विदेशमा काम गर्ने नेपालीले पठाएको पैसा चल्छ भने भोट पनि चल्छ: कांग्रेस महामन्त्री विश्वप्रकाश (भिडियो) कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, फोटो: पुष्कल श्रेष्ठ/जीविको

जीविको २०७९ असार ७ गते २०:३८

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मतदानको अधिकार सुनिश्चित गर्न भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका छन् । हाललाई विदेशमा अहिले रहेका नेपालीको मतदाता नामावली सङ्कलनको कामलाई अगाडि बढाउन आग्रह गरिएको विश्वप्रकाशले बताएका छन् । यस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवालाई यसै विषयमा छलफल गर्न भेटेका उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्थाका लागि प्रधानमन्त्री सकारात्मक रहेको बताएका छन् । कानून निर्माण गरेर वैदेशिक रोजगारीमा रहेकाहरूको मताधिकार सुनिश्चित गर्न अब सबै दलहरू लाग्नु पर्ने र निर्वाचन आयोगलाई पनि प्राविधिक पाटोमा काम गर्न सहयोग गर्ने महामन्त्री विश्वप्रकाशले बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन र उनीहरूको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले व्यक्त गरेको संक्षिप्‍त धारणा:

कतारको रियाल चल्ने, जापान र कोरियाको वन चल्ने, अमेरिका र क्यानडाको डलर चल्ने, बेलायतको पाउण्ड चलेजस्तै विदेशमा बस्ने नेपालीको भोट पनि चल्ने बनाउनु पर्छ, नोट मात्र चल्ने बनाएर हुँदैन । सोही कुरालाई ध्यानाकर्षण गराउन आज हामीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट्यौँ । अब यसले एउटा गति लिन्छ भन्ने विश्वास छ । हामीले अबका दिनमा पनि निर्वाचन आयोग र सरकारलाई निरन्तर घचघच्याइरहने छौँ । अहिले हामी वैदेशिक रोजगारीमा रहेका साथीभाइको भावनालाई पनि प्रतिनिधित्व गर्दै आएका छौँ । यहाँ विदेशमा बस्ने नेपालीहरूले भोट दिन पाउने भन्ने कुरा मात्र छैन, उहाँहरूको भोट गाँस्ने भन्ने कुरा मात्र पनि छैन । नेपालभित्र एउटा नेपाल छ भने नेपाल बाहिर पनि अर्को नेपाल रहेको छ जहाँ ४० लाखभन्दा बढी हाम्रा नागरिकले काम गर्छन् । नेपालभित्र बस्ने र बाहिरका नेपालीहरूमा फरक एउटा मात्र छ; यहाँ मेचीदेखि महाकालीसम्मको भूगोल छ तर बाहिरका नेपाली नागरिकहरूको भने भूगोल छैन।

त्यसैले यो प्रयत्न भनेको नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपालको भावना गाँस्ने कुरा हो । सम्मानित सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीहरूको मताधिकारलाई सुनिश्चित गर्नका लागि भनेर सरकार र निर्वाचन आयोगलाई आवश्यक कानुन जारी गर्नु भनेर आदेश जारी गरेको थियो । सोही अनुरूप सर्वोच्च अदालतको आदेशपछि बसेको पार्टीको बैठक र महासमितिको बैठकले प्रवासमा रहेका नेपालीको मताधिकारका लागि सरकारको ध्यानाकर्षण गराएको थियो । यो मुद्दा हामीले अहिले मात्र उठाएका होइनौँ । यसअघि पनि उठाएका मुद्दालाई घनिभूत रूपमा अगाडि बढाएर मताधिकार सुरक्षित गर्ने हिसाबले काम गर्ने छौँ। सम्माननीय प्रधानमन्त्री ज्यूले पनि यस विषयलाई सकारात्मक रूपमा लिनुभएको छ । उहाँले पनि यसको कानुन निर्माण गर्ने प्रक्रियालाई अगाडि बढाउने बताउनुभएको छ । आज निर्वाचन आयोगसँग भएको छलफलमा वहाँहरु सकारात्मक हुनुहुन्छ ।

अर्को कुरा भनेको मताधिकारलाई सुनिश्चित गर्नका लागि हामीसँग अपर्याप्त समय पनि छैन । र यसलाई हामीले शून्यबाट सुरुवात गर्दै पनि छैनौँ । महत्वपूर्ण कामहरुले गति पनि लिइसकेको छ । चुनावको घोषणा पनि भइसकेको छैन । प्राविधिक पाटोमा काम गर्न निर्वाचन आयोग पनि तयार छ । अनलाइन प्रणालीबाट मताधिकार सुनिश्चित गराउने हो भने सम्भव छ र हामीले यसलाई सम्भव बनाउँछौँ भनेर अगाडि बढेका छौँ र सम्भव बनाइनै पर्छ ।

हेर्नुहोस् भिडियो:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *