युवा परिषद्ले सन्देशमूलक टिकटक र युट्युब भिडियो प्रतियोगिता गर्दै, ४० हजार रुपैयाँसम्म पुरस्कार
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय युवा परिषद्ले टिकटक तथा युट्युब भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा लागूपदार्थ दुर्व्यसन विरुद्ध युवा, लैङ्गिक तथा जातीय विभेद र छुवाछुत विरुद्ध युवा, धामीझाँक्री बोक्सी जस्ता कुप्रथा विरुद्ध युवा, छाउपडी प्रथा रजस्वला भएको समयमा गरिने भेदभाव र छुवाछुत परम्परा विरुद्धमा युवा, बन्यजन्तु तथा वातावरण संरक्षणमा युवा, स्वास्थ्य खाना अभियानमा युवा, भ्रष्ट्राचार विरुद्ध तथा सुशासनको लागि युवा, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा युवा जस्ता सामाजिक सन्देशमूलक विषयवस्तु समावेश गरिनुपर्ने परिषद्ले जनाएको छ ।
प्रतियोगितामा भाग लिन चाहने इच्छुकले श्रावण २२ गतेभित्र भिडियो तयार पारेर युवा परिषद्को वेबसाइट www.nyc.gov.np मा गएर राखिएको गुगल फर्म डाउनलोड गरि भर्न सक्ने छन् । जसमा प्रतियोगीले युट्युब वा टिकटक खाता आफ्नै रहेको पुष्टि गर्ने प्रमाण, नागरिकता वा जन्मदर्ताको प्रतिलिपिसँगै पेस गर्नुपर्ने छ । प्रतियोगी १६ देखि ४० उमेर समूह भित्रको हुनुपर्ने छ ।
प्रतियोगितामा पेस गर्ने भिडियो सामाग्री एकल वा समूह दुबैमा बनाउन पाइने छ । परिषद्ले टिकटक प्रतियोगिता अन्तर्गत प्रथम, दितिय, तृतीय र सान्तवनामा क्रमश ३० हजार २० हजार १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने छ भने युट्युब भिडियोको लागि क्रमश ४० हजार ३० हजार २० हजार र १० हजार पुरस्कार तोकिएको छ ।
परिषद्ले विजेता छनोट गर्दा भिडियोको कला पक्ष, युवा परिषद्का लागि भिडियो भन्ने जानकारी दिने सन्देश, भिडियोमा आएको लाइक, सेयर र भ्युजका आधारमा अङ्क विभाजन गरिने बताएको छ ।
हेर्नुहोस् सूचना: