निकायहरूसँग समन्वय गरेर अब पुनः एकीकरण कार्यक्रम व्यापक रूपमा सञ्चालन हुँदैछ ।वैदेशिक रोजगारीबाट फर्किएर देशभित्रै काम गर्ने योजना बनाउनुभएकाहरूले आफ्नो स्थानीय तहहरू मार्फत् सरकारको पुनः एकीकरण कार्यक्रममा जोडिनुहुन म अनुरोध गर्दछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *