उद्यमका कुरा-२: उद्यमशीलता प्रवर्द्धनका लागि बजेटमा छुट्याइने अर्बौं रकम कहाँ जान्छ ? (भिडियो संवाद)
लजिस्टिक कम्पनी पिक एण्ड ड्रपका सहसंस्थापक शिशिर खनाल भन्छन्;
उद्यमी बन्न नेपालमा साह्रै गाह्रो रहेछ । तपाईं दुई तीन पुस्तादेखिको विरासत बोकेको उद्यमी होइन भने यहाँ सहयोग गर्ने कुनै पनि निकाय वा प्रक्रिया नै छैन । केही समय अगाडि महालेखा परीक्षकको एक प्रतिवेदन सार्वजनिक भएको छ जसअनुसार २०७२/७३ देखि प्रत्येक वर्ष उद्यमशीलतालाई सहयोग गर्ने विभिन्न किसिमका कार्यक्रम आएका छन्। कहिले ५० करोड कहिले २ अर्ब त कहिले सर्टिफिकेट धितो राखेर अनुदान वा सहुलियतपूर्ण कर्जा सुविधा दिने भनिएको छ तर पछिल्लो ७ वर्षमा तीमध्ये कुनै पनि कार्यक्रम कार्यन्वयनमा भने आएका छैनन् । गत साल राष्ट्रिय योजना आयोगले स्टार्ट अपहरूलाई अनुदान सहयोग गर्ने भनेर एउटा कार्यक्रम लिएर आएको थियो जसमा म लगायत अन्य ७ सय जना युवाहरूले आवेदन दिएका थियौँ तर त्यो कार्यक्रम रद्द गरियो । फेरी नयाँ कार्यक्रम पनि ल्याएको छ तर त्यसको कुनै कार्यविधि भने छैन । त्यसका नियम, कानुन ऐन नै छैन । त्यसकारणले हामीजस्तो देशमा केही गर्छु भन्ने मान्छेलाई मुखले मात्र कार्यक्रम दिएझैँ गरिएको छ । बजेटमा सुन्दा चाहिँ करोडौँका कर्जा सुविधाका कुरा गरिएको छ शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा सुविधा दिने भनिएको छ तर त्यो विषय कार्यन्वयनमा भने आएको छैन । त्यसैले गर्दा १७ सय भन्दा बढी युवाहरू दैनिक देश छाडेर जान वाध्य छन् । हामीसँग ति युवाहरूलाई नेपालमा राख्ने किसिमको कुनै पनि योजना नै बनेका छैनन् ।
हेर्नुहोस् भिडियो:
राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट स्नातकोत्तर गरेका शिशिर खनाल लजिस्टिक कम्पनी पिक एण्ड ड्रपका सहसंस्थापक हुन् । टिच फर नेपालका पनि सहसंस्थापक रहेका शिशिर आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उठ्ने तयारीमा छन् ।
……………………………………
सीप, रोजगारी, श्रमको सम्मान, युवा उद्यमशीलता एवम् वैदेशिक रोजगारी केन्द्रित जीविको डट कमले साप्ताहिक रुपमा नेपालमा उद्यमशीलतासँग जोडिएका सम्भावना, चुनौती र अवसरका विभिन्न विषयवस्तुमा यसै क्षेत्रका जानकार/विज्ञसँग छोटो संवाद गर्दै उद्यमका कुरा सुरु गरेको छ । तपाईं पनि नेपालमा उद्यम व्यवसाय गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ र यससँग सम्बन्धित कुनै जिज्ञासा छ भने हाम्रो फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ ।