वैदेशिक रोजगारीको क्रममा समस्यामा परे के गर्ने ?
वैदेशिक रोजगारीका क्रममा ठगी हुँदा, अन्यायमा पर्दा, सुरक्षा नहुँदा के गर्ने भन्ने बारेमा वैदेशिक रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अनभिज्ञ छन्। धेरै नेपालीहरू, विशेष गरी ग्रामीण क्षेत्रमा रहेका र आर्थिकरूपले विपन्नहरुको न्यायमा पर्याप्त पहुँच छैन। तर वैदेशिक रोजगारीका लागि खाडी लगायतका देशमा जानेहरूको बाहुल्यता भने उनीहरूकै छ । वैदेशिक रोजगारीका बारेमा सामान्य जानकारी समेत नभएका विशेषगरी ग्रामीण क्षेत्रका नेपालीहरूलाई यहाँका एजेण्टले पैसा कुम्ल्याउने शिकार बनाइरहेका छन् । सरकारले प्रयास गरिरहेको बताइरहँदा पनि ठगी र हिंसाका घटना उस्तै नै छ। न्यायका लागि बाटोहरू नभएका होइनन् तर ति कानून स्थानीय तहमा सहजै उपलब्ध नहुँदा र व्यवहारमा फितलो हुँदा नेपाली समाजले वैदेशिक रोजगारीमा हुने ठगीलाई सहजै लिने गरेको छ । irex संस्थाले गरेको एक अध्ययनमा भनिएको छ; धेरैजसो वैदेशिक रोजगारी सम्बन्धी मुद्दाहरू सम्बोधन गर्न नेपालको कानुनी प्रणाली नै कमजोर छ।
वैदेशिक रोजगारीमा जाने हामी आफै नै सचेत हुने हो भने र समस्या परिहाल्यो भने के गर्ने भनेर पूर्व तयारी गर्ने हो भने धेरै हदसम्म यि समस्याहरूको हल हुन सक्छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरिरहेको श्रम कल सेन्टरमा दैनिक १ सय ५० भन्दा बढी वैदेशिक रोजगारी सम्बन्धी विविध गुनासोहरू आउने गरेका छन् । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा मन्त्रालयले ‘मार्सल टोली’ र गुनासो सुनुवाइ संयन्त्र निर्माण गरेको थियो । त्यसबेला गुनासो कक्षमा ३ सय ५० भन्दा बढी गुनासोहरू दैनिक आउने गरेको श्रम सचिवालयले जनाएको थियो । यतिमात्र होइन नेपाली आप्रवासी कामदारहरूका लागि कार्यरत प्रवासी नेपाली समन्वय समिति, श्रमिक सञ्जाल लगायतका संस्थाका अनुसार दैनिक १० भन्दा बढी वैदेशिक रोजगारी प्रभावितहरूले समस्या र गुनासो लिएर सहयोगका लागि यी संस्थाहरूमा सम्पर्क गर्ने गरेका छन् ।
नेपालबाट प्रत्येक दिन १५ सयभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुग्छन् । यसरी वैदेशिक रोजगारीमा जाने युवाहरू मध्ये दैनिक ३ सयजनाले वैदेशिक रोजगारीका क्रममा ठगी भयो, झुक्याइयो भन्दै सरकारी तथा गैरसरकारी निकायमा उजुरी गर्ने गर्दछन् । यस्ता गुनासा, उजुरीहरूलाई अनुगमन गरी त्यसको समाधान गर्नको लागि नेपालमा थुप्रै सरकारी तथा गैर सरकारी संघ संस्थाहरू क्रियाशील छन् । जसले प्रवासी श्रमिकका हक र हितका लागि निरन्तर बहस र पैरवी गर्दै आएका छन् ।
केही संघ संस्थाले गर्ने कामका बारेमा हामीले लेखेका छौं । तपाई वैदेशिक रोजगारीका क्रममा कुनै समस्या पर्नु भयो भने यहाँ सिधै सम्पर्क गर्न सक्नु हुन्छ ।
सरकारी संयन्त्रहरू
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु यस मन्त्रालयको एउटा महत्वपूर्ण जिम्मेवारी हो । वैदेशिक रोजगार प्रवर्द्धनका लागि विश्वबजारको माग र आवश्यकतालाई ध्यानमा राखेर प्रतिस्पर्धात्मक क्षमता भएका जनशक्ति तयार गर्नुका साथै श्रम आप्रवासका सबै चरणहरूलाई भरपर्दो, विश्वसनीय, पारदर्शी एवम् सहज र सरल बनाउने काम पनि मन्त्रालयबाट नै हुने गरेको छ ।
वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण काम यही मन्त्रालयले गर्ने हुँदा वैदेशिक रोजगारको क्रममा केही समस्या भएमा सिधै यहाँ सम्पर्क गर्न सकिन्छ ।
जानकारी तथा गुनासोको लागि
नि:शुल्क फोन : ११४१ अथवा १६६००१५०००५
विदेशबाट अथवा श:शुल्क फोन : +९७७ १ ५९७०००८
भाइबर मार्फत फोन अथवा मेसेज गर्न : +९७७ ९८०१८०००१३
Facebook मार्फत : facebook.com/molcallcenter
कल सेन्टरमा ईमेल गर्न : callcenter@fepb.gov.np
वेबसाइट : www.moless.gov.np
वैदेशिक रोजगारी एप
मन्त्रालयले वैदेशिक रोजगारी भन्ने एप पनि बनाएको छ । यो एपले व्यक्तिगत पुन: श्रम स्वीकृति प्रक्रियालाई सजिलो बनाउने सहयोग गर्दछ । वैदेशिक रोजगारीमा भएकाहरूले पुन:स्वीकृतिका लागि आवेदन दिन आफ्नो मोबाइल फोन प्रयोग गर्न सक्नेछन् । यसले वैदेशिक रोजगार विभागका सूचनाहरु, राहदानी खोजी, स्टिकर विवरणहरू र धेरै सान्दर्भिक सूचनाहरू प्रकाशन गर्दछ ।
एप डाउनलोड गर्नका लागि Link क्लिक गर्नुहोस् ।
वैदेशिक रोजगार विभाग :

यसले वैदेशिक रोजगारीको लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम गर्दछ । वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले कुन कुन देशलाई मान्यता दिएको, कुन मेनपावरबाट जाने, वैदेशिक रोजगारीमा जाँदा के कस्ता कुराहरूमा ध्यान दिनु पर्दछ भन्ने बारेमा जानकारी दिने गर्दछ । वैदेशिक रोजगारीमा जाँदा मेनपावर वा व्यक्तिमार्फत ठगीमा परेको खण्डमा पनि उजुरी दिने निकाय वैदेशिक रोजगार विभाग हो । यसले श्रमिकका गुनासोहरूलाई बुझेर यसको सुनुवाइ गर्ने काम पनि गर्ने गर्दछ । विभागको कार्यालय बुद्धनगर-१०, काठमाण्डौमा रहेको छ ।
थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
हटलाइन नम्बर : ९८५१३३४१०८ (नेपालको कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेभित्र)
फोन नम्बर : ०१-४७९२६१६, ०१-४७९२६४८, ०१-४७९२६५८
ईमेल : info@dofe.gov.np, dg@dofe.gov.np, complaint@dofe.gov.np
वेबसाइट : www.dofe.gov.np
वैदेशिक रोजगार बोर्ड

बोर्डबाट हालसम्म मुख्यरूपमा मृतकका परिवारलाई आर्थिक सहायता, वैदेशिक रोजगारीमा गएकाहरुका सन्तानलाई छात्रवृत्ति, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक आन्दोलन वा विद्रोह भएमा, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन जस्ता काम हुँदै आएको छ ।
वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, सुरक्षित, व्यवस्थित र मर्यादित बनाइ वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने काम वैदेशिक रोजगार बोर्डको मूख्य जिम्मेवारी हो ।
वैदेशिक रोजगार बोर्डको एक कल्याणकारी कोष रहने व्यवस्था छ । मुख्य रुपमा वैदेशिक रोजगारमा जाने कामदारहरूले प्रचलित कानूनले तोके बमोजिम रकम जम्मा गर्नु पर्ने अनिवार्य नियम रहेको छ । सोही रकमबाट बोर्डले वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा उनीहरूको परिवारलाई आर्थिक सहयोग गर्ने गरेको छ ।
थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
फोन नम्बर : ०१-५३२०३११, ०१-५३२०४३३
ईमेल : nfo@feb.gov.np , welfare@feb.gov.np
वेबसाइट : www.feb.gov.np
गैर सरकारी संयन्त्रहरू
श्रमिक सञ्जाल

वैदेशिक रोजगारीका क्रममा मलेशिया तथा मध्यपूर्वका देशहरुमा कम कमाइ तथा तल्लो तहमा काम गर्ने नेपाली श्रमिकहरुद्वारा आफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि स्वयमसेवी भावले सञ्चालित तथा संगठित श्रमिकहरुको अभियान हो, श्रमिक सञ्जाल ।
श्रमिक सञ्जालले हरेक आइतबार मलेशिया केन्द्रित भएर त्यहाँको बेलुकी ७:०० बजे, सोमबार र बुधबार भने यूएई र ओमानको ८.१५ बजे त्यस्तै कुवेत, कतार, बहराइन र साउदीको ७.१५ बजे फेसबुक लाइभ गर्ने गरेको छ । फेसबुक लाइभमा सञ्जालका प्रतिनिधिहरुले उल्लेखित देशहरुमा भएका घटनाका बारेमा त्यहाँ कार्यरत नेपालीहरुलाई खबर गर्ने गर्दछन् । सञ्जालको पेजमा सहभागीले आफूलाई कुनै समस्या परेको खण्डमा लाईभमै आफ्नो कुरा राख्न सक्नेछन् भने श्रमिक सञ्जालका प्रतिनिधिले यसका लागि सहजिकरण गर्ने गर्दछन् । सञ्जालले नियमित रुपमा ‘कर्मथलोमा आज’ भनेर वैदेशिक रोजगारीमा धेरै संख्यामा नेपालीहरू रहेको विभिन्न देशका सान्दर्भिक जानकारीहरू सामाजिक संजालमा राख्ने गर्दछ ।
सञ्जालले पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर विदेश जानुभन्दा पहिले के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने विषयमा एकदिने निःशुल्क तालिम काठमाडौंमा गर्दै आइरहेको छ ।
थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
फोन नम्बर : ९८५१३२२८५३ (ह्वाट्सएप)
फेसबुक: https://www.facebook.com/shramiksanjal/
ईमेल : info@shramiksanjal.org
वेबसाइट : http://www.shramiksanjal.org/
प्रवासी नेपाली समन्वय समिति (PNCC)

पिएनसिसीले विशेषगरि खाडी मुलुक, मलेशिया र मध्यपूर्व देशहरूमा अलपत्र परेका नेपाली श्रमिकहरूको सहयोगका लागि पहल गर्ने गर्छ । यो संस्था सन् २००९ मा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूले वैदेशिक रोजगारीमा रहेकाहरूलाई केही समस्या परेमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको हो । रोजगारदाता कम्पनीबाट ठगिएका, नेपालमा नै मेनपावरबाट ठगिएका, अलपत्र पारिएका नागरिकहरूको उद्धारका लागि पिएनसिसीले सहयोग गर्ने गर्छ ।
पिएनसिसीमा हालसम्म १७ हजारभन्दा बढि श्रमिकका उजुरीहरू दर्ता भएकाछन्, जसमध्ये पिएनसिसीले ५० प्रतिशतभन्दा बढी उजुरीहरूको सुनुवाइ गरी त्यसको हल गरेको संस्थाले जनाएको छ ।
मलेसिया, कतार र अन्य खाडी देशहरूमा यो संस्थाले आफ्नो नेटवर्क बिस्तार गरेको छ । पिएनसिसीले नेपालमा अन्य बहालवाला संघ संस्थाहरू सँग मिलेर काम पनि गर्दै आइरहेको छ ।
थाप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
फोन नम्बर : ०१-५७०५३५४ / ०१-५७०६११०२ / ०१-५७०५४०२ / ९८५११७४९९९
ईमेल : info@pncc.org.np
वेबसाइट : www.pncc.org.np
पौरखी नेपाल

