वैदेशिक रोजगारबाट फर्किनुभएको छ भने सीप परीक्षण गर्नुहोस् !

जीविको २०७९ मंसिर १२ गते १२:०२

वैदेशिक रोजगारबाट फर्कनुभएको छ भने आफूसँग भएको सीप परीक्षण गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति (NSTB) ले आव्हान गरेको छ । समितिले सीप परीक्षणमा सम्मिलित हुन १६ वर्ष उमेर पुगेका तथा वैदेशिक रोजगारबाट फर्केकाहरूबाट आफूलाई पायक पर्ने सातै प्रदेशका सीप परीक्षण केन्द्रमा गई आवेदन फाराम पेस गर्न सूचना प्रकाशित गरेको छ । कस्ता विषयमा कहाँ गएर सीप परीक्षण गराउने भन्ने जानकारीका लागि मंसिर १२ गते सोमबार गाेरखापत्र (पेज न. ११) मा प्रकाशित सूचना हेर्नुहोस् । सूचनाको लिंक : NOTICE

सीप परीक्षणमा सहभागी हुनेले आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू:

१. यस सूचना तथा आवेदन फाराम CTEVT राष्ट्रिय सीप परीक्षण समिति (NSTB) तथा इभेन्ट परियोजनाको वेबसाइट क्रमश: www.ctevt.org.np, www.nstb.org.np तथा www.event. gov.np बाट डाउनलोड गर्न तथा तोकिएको केन्द्रहरूबाट प्राप्त गर्न सकिनेछ ।

२. आवेदन फाराम तोकिएको केन्द्रमा मिति २०७९/०९/१२ गतेभित्र बुझाउनुपर्नेछ । आवेदन फाराम बुझाउने अन्तिम दिन बिदा परेमा सोको भोलि पल्टसम्म बुझाउन सकिनेछ ।

३. आवेदन फारामको साथ पासपोर्ट साइजको हालसालै खिचिएको एकै किसिमको फोटो २ प्रति, नागरिकता प्रमाणपत्र र तालीम वा अनुभवको प्रमाण पत्र (तालीम प्रमाणपत्रको हकमा CTEVT का आङ्गिक, साझेदार तथा सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूबाट जारी भएको तथा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागले प्रदान गरेका कम्तीमा १ वर्ष पहिलाको प्रमाण पत्रको प्रतिलिपि मात्र र अनुभवको हकमा नेपाल सरकार, सरकारी वा अर्धसरकारी संस्था वा नेपाल सरकारमा दर्ता VAT PAN नम्बर प्राप्त निजी रोजगारदाता संस्था / उद्योग / व्यवसायीले सम्बन्धित पेसा / व्यवसायमा काम गरेको वा गरिरहेको स्पष्ट खुलाइएको अवधि सहितको प्रमाणपत्र वा पत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । अनुभव १६ वर्ष उमेर पछिको मात्र मान्य हुनेछ ।

४. सहुलियत वर्गमा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा नेपाल सरकारबाट तोकिएका वर्ग पर्दछन् । महिला बाहेक अन्य वर्गको हकमा सम्बन्धित निकायबाट प्रमाणित कागजात पेस गर्नुपर्नेछ ।

५. वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले आवेदन फाराम भर्दा सीप परीक्षण गर्नुपर्ने पेसाको विदेशमा गरेको कामको अनुभव पत्र (अङ्ग्रेजी बाहेक अन्य भाषा भएमा अङ्ग्रेजीमा अनुवाद गरिएको प्रति), पासपोर्ट र निसाको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ ।

६. सीप परीक्षणका लागि आवश्यक पर्ने कागजातहरू अपुग रहेको तथा तोकिएको समयभित्र दर्ता नभएका र रीत नपुगेका आवेदन फारामहरू स्वतः रद्द हुनेछन् ।

७. कुनै व्यवसायमा स्वीकृत आवेदन फाराम सङ्ख्या तीनभन्दा कम भएमा सो व्यवसायको सीप परीक्षण सञ्चालन गरिने छैन ।

८. सीप परीक्षण तालिका समितिको वेबसाइट www.nstb.org.np मा प्रकाशित गरिनेछ । प्रवेश पत्र सीप परीक्षण आवेदन फाराम भरेकै केन्द्रबाट सहभागी आफैँ उपस्थित भई सीप परीक्षणको अघिल्लो दिनभित्र प्राप्त गर्न सकिनेछ । सम्पर्क मितिको भोलि पल्टदेखि नै सीप परीक्षण सञ्चालन हुन सक्नेछ । 

९. परीक्षार्थीहरूले सम्बन्धित पेसा व्यवसायमा आवश्यक पर्ने हाते औजारहरू आफैँले ल्याउनुपर्नेछ तथा ब्युटिसियन पेसाको सीप परीक्षणका सहभागीले परीक्षण सामग्री समेत आफैँले ल्याउनुपर्नेछ । साथै व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।

१०. यसभन्दा अगाडि सीप परीक्षणमा सहभागी भएका परीक्षार्थीहरूले पहिले सीप परीक्षणमा सहभागी हुँदाको रजिस्ट्रेसन नं अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । यसरी दोहोर्‍याएर सीप परीक्षण दिनेहरूले आवेदन फारामको माथि पुनः परीक्षण भन्ने कोठामा चिह्न लगाउनुपर्नेछ ।

११. सम्बन्धित व्यवसायमा तह १ वा २ उत्तीर्ण भएका आवेदकले तह २ वा ३ मा आवेदन दिँदा अनिवार्य रूपमा आफूले प्राप्त गरेको सीप प्रमाण पत्रको साथै कार्य अनुभवको पत्र पेस गर्नुपर्नेछ ।

१२. सीप परीक्षण आवेदन फाराम सङ्कलन केन्द्रले आवेदन सङ्कलन गर्दा आवश्यक कागजात पुगेको रुजु गरी (फाराम भर्ने अन्तिम मितिबाट) पाँच दिनभित्र Online System बन्द हुने भएकोले उक्त अवधिभित्र अनलाइन फाराम इन्ट्री गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अन्तिम रुजु भइसकेपछि इन्ट्री बापत प्रति फाराम रु. ७०/- का दरले कट्टा गरी बाँकी रकम जम्मा गर्ने केन्द्रको नाम र आवेदन सङ्ख्या स्पष्ट खुलाई राष्ट्रिय सीप परीक्षण समिति, सानोठिमी, भक्तपुरको नाममा रहेको रा.वा. बैंकको खाता नं. १७३०१०००००१८३००१ मा रकम जम्मा गरी सक्कल भौचर अपलोड गर्नुपर्नेछ ।

१३. यस सूचनामा उल्लेखित पैसा व्यवसायको सीप परीक्षण सम्बन्धित प्रदेश अन्तर्गतका प्रमाणिकृत वा तोकिएका सीप परीक्षण केन्द्रहरूमा सञ्चालन हुनेछ ।

थप जानकारीका लागि फोन नं. ०१६६३८१५३. ६६३५१९५ मोबाइल नं. ९८५११२७०८० ९८५११६३९६४ र ९८४१२४९३४३ मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *