अवसर : सशस्त्र प्रहरीले माग्यो १ सय ६२ कर्मचारी
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा गरी १ सय ६२ जना कर्मचारीको माग गरेको छ । जसमा ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको छ।
सशस्त्र उक्त पदमा समावेशी तथा खुला दुबै तर्फको आवेदन माग गरेको छ ।सशस्त्र प्रहरी निरीक्षकमा ३८ खुला, ६ महिला, ९ आदिवासी जनजाति, १० मधेशी, ५ दलित २ पिछडिएको क्षेत्र र १ अशक्तका लागि सिट छुट्याइएको छ । त्यस्तै सशस्त्र प्रहरी निरीक्षक कानुन उपसमूह पदको लागि ४ खुला, १ महिला, १ आदिवासी जनजाति, १ मधेशी, १ दलित रहेका छन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूहमा) ४५ खुला, २ अशक्त, ६ महिला, ११ आदिवासी जनजाति, १० मधेशी, ७ दलित र २ जना पिछडिएको क्षेत्रबाट आवेदन माग गरिएको छ ।
दरखास्त आगामी कार्तिक ६ गतेसम्म बुझाउन सकिने छ । दरखास्त फारम www.apf.gov.np बाट डाउनलोड गरि भरेर सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हलचोक काठमाडौं, पकनी सुनसरी, बर्दिबास महोत्तरी, पोखरा कास्की, चन्द्रोटा कपिलवस्तु, बाइड्रेसिमन सुर्खेत, अत्तरिया कैलालीमा बुझाउन सकिने छ ।
सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह) पदको लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने पुरुषको हकमा उचाइ कम्तीमा ५ फिट २ इन्च र तौल कम्तीमा ५० केजी हुनुपर्ने छ । महिलाको हकमा कम्तीमा ५ फिट उचाइ र कम्तीमा ४२ केजी तौल भएको हुनुपर्ने छ ।
सशस्त्र प्रहरी निरीक्षक कानुन उपसमूहका लागि कानुन विषयमा स्नातक तह उत्तीर्ण गरि नेपाल कानुन व्यवसायी परिषदबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। सशस्त्र प्रहरी निरिक्ष (साधारण उपसमूह) का लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
आवेदन दिँदा सशस्त्र प्रहरी निरीक्षक र कानुन उपसमूहको लागि १ हजार रुपैयाँ दस्तुर लाग्नेछ भने सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) का लागि ३ सय रुपैयाँ दस्तुर लाग्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।
आवेदन दिँदा फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि, ३ प्रति पासपोर्ट साइजको फोटो, दस्तुर तिरेको सक्कल रसिद, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र समावेशी भए सो लाई प्रमाणित गर्ने प्रमाणपत्र आवेदनसँगै बुझाउनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीका लागि : टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न सकिनेछ भने सशस्त्र प्रहरी बलको फेसबुक पेजमा Armed police force nepal बाट पनि आवश्यक जानकारी लिन सकिनेछ ।
हेर्नुहोस् सूचना