पौरखी नेपाल वैदेशिक रोजगारीबाट फर्किएका नेपाली महिला प्रवासीहरूद्वारा सन् २००३ मा स्थापना भएको संस्था हो । यसले वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण प्रक्रिया ( रोजगार पूर्व प्रस्थान, रोजगारी चरण, स्वदेश फर्किएपछि सहयोग ) मा महिला आप्रवासी कामदारहरूको अधिकार सुनिश्चित गर्ने काम गर्दै आएको छ । पौरखी नेपालले वैदेशिक रोजगारीका क्रममा शोषण र दुर्व्यवहारमा परेर स्वदेश फर्किएका महिलाहरुको तत्काल आवश्यकतालाई सम्बोधन गर्न आपतकालीन आश्रय गृह स्थापना गरेको छ भने आप्रवासी कामदार र तिनका परिवारलाई कानुनी सेवा, परामर्श गर्न प्यारालिगल सेवा दिँदै आएको छ । यसका अतिरिक्त, रेडियो कार्यक्रम, हटलाइन र सामुदायिक पहुँच कार्यक्रम, सूचना डेस्क मार्फत सचेतना र अभिमुखीकरण तालिम, वित्तीय साक्षरता, सुरक्षित आप्रवासन, उद्यमशीलता, मनोसामाजिक र लैङ्गिक समावेशीकरण, आय आर्जन, बाल शिक्षाको लागि छात्रवृत्ति, नीति, सञ्जाल र क्षमता निर्माणको लागि लबी र वकालत, सम्बन्धित संस्थाहरूसँग समन्वय गरेर काम गर्दै आएको छ ।
थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
हटलाइन: ९८४९१३५२०६
फोन नम्बर : ०१-४७२०८५३९, -०१-४७२०८५४
ईमेल : pourakhi@mail.com.np
वेबसाइट : www.pourakhi.org.np
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (CMIR)

सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनले रिलेसन्स (CMIR) आप्रवासी कामदार र तिनका परिवारको अधिकारलाई सुनिश्चित गर्नको लागि काम गर्ने संस्था हो । सिएमआईआरमा आप्रवासी कामदारहरू, आप्रवासी अधिकारकर्मीहरू र आप्रवासन विकासको क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्नेहरू रहेका छन् ।
सिएमआईआरले वैदेशिक रोजगारीको क्रममा कुनै श्रमिकको सम्झौताको उल्लङ्घन भएमा, बेचबिखनमा परेमा, बेपत्ता भएमा, कुनै कारण बस जेल सजाय भोग्नु परेमा र वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएमा शब व्यवस्थापनको सवालमा काम गर्दै आएको छ । यसका साथै आप्रवासन सम्बन्धी विभिन्न अनुसन्धानहरू जस्तै पुनर्मिलन, सरोकारवाला म्यापिङ, नेपाल र गन्तव्य देशहरूमा भएका श्रम नितीका बारेमा श्रमिकहरूलाई जानकारी गराउनको लागि प्रचार गर्ने जस्ता कामहरू पनि सिएमआईआरले गर्दै आएको छ । हालसम्म २५ सयभन्दा बढी श्रमिक र तिनका परिवार सिएमआईआरको सेवाबाट लाभान्वित भएका छन् ।
थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
फेसबुक: https://www.facebook.com/cmir.nepal
फोन नम्बर : ०१-४७९५९३१
हटलाइन :+९७७ ९८४६६६२०११ ( वैदेशिक रोजगारी सम्बन्धित समस्याका लागि) भाइबर, ह्वाट्सएप, इमो
ईमेल : info@cmir.org.np वेबसाइट : www.cmir.org.np
आप्रवासी महिला कामदार समूह (अम्कास) नेपाल

अम्कास नेपाल वैदेशिक रोजगारीमा गएका र त्यहाँबाट फर्केका महिलाहरूको सवालमा काम गर्ने संस्था हो । सन् २०१६ सालमा स्थापना भएको सो संस्थाले वैदेशिक रोजगारीमा जाने कुनै पनि महिला ठगी, अलपत्र वा बेचबिखनको सिकार हुन नपरोस् भनेर जनचेतना जगाउने काम गर्दछ भने कुनै महिलाहरू वैदेशिक रोजगारीको क्रममा समस्यामा परेमा त्यसको वकालत गरि अन्यायमा परेकालाई न्याय दिलाउने काममा पैरवी गर्ने गर्दछ ।
अम्कास नेपालले वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले हासिल गरेको सीप र क्षमतालाई पहिचान गरि उनीहरूलाई पुनर्स्थापना गर्न सहयोग गर्दै आएको छ । अलपत्र परेका वा सहयोग चाहिने महिलाले अम्कास नेपाललाई निम्न माध्यमबाट सम्पर्क गर्न सक्दछन् ।
फोन नम्बर : ०१ ४३७३९६३, ९८४१४०४३३७
ईमेल : mailamkas05@gmail.com
वेबसाइट : www.amkas.org.np
एट्विन नेपाल

वैदेशिक रोजगारीमा क्रममा हुने मानव बेचबिखनको विरुद्धमा वकालत गर्ने संस्था हो एट्विन । हालै मात्र यो संस्थाले मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि २९ बुँदे ‘काठमाडौँ घोषणापत्र’ जारी गरेको थियो । मानव बेचबिखनबाट प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना र पुनर्मिलन सम्बन्धी कानून, निर्देशिका र कार्यविधिको निर्माण र कार्यान्वयनका लागि सरकारसँग भेलाले माग गरेको थियो ।
नेपालमा महिला तथा बालबालिका बेचबिखन विरुद्धको गठबन्धन (AATWIN) ले मानव बेचबिखन विरुद्ध बलियो र सामूहिक आवाज उठाउन काम गर्दै आएको छ। सन् १९९७ मा स्थापना भएदेखि नै स्थानीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध नीति परिवर्तनका लागि काम गर्दै आएको छ ।
फोन नम्बर : ०१-४२२९७८७, ०१-४२२०४७८
फेसबुक: https://www.facebook.com/AATWIN.org/
ईमेल : atwin@ntc.net.np
वेबसाइट : https://aatwin.org.np/
अकाउन्टिबिलिटी ल्याब नेपाल

अकाउन्टिबिलिटी ल्याब नेपालले वैदेशिक रोजगारीबाट फर्किएका अरूको अनौपचारिक संगठन बनाएको छ । स्थानीय सरकार र साझेदार निकायसँग वैदेशिक रोजगारी बाट फर्किएकाहरुलाई समन्वय गराउनका लागि यस संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस संस्थाबाट वैदेशिक रोजगारीमा सरकारले ल्याएको नीति तथा कार्यक्रमहरूको बारेमा जानकारी लिन सकिन्छ ।
थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
फोन नम्बर : ९८५१२०३२३६
फेसबुक: https://www.facebook.com/accountlabnp
ईमेल : info@accountabilitylab.org
वेबसाइट : https://accountabilitylab.org/about-us/country-office-nepal/
यसका साथै वैदेशिक रोजगारीमा गएका श्रमिकले केही समस्या परेमा आफू काम गर्न गएको देशमा रहेको नेपाली दूतावासमा पनि सम्पर्क गर्न सक्नेछन् ।वैदेशिक रोजगारीमा समस्या पर्दा सहयोग गर्ने अन्य संघ संस्थाका बारेमा तपाईंलाई थाहा छ भने कृपया ति संस्थाले गर्ने कामक बारेमा हामीलाई बताउनुहोस् ।
