चुनावले रोक्न सकेन परदेसिनेहरूलाई (भिडियो)
एकातिर देश चुनावमय छ । सानादेखि ठूला दल, स्वतन्त्रदेखि बागी उम्मेदवारसम्मका चर्चाले गाउँ, टोल र मिडियासम्म रंगिएका छन् । तर अर्कातिर एयरपोर्टमा वैदेशिक रोजगारमा जानेको लर्को चुनाव अघि, चुनावको दिन पनि उस्तै रह्यो ।
चितवनकी अप्सरा तिमिल्सिना त्यही परदेस जाने लाइनमा थिइन् । उनका आँखा रसाइरहेका थिए, अनुहार मलिन थिए, ओठमा बनावटी हाँसो अनि मन गर्हौं पारेर स्थानीय तह निर्वाचनको ठीक एकदिन अगाडि अप्सराजस्ता हजारौँले देश छाड्दै थिए । परदेसिन लागेकाहरूको भिडले विमानस्थल भरिभराउ थियो ।
जाउँ; परिवार छाड्न मनले दिँदैन, नजाउँ घरमा चुल्हो बल्दैन ।
भोट हाल्ने समय सुरु हुनुभन्दा केही घण्टा अगाडि मात्र उड्न आँटेका यी पासपोर्टधारीहरूलाई कसैले रोक्न सकेनन् । वडाले सुनेन, पालिकाले देखेन, प्रदेशले बुझेन अनि केन्द्रले महसुसै गरेन लाखौँ युवाको बाध्यता ।
हरेक चुनावमा स्वदेशमै रोजगारी भनेर आश्वासनका भेल बगे तर चुनावपछि कहिल्यै योजनाका मूल फुटेनन् । त्यसैले त वार्षिक ५ लाखभन्दा बढीले देश छाड्न बाध्य छन् । यो चुनावमा पनि यिनीहरूलाई समृद्दि र विकासका नारामा विश्वास जागेन । अनि मतपत्र खसाउनु भन्दा पासपोर्ट समाउनु उचित ठाने ।
५५ हजारभन्दा बढीले गत महिना मात्र श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाखदेखि चैत अन्तिमसम्म ५ लाख ९ हजार ५९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । विगत केही महिनायता दैनिक १५ सयभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् । वैदेशिक रोजगारमा गएकाहरूले गत महिना चैतमा मात्र साढे ९३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा पठाएका थिए ।
राजनीतिप्रति खास अपेक्षा छैन उनीहरूलाई । सरकारप्रति आक्रोश छ, तै पनि देशलाई बचाइरहेका छन् उनीहरूले नै । देश त विदेशिनेले पठाएको रेमिट्यान्सले चलिरहेको छ । चुनावहरू आउँछन्, जान्छन् । सरकारहरू आउँछन्, जान्छन् । यसैगरी उनीहरू पनि गइरहेका छन् ।
उनीहरूका कथा भिडियोमा…
भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको