रोजगारको अवसर खोजिरहेकाहरूलाई आवेदन दिन आव्हान

जीविको २०७९ फागुन १५ गते १५:३७

रोजगारको अवसर खोजिरहेकाहरूलाई आफ्नो स्थानीय तह; वडा कार्यालय/नगरपालिकामा गएर सूचिकृत हुन सरकारले आव्हान गरेको छ । बेरोजगार व्यक्तिले आफ्नो नाम यही फागुन मसान्तभित्र समावेश गराउन भन्दै विभिन्न स्थानीय तहले सूचना नै निकालेका छन् । बेरोजगार व्यक्तिहरूलाई रोजगारी दिने उदेश्यका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले सातै प्रदेशका स्थानीय निकायमा बेरोजगार सूचिकृत हुनका लागि आव्हान  गरेको हो ।

मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको अभियान “न्यूनतम रोजगार नागरिकको अधिकार” भन्ने मूल नाराका साथ विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत  १८ वर्षदेखि ५९ वर्षसम्मका बेरोजगार व्यक्तिहरूलाई न्यूनतम १ सय दिनको रोजगारी दिनेछ ।

उक्त सूचीमा बेरोजगारले मात्र नभई न्यूनतम वार्षिक ५७ हजार ७ सय रुपैयाँभन्दा कम आय भएकाहरूले नाम दर्ता गराउन सक्नेछन् । आफ्नो वडा कार्यालय वा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np बाट निवेदन फारम नि:शुल्क भर्न सकिने छ ।  

निवेदनसँगै पेस गर्नुपर्ने कागजातहरू : 

  • नागरिकताको प्रतिलिपि
  • १ प्रति पासपोर्ट साइजको फोटो
  • निवेदक सहित परिवारका सदस्यहरूको नाम, नाता, जन्म मिति, नागरिकता नम्बर, जारी मिति तथा जिल्ला लगायतका विवरण      
  • निवेदक सहित परिवारका सम्पूर्ण सदस्यको शैक्षिक योग्यता, सीप, दक्षता तथा रोजगारीको अवस्था (स्वदेश/विदेश/स्वरोजगार)
  • स्थानीय बसोबास खुल्ने आवश्यक कागजातहरूको प्रतिलिपि, बसाइँसराई प्रमाणपत्रको प्रतिलिपि
  • विवाह दर्ताको प्रमाणपत्र 
  • कुल वार्षिक पारिवारीक आय परिवारका सबै सदस्यहरूले सामाजिक सुरक्षा कोष, अन्य सरकारी कोष वा रोजगार दाताबाट कुनै साहयता वा आम्दानी लिएको नलिएको विवरण 
  • निवेदनमा उल्लेखित सम्पूर्ण विवरण अनिवार्य रूपमा भरेको र वडा कार्यलयबाट प्रमाणित भएको निवेदन ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *