सानिमा बैंकले माध्यमिक तह पढ्न छात्रवृत्ति दिने (आवेदन दिने तरिका)
सामुदायिक/सरकारी विद्यालयबाट २०७९ सालको एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई सानिमा बैंकले माध्यमिक तह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि छात्रवृत्ति दिने भएको छ । उपत्यका बाहिरका स्थायी बासिन्दाहरूलाई प्रत्येक शाखाहरूबाट २-२ जना विद्यार्थीहरूका दरले छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीले उनीहरूकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न पाउने छन् । बैंकका अनुसार छात्रवृत्तिको रकम प्रति वर्ष प्रति विद्यार्थी ५० हजार रुपैयाँसम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रति महिना २ हजार रुपैयाँ नगद वृत्ति समावेश हुनेछ। आवेदन भाद्र ३१ गते कार्यालय समयभित्र बुझाई सक्नु पर्नेछ ।
विगत एक दशकदेखि यस प्रकारको छात्रवृत्ति बैंकले दिँदै आएको वरिष्ठ प्रबन्धक हेमराज संज्याल बताउँछन् । उनी भन्छन्, “आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बैंकले यो कार्यक्रम सञ्चालन गरेको हो । छात्रवृत्तिबाट हरेक वर्ष आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरू लाभान्वित हुँदै आएका छन् ।”
छात्रवृत्तिको आवेदन कसले दिने र कसरी दिने ?
१) आवेदक शाखा रहेका स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ ।
२) आवेदक गरिब तथा विपन्न परिवारको हुनुपर्नेछ ।
३) आवेदकले सोही स्थान भित्रको सरकारी/सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्ष अध्ययन गरी पहिलो प्रयासमा नै एस.ई.ई उत्तीर्ण गरेको हुनुपर्नेछ।
४) सोही स्थानभित्र रहेको माध्यमिक शैक्षिक संस्थामा उपलब्ध विषय / संकाय अध्ययन गर्नुपर्नेछ । शैक्षिक संस्था तथा संकाय आवेदक आफैले छनौट गर्नुपर्नेछ ।
५) आवेदकले अध्ययन गर्न इच्छाएको शैक्षिक संस्थाले आवेदकलाई भर्ना लिने निश्चित भएपछि मात्र बैंकले छात्रवृत्ति प्रदान गर्ने छ ।
६) आवेदक पूर्णकालीन छात्र/छात्राको रुपमा रहनुपर्नेछ ।
७) आवेदकहरू मध्येबाट सबैभन्दा गरिब तथा विपन्न उम्मेदवारको छनौट बैंकले गठन गरेको स्थानीय व्यक्तिहरू सदस्य रहेको सिफारिस समितिले गर्नेछ । समितिले आवेदक वा निजका परिवारका सदस्यहरूको अन्तर्वार्ता लिन सक्नेछ ।
८) छात्रवृत्ति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागू हुनेछ ।
९) निवेदकले हाल अन्य कुनै पनि छात्रवृत्ति नपाएको हुनुपर्नेछ ।
१०) आवेदन फारम बैंकको शाखा कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ ।
११) आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– एक प्रति पासपोर्ट साइजको फोटो
– एस.ई.ईको मार्कसिट र चारित्रिक प्रमाणपत्र
– आवेदकले विगत तीन वर्षदेखि शाखा रहेका स्थानभित्र रहेका सरकारी/सामुदायिक विद्यालयबाट निरन्तर अध्ययन गरेको कागजात
– बाबु वा आमाको नागरिकताको प्रतिलिपि
१२) आवेदन फाराम भर्ने अन्तिम मिति: २०७९ भाद्र ३१ गते कार्यालय समयभित्र ।
१३) सानिमा बैंकको उयत्यका बाहिर रहेका सम्पूर्ण शाखाहरूबाट छात्रवृत्ति प्रदान हुने बैंकले जनाएको छ ।
शाखाहरुको जानकारी : https://www.sanimabank.com/branches मा उपलब्ध छ ।
हेर्नुहोस् सूचना:
छात्रवृत्ति सम्बन्धी थप जानकारी आवश्यक भएमा सानिमा बैंकको प्रधान कार्यालय “अलकापुरी” नक्साल तथा सम्बन्धित शाखाहरुमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । बैंकको प्रमुख कार्यालयको सम्पर्क फोनः +९७७-१-५९७००३३, ईमेल: [email protected]